आईओएमका १६ चिकित्सक सह–प्राध्यापकबाट प्राध्यापकमा बढुवा


काठमाडौं।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालय कीर्तिपुरले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत कार्यरत १६ जना चिकित्सकलाई सह–प्राध्यापकबाट प्राध्यापक पदमा बढुवा गरेको छ ।

सेवा आयोगले विभिन्न विषयका चिकित्सकहरूको योग्यता, सेवा अवधि र मूल्यांकनका आधारमा बढुवाको निर्णय गरेको हो । बढुवा सूचीअनुसार अप्थाल्मोलोजीबाट डा. ज्योतिबाबा श्रेष्ठ, अब्स्टेट्रिक्स एण्ड गाइनकोलोजीबाट डा. निभा झा, आयुर्वेदबाट डा. विनोदकुमार सिंह, इएनटीबाट डा. रविन्द्रभक्त प्रधानांग तथा इन्टरनल मेडिसिन (ग्यास्ट्रोलोजी)बाट डा. राहुल पाठक प्राध्यापक पदमा बढुवा भएका छन् ।

यसैगरी इन्टरनल मेडिसिन (रेस्पिरेटरी) बाट डा. सन्तकुमार दास, एनेस्थेसियोलोजीबाट डा. रेनु गुरुङ र कम्युनिटी मेडिसिनबाट डा. खेमबहादुर कार्की पनि प्राध्यापक बनेका छन् । सेवा आयोगका अनुसार कार्डियोथोरासिक भास्कुलर सर्जरीतर्फ डा. अनिल भट्टराई र डा. रञ्जन सापकोटा, कार्डियोलोजीबाट डा. चन्द्रमणि पौडेल, क्लिनिकल फिजियोलोजीबाट डा. नारायणबहादुर महोत्रा तथा जनरल प्राक्टिसबाट यज्ञलक्ष्मी शाक्यलाई पनि प्राध्यापक पदमा बढुवा गरिएको छ । त्यस्तै जनरल सर्जरी (युरोलोजी) बाट डा. पवनराज चालिसे, डर्माटोलोजीबाट डा. उपमा पौडेल तथा न्युरोसर्जरीबाट डा. गोपाल सेडाईं पनि बढुवा सूचीमा परेका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि तथा शैक्षिक जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन नियमित पदोन्नति प्रक्रिया अघि बढाइएको सेवा आयोगले जनाएको छ ।