काठमाडौं ।
निर्वाचन आयोगले यही फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनमा नयाँ थपिएका मतदातालाई मात्र मतदाता परिचय पत्र उपलब्ध गराउने भएको छ ।
२०७९ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनपछि थपिएका ९ लाख १५ हजार १ सय १९ जना मतदातालाई मात्र परिचयपत्र वितरण गर्ने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । २०७९ सालको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेका थिए । त्यसपछि थपिएका समेत गरी कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ पुगेको छ । पुराना मतदाताहरूलाई यसअघि नै मतदाता परिचयपत्र दिइसकेकाले यसपटक नयाँलाई मात्र परिचयपत्र दिन लागिएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीको भनाइ रहेको छ ।
मतदानको केही दिनअघि मतदान केन्द्रमा खटिएका कर्मचारीमार्फत परिचयपत्र वितरण गर्ने आयोगको योजना रहेको छ । हराएको वा बिग्रेको परिचयपत्र पुनः वितरण गर्न यसपटक समय नपुग्ने अवस्थाले गर्दा यसपटक नयाँलाई मात्र परिचय वितरण गर्न लागिएको हो । यद्यपि, कुनै सरोकारवाला मतदाता वा दलले मतदाता परिचयपत्र लिन चाहेमा निश्चित दस्तुरमा आयोगले सफ्ट कपी उपलब्ध गराउने गरेको छ ।
यसैबीच आयोगले शुक्रबारदेखि मतदाता परिचयपत्र छपाइ सुरु गरेको छ । परिचयपत्र छपाइपछि जिल्लास्थित निर्वाचन कार्यालयमा पठाइनेछ । आगामी निर्वाचनका लागि २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएका छन् । प्रत्येक मतदान केन्द्रका लागि चारवटा सेटका दरले मतदाता नामावली रहने आयोगले जनाएको छ । यसअनुसार कुल ९२ हजार ४ सय ४८ सेट मतदाता नामावली छापिनेछ ।
चार सेटमध्ये एउटा जिल्ला निर्वाचन अधिकृत, एउटा जिल्ला निर्वाचन कार्यालय र दुईवटा सम्बन्धित मतदान केन्द्रमा पठाइनेछ । यी परिचयपत्र मतदातालाई वितरण गर्न नभई विशुद्ध निर्वाचन प्रयोजनका लागि प्रयोग गरिने आयोगले जनाएको छ ।
यसैबीच आयोगले आगामी निर्वाचनका लागि करिब चार करोड मतपत्र छाप्ने तयारी गरेको छ ।
आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार आउँदो सातादेखि मतपत्र छपाइ सुरु गरिनेछ । सुरुमा समानुपातिकतर्फका मतपत्र छाप्ने तयारी छ । समानुपातिकतर्फ ६४ दल दर्ता छन् । यसपटक समानुपातिक मतपत्रको रङ परिवर्तन गर्ने प्रस्ताव गरिएको छ । यसअघि हल्का रातो रंगमा रहेको समानुपातिक मतपत्र अब सेतो पृष्ठभूमिमा कालो अक्षरमा छाप्ने प्रस्ताव गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो ।
‘मतदाताको संख्याका आधारमा दुवै प्रणालीका गरी करिब चार करोड मतपत्र छापिन्छ’ –उहाँले भन्नुभयो । आयोगले विगतमा झैं मतपत्र छाप्दा १० प्रतिशतसम्म अतिरिक्त मतपत्र छाप्नेलाई यसपटक पनि निरन्तरता दिनेछ । आयोगका अनुसार प्रत्यक्षतर्फ माघ ९ गते उम्मेदवारलाई निर्वाचन चिह्न दिएपछि मतपत्र छपाइ १५ माघबाट गर्ने तयारी छ । मतपत्र १० फागुनसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिने छ ।
भट्टराईका अनुसार आयोगले यसअघि खरिद गरेका मतपत्र छपाइ मेसिन यसपटक पनि प्रयोगमा आउन सम्भव छैन । यद्यपि, मेसिनहरूको मर्मत भइरहेको र आगामी निर्वाचनमा प्रयोग गर्ने गरी आयोग सक्रिय रहेको उहाँको भनाइ छ । यसपटक पनि जनक शिक्षा सामग्री लिमिटेडकै मेसिन प्रयोग गरेर मतपत्र छापिनेछ ।











प्रतिक्रिया