१ सय नौ राष्ट्रका ४ सय २८ बक्सरका लागि तयार पारिएको दुबईको त्यो विशाल बक्सिङ एरिना । झलमल्ल बत्तीहरू, हजारौँ दर्शकको हुटिङ र रिङको बीचमा उभिएका एक २६ वर्षीय नेपाली ठिटो चन्द्र बहादुर थापा । रोल्पाको विकट पहाडदेखि विश्व बक्सिङको शिखरसम्मको यो यात्रा कुनै चलचित्रको कथाभन्दा कम रोमाञ्चक छैन । जब रेफ्रीले चन्द्रको हात हावामा उठाए, त्यो केवल एउटा खेलको जित मात्र थिएन । त्यो नेपाली खेलकुद इतिहासकै एउटा यस्तो स्वर्णिम पल थियो, जसले नेपाललाई पहिलो पटक आईबीए वर्ल्ड बक्सिङ च्याम्पियनसिपको पदक तालिकामा उभ्याइदियो ।
५१–५४ केजी तौल समूह (वेन्टम वेट) अन्तर्गतको त्यो क्वाटरफाइनल भिडन्त सायदै कसैले भुल्न सक्ला । इरानी मुक्केबाज मेहदी काजेमीविरुद्ध चन्द्र एउटा आक्रामक बाघ झैँ प्रस्तुत भए । तर, जितको मूल्य चर्को थियो । खेलकै क्रममा चन्द्रको दाहिने हातको कुहिनामा चोट लाग्यो । पीडा भईरहेको थियो, तर चन्द्रको आँखामा आफ्नो देशको झण्डा फहराउने सपना थियो । ५–० को ‘युनानिमोस डिसिजन’ सँगै जब उनले कांस्य पदक पक्का गरे, तब मात्र उनले आफ्नो अनुहारमा खुसी र आँखामा हर्षका आँसु लुकाउन सकेनन् ।

सेमिफाइनलको मञ्च अझ कठिन थियो । अगाडि थिए पूर्व विश्व च्याम्पियन कजाख्स्तानका अनुभवी मुक्केबाज बिबोसिनोभ साकेन । एकातिर विश्वकै उत्कृष्टमध्येका एक र अनुभवी खेलाडी, अर्कोतिर वरियताविहिन चन्द्र र उनको घाइते हात । रिङमा उत्रिँदा चन्द्रलाई थाहा थियो कि उनको दाहिने हातले पूर्ण साथ दिने छैन भनेर, तैपनि उनले हिम्मत हारेनन् । चोटको परवाह नगरी उनले अन्तिम सेकेन्डसम्म संघर्ष गरे । उक्त खेलको हारले उनलाई फाइनल पुग्नबाट त रोक्यो, तर उनले विश्व च्याम्पियनलाई हम्मे–हम्मे पारेर देखाए । उनी कांस्य पदकसँगै ७५ हजार अमेरिकी डलर पुरस्कार जित्दै नेपाली बक्सिङका अहिलेसम्मकै सफल पात्र बने ।
यो सफलता पाउनुअघि उनले विश्व वरीयता प्राप्त बक्सरहरु समेतलाई पाखा लगाएका थिए । चन्द्रले राउन्ड ३२ मा इन्डोनेसियाका बस्तर माशिहोर योगुने होलीलाई ५ः० अंकले, राउन्ड १६ मा आर्मेनियाका येगोरियन डेभिटलाई ५ः० अंकले र क्वार्टरफाइनलमा इरानका काजेमी मेहदीलाई ५ः० अंकले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए । यो सफलता रातारात मिलेको होइन । यो त दाइ भूपेन्द्र थापाको बक्सिङ मोह देखेर सुरु भएको एउटा सानो सपनाको परिणाम हो । दाङको ग्रामीणस्तरको ट्रेनिङ सेन्टरदेखि काठमाडौंको नेपाल पुलिस क्लबको कडा अनुशासनसम्म, चन्द्रले आफ्नो जीवनको एक दशकभन्दा बढी समय बक्सिङ खेलमै बिताएका छन् ।
