काठमाडौँ।
नेपाल पोलियो भाइरसका शंकास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट मुलुकमा परेको छ ।
नेपालले यस वर्ष (२०२५) मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो) अन्तर्गतका १० मुलुकमध्ये पोलियो भाइरसका शंकास्पद बिरामीको उत्कृष्ट खोजतलास (सर्भेलेन्स) गर्न सफल भएको हो ।
डब्लूएचओ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा गरिएको खोजतलासमा डब्लूएचओ सेरोअन्तर्गत १० देशलाई नेपालले उछिनेको हो । देशभरि नै १५ वर्षमुनि उमेर समूहमा उक्त सर्भेलेन्स गरिएको हो । ती शंकास्पद बिरामीको थाइल्यान्डमा परीक्षण गरिएको हो । परीक्षणका क्रममा भने पोलियो सङ्क्रमण पाइएको छैन ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले नेपालले प्रति १ लाखमा ७.१ जना पोलियो भाइरसका शंकास्पद बिरामी भेटाएर उत्कृष्टता हासिल गरेको बताए । उनका अनुसार देशभरि ५७९ जनामा पोलियोका शंकास्पद बिरामी भेटिएका छन् । उनका अनुसार अझै ४० शंकास्पद बिरामीको परीक्षण हुन बाँकी छ ।
डब्लूएचओको मापदण्डअनुसार प्रति १ लाखमा दुईजना पोलियो भाइरसका शंकास्पद बिरामी भेटाउनुपर्ने हुन्छ । तर, नेपालले डब्लूएचओले तोकेको मापदण्डभन्दा धेरै बिरामी भेटाएर उत्कृष्ट सर्भेलेन्स गरेको छ ।
“जति धेरै शंकास्पद बिरामी भेटियो त्यति नै चाँडो पोलियो भाइरस सङ्क्रमण निर्मूल गर्न सकिन्छ”, उनले भने, “हामीले डब्लूएचओका सेरोअन्तर्गत १० मुलुकमा सबैभन्दा धेरै शंकास्पद बिरामी भेटाएर उत्कृष्ट हासिल गरेका छौँ ।”
नेपालमा २०१४ मा पोलियोमुक्त भइसकेको छ । पछिल्लो पटक २०१० मा रौतहटमा एकजनामा पोलियोको बिरामी भेटिएको थियो । शाखा प्रमुख डा. गौतमले नेपालमा हुम्ला र रोल्पामा एकदेखि १.९ जनासम्म र अन्य सबै जिल्लामा दुईजनाभन्दा बढी नै शंकास्पद बिरामी भेटिएका बताए ।
भारत, बंगलादेश, भुटान, दक्षिण कोरिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड, टिमोर–लेष्टेभन्दा नेपालको पोलियो भाइरसका बिरामीको खोजतलास गर्ने क्षमता राम्रो देखिएको छ । नेपालपछि भुटानले प्रति १ लाखमा ५.३२ जना र भारतले ५.१२ जना पोलियाका शंकास्पद बिरामी फेला पारेको छ । बंगलादेशले २.८० जना, दक्षिण कोरिया २.३८ जना, म्यानमारले २.५१ जना शंकास्पद बिरामी भेटाएका छन् ।
नेपालले सन् २०२४ मा प्रति १ लाखमा ४.५ जना शंकास्पद बिरामी भेटिएका थिए । नेपालमा गतवर्ष पाँच वर्षदेखि नौ वर्ष उमेर समूहका बालबालिकालाई गत वर्ष पोलियो रोग विरुद्धको खोप दिइएको थियो । नेपालमा जन्मेको छ हप्ता, १० हप्ता र १४ हप्ताका शिशुलाई पोलियो विरुद्धको थोपा खुवाउने गरिन्छ । त्यसैगरी १४ हप्ता र नौ महिना उमेरमा पोलियो रोग विरुद्धको खोप लगाउने गरिन्छ ।











प्रतिक्रिया