सशस्त्र प्रहरी बलमा ६ डीआईजी पद रिक्त, बढुवा प्रक्रिया केही दिनमै सुरु हुने


काठमाडौं।

सशस्त्र प्रहरी बल (एपीएफ) मा नायब महानिरीक्षक (डीआईजी) का ६ पद रिक्त भएपछि बढुवा प्रक्रिया छिट्टै अघि बढाइने तयारी गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल आजै जनकपुर जाने कार्यक्रम रहेकाले बढुवा प्रक्रिया एक–दुई दिन ढिलो हुन सक्ने सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ।

डीआईजी बढुवाका लागि १४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) बीच कडा प्रतिस्पर्धा देखिएको छ। डीआईजी कमल गिरी, शम्भु सुवेदी र कुलबिक्रम नेम्वाङ पाँच वर्षे पदावधि पूरा गरी बिहीबारदेखि अवकाशमा गएपछि डीआईजीका ६ पद रिक्त भएका हुन्। रिक्त ६ पदमध्ये एक पद कानून निर्देशनालयतर्फ र पाँच पद प्रशासनतर्फ रहेका छन्। कानून निर्देशनालयतर्फ एसएसपी युवराज अर्याल एक्लो दाबेदारका रूपमा रहेका छन्।

प्रशासनतर्फ भने १३ जना एसएसपीबीच पाँच पदका लागि प्रतिस्पर्धा हुने भएको छ। प्रतिस्पर्धामा रहेका एसएसपीहरूमा प्रबीण कँडेल, दिगबिजय सुवेदी, भूपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुधीरजंग थापा, किरण बस्नेत, माधव पौडेल, उद्धव न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, किरण ढुंगाना र शंकर खनाल रहेका छन्।

उनीहरूमध्ये वरिष्ठतामा पहिलो नम्बरमा रहेका प्रबीण कँडेल नेपाल प्रहरीबाट स्थानान्तरण भएर आएका हुन्। तर कार्यसम्पादन मूल्यांकन कमजोर देखिएकाले उनको बढुवाको सम्भावना न्यून रहेको स्रोतको भनाइ छ। बाँकी १२ जना भने सशस्त्र प्रहरीको एसपीएस (सिंस)–२ ब्याच का अधिकृत हुन्। उक्त ब्याचका दीपेन्द्र कुँवर र विष्णु भट्ट भने गत वर्ष नै डीआईजीमा बढुवा भइसकेका छन्। यसपटक चुनावी सरकार भएकाले कार्यसम्पादन, वरिष्ठता र निष्पक्ष मूल्यांकनका आधारमा बढुवा हुने सम्भावना बलियो देखिएको छ।