यल नेवाः समाजको दोस्रो अधिवेशन सम्पन्न, नानीकाजी शाक्य अध्यक्षमा निर्वाचित


ललितपुर।

यल नेवाः समाजको दोस्रो अधिवेशनले नानीकाजी शाक्यको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्‍यो ।

ललितपुरका नेवाः समुदायका २१ जाति अब एउटै संरचना अटाउने गरी सो समाजको दोस्रो अधिवेशन शुक्रवार सम्पन्न भएको हो । शाक्य बौद्ध विहार संघबाट समाजमा प्रतिनिधित्व गर्छन् ।

कार्यसमितिको उपाध्यक्ष न्हुच्छेबहादुर नेम्कुल (स्यस्यः समाज), महासचिवमा सञ्जयशर्मा राजोपाध्याय (राजोपाध्याय समाज)  र सचिवमा विष्णुलाल सिंकमी ( सिकर्मी समाज) र दिपेन्द्रराज शिल्पकार सहकोषाध्यक्षमा रहेका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा कर्माचार्य समाजबाट कृष्णदास कर्माचार्य,देउला समाजबाट प्रकाश देउला,जोशी समाजबाट दिपेशमान जोशी र नकर्मी समाजबाट भीमनारायण नकर्मी रहेका छन् ।

समाजको विधान अनुसार निवर्तमान अध्यक्ष पनि कार्यसमिति सदस्यमा रहने प्रावधान अनुसार संस्थापक अध्यक्ष विनोद ताम्रकार रहने  समाजले जनाएको छ ।

विशेषतः पाटनलाई मुख्य कार्यक्षेत्र बनाई क्रियाशील विभिन्न जातीय समाजको संस्थागत प्रतिनिधिमूलक संगठनको रुपमा एक वर्ष अघि समाजको स्थापना भएको थियो।समाजमा कर्माचार्य, कपाली, खड्गी, चित्रकार, ज्यापू, जोशी, तण्डुकार, ताम्रकार, द्योला, नकर्मी, नापित,बाद्यकार, बाराही, बौद्ध विहार संघ, रजक समाज, रञ्जितकार समाज, राजोपाध्याय , स्यःस्यः,सिकःमी र शिल्पकार समाज आबद्ध रहेको छ।नेवाः समाजको झन्डै तीन वर्षयताको गतिविधिले हामी नेवाः भन्ने साझा भावनालाई वृद्धि गर्न टेवा पु¥याएका छन्।

नेवाः समुदायभित्रको आआफ्नो जातिको घेरामा संगठित भइरहेको स्थितिमा समयको माग अनुरुप स्थापना भएको यस समाजले नेवाः भित्रको विविधतालाई समेटिएको साझा मञ्चले मात्र अब नेवाःको समग्र हितको मुद्दा उठाउन सकिने भाष्य निर्माण गरेको धेरैको कथन रहेको छ।

यस अघि पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा आयोजित एक समारोहमा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेन्द्र श्रेष्ठ, प्रदेश सांसद् तथा पूर्व श्रम, यातायात तथा रोजगार मन्त्री प्रेमभक्त महर्जन, प्रदेश सांसद् रघुनाथ महर्जनले सो विषयमा जोड दिएका थिए। मन्त्री श्रेष्ठले नेवाः समाजलाई जीवन्त र अझ क्रियाशील बनाउनुपर्नेमा जोड दिँदै  त्यसका लागि सरकारले यथासक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। वाग्मती प्रदेश सभाका सदस्य तथा पूर्वमन्त्री महर्जनले नेवाहरु मिल्न नसक्ने हो भने राजनीतिक, प्रशासनिक लगायत अधिकार प्राप्तिको क्षेत्रमा पछाडि पर्ने ठोकुवा गरे । अर्का सांसद् महर्जनले नेवाःभित्रको विविधतालाई समेटिएर आपसी एकतालाई बलियो बनाउने तर्क राखे।

आफ्नो जातिभित्र चल्दै आएको संस्कार, रितिरिवाजको संरक्षणका साथै नेवाः समुदायको हकहित, नेपाल भाषा, संस्कृति र परम्पराको जर्गेना गर्न अलग-अलग रुपमा कार्यरत ती संगठनले एकिकृत रुपमा समन्वय गर्दै अघि बढ्न समाजले काम गर्दै आएको समाजका अध्यक्ष ताम्रकारको भनाई रहेको छ। 

नेपालभाषा मंका खलःको संयोजनमा हरेक वर्ष भिन्तुना  ¥यालीको संयोजन गर्ने क्रममा, सरकारले २०७५ सालमा प्रस्तावित गरेको गुठी विधेयक विरुद्धको आन्दोलन, २०७७ साल भदौं १८ गते रातो मच्छिन्द्रनाथ पुल्चोकबाट तान्ने क्रममा भएको झडपको घटनापछि ती संगठनलाई आआफ्नो जातीय संगठनको घेराभन्दा माथि उठेर सोच्नुपर्ने, संगै बस्नुपर्ने र मिलेर काम गर्नुपर्ने अवस्था उत्पन्न गराईदिएको अध्यक्ष ताम्रकारले बताए।

‘  विभिन्न घटनाक्रमले दिएको सन्देशलाई नबुझन्े हो भने लक्ष्य, हकहितका एजेण्डालाई सम्बोधन गराउन क्रमशः पछि पर्दै जाने स्थिति देखिएपछि सबै जाति समाज अटाउने यल नेवाः समाज गठन गरिएको हों ।’ समाजका अध्यक्ष ताम्रकारले भने । 

अध्यक्ष ताम्रकारले दलीय आस्था, थरका हिसाबले फरक फरक भएपनि समग्र नेवाः समुदायको एकता र हकहितका लागि जातीय समाजहरुबीच आपसी सहकार्य र समन्वय गर्दै जानुपर्नेमा जोड दिए। 

‘कुनै समाजको जनसंख्या धेरै होला, कसैको कम होला। संगठनको आकार, जातीय जनसंख्या बढी र कम भएपनि सामूहिक हितका लागि मिलेर काम गर्नुपर्ने क्षमता बढाउनुपर्दछ । यसैमा सबैको हित रहेको छ । ’ उनले भने।

विभिन्न जातीय समाजबीच पारस्परिक सद्भाव र आपसी साझेदारी गरी समन्नत बनाउने समाजको मुख्य प्र्रस्थापना रहेको छ । समाजको उद्देश्यका रुपमा ललितपुरका मूर्त र अमूर्त संस्कृति, सम्पदाको जर्गेना गर्ने,नेपाल भाषाको प्रवर्द्धन गर्ने मुख्य लक्ष्यहरु राखिएको छ।