नेपाल पे नेशनल कार्ड अब विदेशमा पनि स्वीकार्य


काठमाडौं
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालको राष्ट्रिय कार्ड योजना नेपाल पे नेशनल कार्डको व्यावसायिक सञ्चालन (कमर्शियल रोलआउट) सुरु भएको घोषणा गरेको छ । यससँगै नेपाल पे कार्ड अब स्वदेश मात्र नभई विदेशमा पनि प्रयोग गर्न सकिने भएको छ ।


राष्ट्रिय भुक्तानी स्विच परियोजनाअन्तर्गत राष्ट्रिय कार्ड स्विच र नेपाल पे कार्ड योजना पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो । यस प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरूले जारी गर्ने नेपाल पे कार्डहरू नेपालभरिका स्वचालित टेलर मेसिन (एटीएम) र बिक्री केन्द्र (पीओएस)मा मात्र नभई विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।


यस सहकार्यपछि नेपाल पे कार्ड प्रयोगकर्ताहरूले डिस्कभर नेटवर्क र यसको अन्तर्राष्ट्रिय सहकार्य सञ्जालमार्फत विश्वभरका १९० भन्दा बढी देश तथा क्षेत्रहरूमा कार्ड प्रयोग गर्न सक्नेछन् ।


त्यसैगरी, नेपालका व्यापारीले ३० भन्दा बढी अन्तर्राष्ट्रिय नेटवर्क एलायन्स तथा विश्वभर रहेका ३७ करोड ८० लाखभन्दा बढी कार्डधारकबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् ।


हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्रिय कार्ड स्विच र नेपाल पे कार्ड योजनाको प्रधान सदस्यताका लागि सम्झौता गरिसकेका छन् भने अन्य संस्थाहरू पनि क्रमशः आबद्ध हुँदै गइरहेका छन् ।


राष्ट्रिय कार्ड स्विचमा कार्ड कारोबारको अन्तरआवद्धता, मार्गनिर्देशन (राउटिङ), भुक्तानी फछ्र्यौट (सेटलमेन्ट), विवाद व्यवस्थापन तथा एकीकृत प्रतिवेदन प्रणालीजस्ता विशेषता समावेश छन् ।

राष्ट्रिय भुक्तानी स्विच परियोजनाअन्तर्गत राष्ट्रिय भुक्तानी स्विच र रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सन् २०२१ नोभेम्बरदेखि नै सञ्चालनमा छन् ।


राष्ट्रिय कार्ड स्विच र नेपाल पे कार्डले स्वदेशी कार्ड कारोबारको लागत घटाउने, डाटा स्थानीयकरण लागू गर्ने तथा डिजिटल भुक्तानी प्रणालीमा नवप्रवर्तन प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।


एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान ले भन्नुभयो, “राष्ट्रिय भुक्तानी स्विचको स्थापना र नेपाल पे कार्डको व्यावसायिक सञ्चालनले नेपालको डिजिटल यात्रामा महत्वपूर्ण परिवर्तन ल्याएको छ । यसले अन्तरआवद्ध भुक्तानी प्रणाली निर्माण गर्नुका साथै नवप्रवर्तनका लागि बलियो आधार तयार पार्नेछ । डिस्कभर नेटवर्कसँगको सहकार्यले विश्वव्यापी रूपमा सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरको कार्ड सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता देखाउँछ ।” डिस्कभर नेटवर्क इन्टरनेशनलका भाइस प्रेसिडेन्ट शुभ्रजित बसुले भन्नुभयो, “नेपाल पेसँगको यो रणनीतिक सहकार्यले एसिया–प्रशान्त क्षेत्रमा हाम्रो उपस्थितिलाई थप विस्तार गर्नेछ। यस सहकार्यबाट व्यापारी र कार्ड प्रयोगकर्ताहरूले सुरक्षित तथा गुणस्तरीय भुक्तानी सेवामा सहज पहुँच पाउनेछन्।”