दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुर मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ


काठमाडौँ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध दायर गरिएको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ उच्च अदालत पाटनमा हुँदैछ । उक्त मुद्दामा दुर्गा प्रसाईँसहित उमा प्रसाईँ, नीराजन प्रसाईँ र आर्जु प्रसाईँलाई विपक्षी बनाइएको छ । न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्कीको इजलासमा सुनुवाइ हुन लागेको हो ।

नेपाल राष्ट्र बैंकको पत्राचारपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरी विशेष सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दायर गरेको थियो । सरकारी वकिलले दुर्गा प्रसाईँविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गर्दै जरिवाना र कैद सजाय माग गरेको छ ।

यसअघि अदालतले प्रसाईँलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । बैंक तथा वित्तीय संस्थाका खातामा गलत कारोबार देखाउने, राउन्ड ट्रिपिङ तथा स्वार्थ बाझिने गरी कारोबार गरेको आरोप उनीमाथि लगाइएको छ ।