काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिई आतंक मच्चाउने प्रकाश पाठक फिलिपिन्सबाट पक्राउ परेका छन् ।
काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय पाठक फिलिपिन्सको मालोलोस सहरबाट पक्राउ परेका हुन् । ब्युरो अफ इमिग्रेसन (बीआई)ले फिलिपिन्स राष्ट्रिय प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको हो । बीआईले विज्ञप्तिमार्फत पक्राउसम्बन्धी जानकारी दिँदै जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जी र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)बाट जारी डिफ्युजनका आधारमा पाठकलाई पक्राउ गरिएको जनाएको छ । नेपाल प्रहरीको समेत अनुरोधपछि पाठकलाई नियन्त्रणमा लिइएको फिलिपिन्सको इमिग्रेसनले विज्ञप्तिमार्फत जनाएको हो ।
पाठक हाल फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनको हिरासतमा रहेको जानकारी इमिग्रेसनले गराएको छ । उनीमाथि निष्कासन (डिपोर्टेसन) प्रक्रिया सुरु गरिएको पनि बताइएको छ । पाठकलाई भ्रष्टाचारमा लिप्त रहेका नेपालकै केही बिचौलिया, माफिया र सरकारी निकायमा कार्यरत व्यक्तिहरूले प्रयोग गरेको हुनसक्ने बताइएको छ ।
पाठकलाई नेपाल ल्याइएपछि नेपाल प्रहरीले उनलाई प्रयोग गर्ने व्यक्ति वा समूहको खोजतलास गर्न सक्ला वा नसक्ला भन्ने बारेमा प्रश्न सिर्जना भएको छ । आपराधिक पृष्ठभूमिका पाठक यसअघि चार पटकसम्म विभिन्न कसुरमा मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ । उनीमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीको सीआरएस (क्रिमिलन रेकर्ड सिस्टम) जाँच गर्दा चारवटा कसुरमा मुद्दा चलेको खुलेको थियो ।











प्रतिक्रिया