काठमाडौं।
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत बाँध (हेडवक्र्स), विद्युत्गृहलगायत सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडानसम्बन्धी ठेक्का सम्झौता तोडिएपछि आयोजनाले हाल समग्र कार्यको मूल्याङ्कन गरिरहेको छ ।
आयोजनाले गत २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल–रमण जेभीसँगको ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो। सम्झौताअनुसार ८ मंसिरदेखि ठेक्का औपचारिक रूपमा रद्द गरिएको हो । ठेक्का तोडिएपछि निर्माण व्यवसायीका उपकरण, साइट कार्यालय र निर्माणस्थल आयोजना नियन्त्रणमा लिइएको छ ।
हालसम्म सम्पन्न कार्य, साइटमा रहेका उपकरण, बाँकी तथा थप गर्नुपर्ने कामको मूल्याङ्कन गरी नयाँ लागत अनुमान तय गर्ने र नयाँ टेन्डरका कागजात तयार गर्ने काम भइरहेको आयोजनाले जनाएको छ ।
सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिँदासमेत भौतिक प्रगति करिब १० प्रतिशत मात्र रहेको, काममा अपेक्षित तदारुकता नदेखिएको तथा सुधारका लागि पटक–पटक सूचना दिँदा पनि बेवास्ता गरेकाले पटेल–रमण जेभीसँगको ठेक्का तोडिएको आयोजनाले स्पष्ट गरेको छ ।
ठेक्का रद्दसँगै आयोजनाले कार्यसम्पादन जमानतबापतको २ अर्ब ४० करोड रुपियाँ र अग्रिम भुक्तानीबापतको १ अर्ब २० करोड रुपियाँ गरी कुल ३ अर्ब ६० करोड रुपियाँ बराबरको बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रिया अघि बढाएको छ।
आयोजनाको निर्माणका लागि पटेल–रमण जेभीसँग १४ अर्ब ८ करोड रुपियाँ (करसहित) मा ठेक्का सम्झौता भएको थियो, जुन अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकममा कबोल गरिएको थियो । निर्माण कार्य माघ २०७९ देखि सुरु गरिएको भए पनि हालसम्म करिब २ अर्ब १४ करोड रुपियाँ भुक्तानी भइसकेको छ । आयोजनाअन्तर्गत १३.३ किलोमिटर लामो सुरुङ टनेल बोरिङ मेसिन प्रयोग गरी खनिएको थियो, जुन २६ वैशाख २०८१ मा छिचोलिएको हो । सिन्धुली र रामेछापको सीमास्थित सुनकोशी नदीको पानी बाँधमार्फत सुरुङ हुँदै मरिण नदीमा ल्याएर बागमती सिँचाइ आयोजनामा पु¥याइनेछ ।
यस आयोजनाबाट हाल सिँचाइ हुँदै आएको ४५ हजार ६ सय हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका गरी कुल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ । साथै सुनकोशीको पानी मरिण नदीमा पथान्तरण गरी ३१ मेगावाट जलविद्युत् उत्पादन गरिनेछ । आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपियाँ रहेको छ । यसैबीच, आयोजना निर्माणका क्रममा प्रयोग गरिएको विद्युत्को महसुल नतिरेपछि पटेल–रमण जेभीको विद्युत् लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रका अनुसार निर्माण कम्पनीको नाममा १ करोड ११ लाख रुपियाँ बक्यौता रहेकाले पटक–पटक ताकेता गर्दा पनि रकम नतिरेपछि लाइन काटिएको हो ।











प्रतिक्रिया