उदयपुर ।
उदयपुर जिल्लाको तीन नगरपालिकामा यही पौष १९ गतेदेखि हुरु भएको निशुल्क आँखा जाँच तथा शल्यक्रिया कार्यक्रममा ३ हजार ५ सय भन्दा बढीले उपचार पाएका छन ।

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको वडा नं ८को सिद्धिपुरबाट बाट सञ्चालन गरिएको बृहत् निःशुल्क आँखा शिविर अन्तर्गत पहिचान भएका मोतिबिन्दुका बिरामीहरूको आँखाको शल्यक्रिया प्रख्यात आँखा रोग विशेषज्ञ तथा तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतको नेतृत्वमा रहेको चिकित्सक टोलीले सुरु गरेको छ ।
गत पुस १९ गतेदेखि चौदण्डीगढी नगरपालिका वडा नं. १ र ८ को चौदण्डीगढी तथा सिद्धिपुरबाट सुरु गरिएको यस बृहत् आँखा शिविर मार्फत पहिचान भएका बिरामीहरूको शल्यक्रिया चौदण्डीगढी नगरपालिका–६ सातधारेस्थित कोभिड अस्पतालमा सोमबारदेखि सुरु गरिएको हो ।
चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाका अनुसार शिविर सञ्चालन अवधिमा चौदण्डीगढी नगरपालिकाका सबै वडा तथा त्रियुगा नगरपालिकाका वडा नं. २, ५, ६ र १२ सहित जिल्लाका विभिन्न पालिकाबाट आएका बिरामीहरूको छुट्टाछुट्टै शिविर मार्फत झण्डै ३ हजार ५ सय जनाको आँखा परीक्षण गरिएको छ ।
उक्त परीक्षणका क्रममा करिब साढे पाँच सय जनामा मोतिबिन्दुको समस्या देखिएको र उनीहरूको शल्यक्रिया डा. रुइतको टिमले सुरु गरेको मेयर लामाले जानकारी दिनुभयो ।
शिविरमा उपचारका लागि आएका चौदण्डीगढी नगरपालिका–४ की ६८ वर्षीया माया राईले लामो समयदेखि आँखाले नदेख्ने समस्या भोग्दै आएको बताउनुभयो । “आर्थिक अवस्था कमजोर भएकाले निजी अस्पतालमा उपचार गर्न सक्ने अवस्था थिएन,” उहाँले भन्नुभयो, “गाउँमै निःशुल्क शिविर आएपछि आँखाको जाँच गराएँ, अहिले अप्रेसन भएपछि फेरि देख्न पाउने आशा जागेको छ ।”
त्यस्तै, त्रियुगा नगरपालिका–६ का ७२ वर्षीय धनबहादुर मगरले पनि शिविरले आफूजस्ता गरिब र वृद्धलाई ठूलो राहत दिएको बताउनुभयो । “धेरै वर्षदेखि धमिलो देखिन्थ्यो, घरपरिवारकै सहयोगमा यहाँ आएँ,” उहाँले भन्नुभयो, “डा. रुइतजस्तो ठूलो डाक्टरको टिमले निःशुल्क अप्रेसन गरिदिने भएपछि भगवान् भेटेजस्तै लागेको छ ।”
चौदण्डीगढी नगरपालिकाले हरेक वर्ष निरन्तर रूपमा बृहत् आँखा शिविर सञ्चालन गर्दै आएको छ । नगरपालिकाका अनुसार विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको यस अभियान अन्तर्गत हालसम्म ७ हजारभन्दा बढी सर्वसाधारणको गाउँ–गाउँमै पुगेर आँखा परीक्षण गरिएको छ । तीमध्ये करिब एक हजार जनाको आँखाको सफल शल्यक्रिया भइसकेको नगरपालिकाले जनाएको छ ।
यस वर्षको शिविरमा अपेक्षाभन्दा धेरै मोतिबिन्दुका बिरामी भेटिएको र डा. सन्दुक रुइतको टिम प्रत्यक्ष रूपमा सहभागी भएपछि बिरामीको चाप पनि उल्लेख्य रूपमा बढेको चौदण्डीगढी नगरपालिका वडा नं. ४ का अध्यक्ष लुङ्गाराज राईले बताउनुभयो ।
“डा. रुइतको टिम आउने खबर पाएपछि टाढा–टाढाबाट पनि बिरामीहरू उपचारका लागि आएका छन्,” उहाँले भन्नुभयो, “यसले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुगेको छ ।”
नगरपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै ग्रामीण तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने लक्ष्य लिएको जनाएको छ ।











प्रतिक्रिया