नेपाल मेडिकल काउन्सिलको मतदान सम्पन्न, ११ हजार ९२२ मत खस्यो


काठमाडौँ। 

नेपाल मेडिकल काउन्सिलमा रिक्त एक उपाध्यक्ष र आठ सदस्य छनोटका लागि गत पुस ४ गतेदेखि सुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गतको मतदान शनिवार साँझ ४ बजे सम्पन्न भएको छ । देशभर सञ्चालन गरिएको मतदानमा कुल ११ हजार ९२२ मत खसेको काउन्सिलले जनाएको छ ।

काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा. सतीशकुमार देवका अनुसार यस निर्वाचनमा चिकित्सकहरूको उल्लेखनीय सहभागिता देखिएको छ । उनका अनुसार यसअघि पुस ४ देखि ६ गतेसम्म काठमाडौँ उपत्यका बाहिरका १८ वटा मतदान केन्द्रमा मतदान हुँदा ६ हजार ८४६ मत खसेको थियो ।

उपत्यका बाहिर कोशी, मधेश, बागमती (उपत्यका बाहेक), गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानमा मतदान केन्द्र तोकिएका थिए । ती केन्द्रहरूमा चिकित्सकहरूले शान्तिपूर्ण रूपमा मतदान गरेका थिए ।

उपत्यका अन्तर्गत काठमाडौँ र ललितपुरमा शुक्रवार र शनिवार काभ्रेपलाञ्चोकको धुलिखेलमा मात्र मतदान भएको थियो। उपत्यकाका यी मतदान केन्द्रहरूमा कुल ५ हजार ७६ मत खसेको काउन्सिलले जनाएको छ । राजधानी केन्द्रित मतदानमा चिकित्सकहरूको चासो र सहभागिता उल्लेखनीय रहेको बताइएको छ ।

नेपाल मेडिकल काउन्सिलमा रिक्त पदहरूमा उपाध्यक्ष एक जना र सदस्य आठ जना गरी कुल नौ पदका लागि निर्वाचन गरिएको हो । काउन्सिलको नेतृत्व चयनका लागि गरिएको यो निर्वाचनलाई स्वास्थ्य क्षेत्रको नियामक संस्थाको भविष्यसँग जोडेर हेरिएको छ । काउन्सिलले चिकित्सकहरूको दर्ता, नियमन, आचारसंहिता तथा व्यावसायिक गुणस्तर कायम गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ ।

निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया कुनै अवरोधबिना सम्पन्न भएको हो । कतिपय केन्द्रमा सुरुमा प्राविधिक तथा व्यवस्थापन सम्बन्धी साना समस्या देखिए पनि समयमै समाधान गरिएको जनाइएको छ । सुरक्षा तथा व्यवस्थापनका लागि आवश्यक प्रबन्ध मिलाइएको थियो ।

काउन्सिलले मतगणना प्रक्रिया आइतवार बिहानदेखि सुरु गर्ने तयारी गरेको छ । मतगणना ललितपुरस्थित स्टाफ कलेज परिसरमा हुने काउन्सिलले जानकारी दिएको छ । मतगणना सम्पन्न भएपछि परिणाम सार्वजनिक गरिनेछ ।

निर्वाचन परिणामले आगामी कार्यकालका लागि काउन्सिलको नेतृत्व र नीतिगत दिशा तय गर्ने भएकाले चिकित्सक समुदायको ध्यान मतगणनातर्फ केन्द्रित भएको छ । नयाँ नेतृत्व चयनसँगै काउन्सिलले स्वास्थ्य सेवा प्रणालीमा देखिएका चुनौती समाधान, नियमन सुदृढीकरण तथा चिकित्सक र सेवाग्राहीबीचको विश्वास अभिवृद्धिमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।