काठमाडौँको बुद्धनगरमा सहायक हवल्दार मृत अवस्थामा भेटिए


काठमाडौँ ।

काठमाडौँको बुद्धनगरमा नेपाल प्रहरीका सहायक हवल्दार मृत अवस्थामा फेला परेका छन्। प्रहरी प्रधान कार्यालयमा कार्यरत सहायक हवल्दार बलबहादुर थापामगर मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले पुष्टि गरेको छ।

३० वर्षीय थापामगर उदयपुर घर भई काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा डेरामा बस्दै आएका थिए। आइतबार बिहान डेराको शौचालयमा झुन्डिएको अवस्थामा देखेपछि उनकी पत्नीले तत्काल बानेश्वरस्थित एभरेस्ट अस्पताल पुर्‍याएकी थिइन्। तर अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

थापामगरको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। घटनास्थल सिल गरेर प्रारम्भिक अनुसन्धान गरिएको र घटनाका सबै पक्षबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।

हालसम्म घटनाको कारण खुल्न नसकेको र पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानपछि मात्र यथार्थ खुल्ने प्रहरीले जनाएको छ।