मुस्ताङको लोमान्थाङबाट २ करोड २४ लाख बराबरको इलेक्ट्रिक चुरोटसहित कन्टेनर चालक पक्राउ


मुस्ताङ ।

मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट करिब २ करोड २४ लाख ५९ हजार ३ सय २० रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बोकेको कन्टेनरसहित एक जनालाई नियन्त्रणमा लिइएको छ। पौष २८ गते सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–५ निवासी अन्दाजी ३२ वर्षीय पेमा लामा लाई ना ६ ख ७५९१ नम्बरको कन्टेनर सहित नियन्त्रणमा लिइएको हो।

उनी उक्त कन्टेनरका चालक रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलका अनुसार ३–४ दिनअघि चीनबाट अवैध रूपमा नेपाल भित्र्याइएका ८० कार्टुन इलेक्ट्रिक चुरोट नेपाल–चीन सीमानाको कोरोला नाका अगाडि गाडीमा लोड गरी राखिएको अवस्थामा फेला परेको हो।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङ्गबाट सशस्त्र प्रहरी नायब निरीक्षक उदय बहादुर कुमालको कमाण्डमा खटिएको सुरक्षा टोली, मुस्ताङ भन्सार कार्यालयका कर्मचारी, नेपाल प्रहरी तथा स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले इलेक्ट्रिक चुरोट बोकेको कन्टेनरसहित लामालाई नियन्त्रणमा लिएको हो।

बरामद गरिएको इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने नियन्त्रणमा लिइएका पेमा लामालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय छोसेरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। यसैबीच, कन्टेनर बिग्रिएको कारण त्यसमा लोड गरिएको टिस्यु पेपर र ट्वाइलेट पेपर भने सोही स्थानमा भन्सार कार्यालयले सिल गरी सुरक्षित रूपमा राखिएको जनाइएको छ।