काठमाडौं ।
ग्लोबल आइएमई बैंक र फ्लोरिकल्चर एसोसिएसन नेपालबीच पुष्प खेती तथा आलङ्कारिक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सोको लागि सहज कर्जा प्रणालीको विकास गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।
उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख असीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार, बैंकले पुष्प व्यवसायी वा कृषकहरू लक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्ने भएको हो । साथै, फ्लोरिकल्चर एसोसिएसन नेपालले आफ्नो सदस्यहरूलाई बैंकको कृषि कर्जा योजनाको बारेमा जानकारी प्रदान गर्नेछ ।
यसबाट व्यवसायी तथा कृषकहरूको पुष्प उत्पादन र उत्पादकत्व वृद्धि, हरितगृह प्रविधिहरूको प्रवद्र्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा अभिवृद्धिमा सहयोग पुग्नेछ । साथै यस सहकार्यले जलवायु अनुकुलन अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधिलाई आत्मसाथ गर्न पुष्प व्यवसायी तथा कृषकलाई उत्प्रेरित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
बैंक र एसोसिएसन बीचको सहकार्यले हरितगृह प्रविधिमा लगानी गर्न पुष्प व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गरी वित्तीय पहँुच विस्तारको साथै फूल उत्पादन तथा आलङ्कारिक बोटबिरुवाको उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास रहेको छ ।











प्रतिक्रिया