भेनेजुएलामा अमेरिकी आक्रमण, राष्ट्रपति मादुरो नियन्त्रणमा

आक्रमणको सर्वत्र विरोध र निन्दा


–भेनेजुएलाको सार्वभौमसत्तामाथिको आक्रमण अस्वीकार्य : कोलम्बिया
–आपराधिक आक्रमण र राज्य आतंक : क्युबा
–रुस र इरानद्वारा कडा विरोध

काठमाडौं ।

अमेरिकाले शनिवार बिहान एकाएक भेनेजुएलामाथि आक्रमण गरेको छ । सो आक्रमणमा परी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी सेनाले नियन्त्रणमा लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला र त्यहाँका राष्ट्रपतिविरुद्ध ठूलो परिमाणमा आक्रमण गरिएको र राष्ट्रपति मादुरो आफूहरूको कब्जामा रहेको दाबी गर्नुभएको छ । शनिवार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै ट्रम्पले यो अपरेसनपछि मादुरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको दाबी गर्नुभएको हो । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको भन्दै उहाँको अवस्था सार्वजनिक गर्न र जीवित रहेको प्रमाण दिन अमेरिकासँग माग गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलामाथिको यो कारबाही अमेरिकी कानुन कार्यान्वयन गर्ने निकायसँगको समन्वयमा भएको बताए पनि यसको विस्तृत विवरण भने सार्वजनिक गर्नुभएको छैन । शनिवार बिहानै अमेरिकाले भेनेजुएलाभित्र आक्रमण गरेको थियो, जसका कारण सिंगो मुलुकभर त्रास र आतंक बढेको छ ।

फक्स न्युज र सीबीएस न्युजजस्ता अमेरिकी मिडियाले पनि दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा आक्रमण भएको पुष्टि गरेका थिए । अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डाउले सामाजिक सञ्जाल एक्समा लेख्दै यसलाई भेनेजुएलाका लागि ‘नयाँ बिहानी’ को संज्ञा दिनुभएको छ । उहाँले तानाशाह सत्ताबाट हटेको र अब उसले आफ्ना अपराधको सजाय भोग्ने दाबी गर्नुभएको छ । तर, भेनेजुएलामाथिको अमेरिकी आक्रमणको विश्वभर निन्दा र भत्र्सना भएको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेको भन्दै विश्वलाई यस कार्यको विरोध गर्नुपर्ने भन्दै सचेत गराउनुभएको छ । उहाँले कुनै पनि प्रकारको सशस्त्र मुठभेडभन्दा शान्ति र अन्तर्राष्ट्रिय कानुनको सम्मान ठूलो हुने भन्दै भेनेजुएलाको सार्वभौमसत्तामाथिको आक्रमण अस्वीकार्य रहेको बताउनुभयो । पेट्रोले लगत्तै भेनेजुएलाको सीमा नाकामा सेना परिचालनको घोषणा गर्नुभएको छ ।

क्युबाका राष्ट्रपति मिगुयल डियाज–कानेलले पनि यसलाई ‘आपराधिक आक्रमण’ र ‘राज्य आतंक’ भन्दै कडा शब्दमा निन्दा गर्नुभएको छ ।

रुस र इरानले पनि अमेरिकी कदमको विरोध गरेका छन् । रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले गरेको ‘सशस्त्र आक्रमण’को भत्र्सना गरेको छ र यसले गम्भीर चिन्ता बढाएको जनाएको छ । मस्कोले थप द्वन्द्व बढ्न नदिन र वार्तामार्फत समाधान खोज्न आग्रह गर्दै भेनेजुएलाका जनतालाई आफ्नो भाग्य आफैँ निर्णय गर्ने अधिकार हुनुपर्नेमा जोड दिएको छ । इरानले पनि यसलाई राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको ठाडो उल्लंघन भनेको छ ।

