प्रहरी अस्पतालका एसएसपीकै शैक्षिक प्रमाणपत्र नक्कली

1.97k
Shares

काठमाडौं।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले उहाँविरुद्ध मंगलवार विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरेको हो ।

गिरीले पेस गरेको विहार स्कुल एक्जामिनेसन बोर्ड पटनाबाट एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आयोगको अनुसन्धानले देखाएको छ । सोही शैक्षिक योग्यताको प्रयोग गरी उहाँले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पीसीएल इन नर्सिङ २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पोस्ट बेसिक ब्याचलर इन नर्सिङको योग्यता प्राप्त गर्नुभएको थियो ।

ती शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेस गरी गिरीले २०५२ पुस १६ मा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा सुरु नियुक्ति लिनुभएको थियो । तिनै झुट्टा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी हालको प्रहरी वरिष्ठ उपरीक्षक पदमा समेत बढुवा लिएको साथै विभिन्न तालिम र सुविधा लिएको भन्दै उहाँविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।