काठमाडौँ
नेपालको क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लि.ले सामूहिक लगानी कोष व्यवस्थापकको रुपमा कार्य गर्दै आईरहेको सिटिजन्स क्यापिटल लिमिटेडलाई यस अघिको एएमसी क्वालिटी तीन(एएमसी तीन) रेटिङ्गलाई पुनरावलोकन गरी एएमसी क्वालिटी तीन प्लसमा स्तरोन्नति गरी सिटिजन्स क्यापिटलको स्तर बृद्धि पुष्टि गरेको छ ।
ईक्रा नेपालले सिटिजन्स क्यापिटल लिमिटेडको सुदृढ व्यवस्थापन संरचना, प्रभावकारी जोखिम व्यवस्थापन, सन्तुलित आन्तरिक नियन्त्रण व्यवस्था तथा लगानी व्यवस्थापन क्षमतामा आएको निरन्तर सुधारलाई आधार मानी उक्त रेटिङ्ग प्रदान गरेको हो । उक्त रेटिङ्गले कम्पनीको सञ्चालन स्थायित्व, सुशासन अभ्यास, अल्पकालिन तथा दीर्घकालिन लगानी रणनिति, सामूहिक लगानी कोषका योजनाहरुले प्रदान गरेको प्रतिफल र दीर्घकालिन व्यवसायिक सम्भावनालाई सकारात्मक रुपमा प्रतिबिम्बित गर्दछ ।
सिटिजन्स क्यापिटल लिमिटेडले नेपालको पूँजी बजारमा व्यवसायिक र विश्वसनीय सेवा प्रदान गर्दै आएको छ । यस कम्पनीले योजना व्यवस्थापक तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभुति, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार सेवा र संस्थागत परामर्श सेवा जस्ता विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) सबिर बादे श्रेष्ठ रहेका छन् ।
ईक्रा नेपालबाट एएमसी तीनप्लस प्राप्त हुनु कम्पनीको सेवा गुणस्तर, व्यवसायिक दक्षता तथा लगानीकर्ताप्रतिको प्रतिबद्धताको महत्वपूर्ण उपलब्धिको रुपमा लिइएको छ । कम्पनीले आगामी दिनमा पनि पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधि तथा लगानी मैत्री सेवासँगै लगानीकर्तालाई विश्वसनीय तथा प्रतिस्पर्धी सेवा प्रदान गर्दै लगिने छ र निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोषका योजना सञ्चालन गरिनुका साथै हाल सञ्चालनमा रहेका योजनामा र लगानी व्यवस्थापनमा उच्च प्रतिफल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।











प्रतिक्रिया