युरोपेली युनियन (ईयू) ले भने स्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ । ईयूकी विदेश नीति प्रमुख काजा लासले मादुरोको वैधानिकता नभए पनि शान्तिपूर्ण संक्रमणको पक्षमा ईयू रहेको र जुनसुकै परिस्थितिमा अन्तर्राष्ट्रिय कानुनको पालना हुनुपर्ने बताउनुभएको छ । स्पेनले संयमता अपनाउन र तनाव कम गर्न आग्रह गर्दै मध्यस्थताको प्रस्ताव गरेको छ भने इटालीले भेनेजुएलामा रहेका आफ्ना नागरिकको सुरक्षाप्रति चासो व्यक्त गरेको छ ।

मादुरो किन परे अमेरिकाको तारोमा ?
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी साम्राज्यवादी नीतिको सधैं विरोध गर्दै आाउनुभएको थियो । ल्याटिन अमेरिकामा अमेरिकी धारको विरोध गर्दै उहाँ सत्तामा जान सफल हुनुभएको थियो । उहाँको सम्पूर्ण राजनीतिक जीवन अमेरिकी प्रभुत्व, हस्तक्षेप र दबाबको प्रतिरोधसँग गाँसिदै आएको छ ।

मादुरोको जन्म सन् १९६२ नोभेम्बर २३ मा काराकासमा भएको थियो । मध्यम वर्गीय परिवारमा हुर्कनुभएका उहाँ औपचारिक उच्च शिक्षाभन्दा बढी श्रमिक जीवन र आन्दोलनबाट उदाउनुभएको थियो । काराकास मेट्रोमा चालकका रूपमा काम गर्दा ट्रेड युनियन आन्दोलनमा सक्रिय हुनुभयो । यही श्रमिक पृष्ठभूमिले उहाँलाई सामाजिक असमानता, विदेशी प्रभुत्व र राज्यको भूमिकाबारे गहिरो राजनीतिक चेत दिएको थियो ।

१९९० को दशकमा ह्युगो चाभेज उदाउँदा मादुरो उहाँको नजिक पुग्नुभयो । चाभेजको अमेरिका विरोधी, साम्राज्यवाद विरोधी र समाजवादी विचारधाराले उहाँलाई राजनीतिक रूपमा दृढ बनायो । यही चरणबाट उहाँ ‘बोलिभेरियन क्रान्ति’ का अनुयायी बन्नुभयो ।

ह्युगो चाभेज भेनेजुएलामा अमेरिकी प्रभाव तोड्ने नेता हुनुहुन्थ्यो । तेलजस्तो रणनीतिक स्रोतमा अमेरिकी नियन्त्रण घटाउने, सामाजिक कार्यक्रम विस्तार गर्ने र क्युबा, रुस, चीनजस्ता मुलुकसँग सम्बन्ध बढाउने चाभेजको नीतिले वासिङ्टन असन्तुष्ट थियो । यही राजनीतिक धरोहर मादुरोले बोक्नुप¥यो । चाभेजको शासनकालमै उहाँ विदेशमन्त्री बन्नुभएको थियो ।
सन् २०१३ मा चाभेजको निधनपछि मादुरो राष्ट्रपति बन्नुभयो ।

त्यही बेलादेखि नै अमेरिका र भेनेजुएलाबीचको टकराब अझ तीव्र भयो । अमेरिकी प्रशासनले मादुरो सरकारलाई ‘अलोकतान्त्रिक’ घोषणा गर्दै आर्थिक प्रतिबन्ध सुरु ग¥यो । तेल व्यापार, बैंकिङ प्रणाली र अन्तर्राष्ट्रिय लेनदेनमा लगाइएका प्रतिबन्धले भेनेजुएलाको अर्थतन्त्र गहिरो संकटमा धकेलियो । भेनेजुएलाको संकट आन्तरिक असफलताभन्दा बढी अमेरिकी हस्तक्षेपको परिणाम थियो । यही भाष्यले उहाँका समर्थकहरूलाई संगठित ग¥यो । तर, उहाँको बढ्दो लोकप्रियता अमेरिकालाई मन नपरेपछि मादुरोलाई अपदस्थ गरी कब्जामा लिएर अज्ञात पारिएको बताइएको छ ।