प्रारम्भिक प्रशिक्षण दाङको अल्फा स्पोर्ट ट्रेनिङ सेन्टर (पहिले दाङ बक्सिङ क्लब) मा प्रशिक्षक समिर सिद्दीकी र हरि सुनारको मातहतमा सुरु गरेका उनलाई नेपाल प्रहरीमा आबद्ध भएपश्चात खेलाडी तिखार्न माहिर अनुभवी प्रशिक्षक राज श्रेष्ठ, पूर्व अन्तर्राष्ट्रीय खेलाडी दिनेश श्रेष्ठ, आफ्नै दाई तथा १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता भूपेन्द्र थापा र पूर्व अन्तर्राष्ट्रिय महिला बक्सर अनुराधा लामाको रेखदेखमा थप प्रशिक्षण प्राप्त भयो ।

दुबईमा इतिहास रच्नुअघि दुई पटक (इटाली र थाइल्याण्ड) मा भएको ओलम्पिक क्वालिफाइंग खेलेका चन्द्रले ताजिकिस्तानका खेलाडीलाई समेत पराजित गरेर सनसनी मच्चाएका थिए । राष्ट्रिय बक्सिंगको कुरा गर्ने हो भने चन्द्रले पोखरामा सम्पन्न नवौं बृहत राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका छन् । त्यस्तै, बीर गणेशमान सिंह बक्सिंग च्याम्पियनशिपको दुई संस्करणमा दुवै पटक स्वर्ण जितेका उनी एकपटक “बेस्ट बक्सर” समेत घोषित भएका थिए । त्यसैगरी प्रकाश दाहाल स्मृति बक्सिंग प्रतियोगिताको दुईवटा संस्करणमार्फत पनि उनले दुई स्वर्णमा आफ्नो नाम लेखाएका छन् ।
“एमेच्योर बक्सिङमा लाग्नु भनेको ढुङ्गा र गिट्टी भएको उबडखाबड बाटोमा म्याराथन दौडनु जस्तै हो,”–उनी भावुक हुँदै भन्छन् । जहाँ विश्वका अन्य खेलाडीहरू अत्याधुनिक प्रविधि र सुविधायुक्त ‘पक्की सडक’ मा दौडिरहेका छन्, त्यहाँ चन्द्र जस्ता नेपाली खेलाडीहरू अभाव र सीमित स्रोतका बावजुद दोब्बर मेहनत गरेर उनीहरूलाई उछिन्न बाध्य छन् । आज चन्द्रको सफलताले पूरै देश गौरवान्वित छ । तर, यो यात्राको अर्को पाटो अझै चुनौतीपूर्ण छ । पदक र पुरस्कारको चर्चा चुलिरहँदा, उनले पाउने पुरस्कार रकमको आधा हिस्सा संघ र प्रशिक्षकलाई जानेछ । अर्कोतर्फ सरकारीस्तरबाट विधिसम्मत पाउनुपर्ने पुरस्कारको अनिश्चितताले पनि उनलाई कताकता झस्काईरहेको छ । तर, यी आर्थिक र प्राविधिक अड्चनहरू उनका लागि गौण हुन् ।
अहिले चन्द्रको नजर आगामी सेप्टेम्बरमा जापानमा हुने २०औं एसियाली खेलकुदमा छ । आगामी एसियन गेम्सलाई मध्यनजर गरी नेपाल ओलम्पिक कमिटीले प्रदान गरेको छात्रवृत्तिसमेत उनले पाएका छन । उनी बिहान र साँझ गरी दैनिक ४ घण्टा प्रशिक्षण गरिरहेका छन । उनको एउटै लक्ष्य छ “मिसन २०२६ एसियन गेम्स” र ओलम्पिकको त्यो पोडियम जहाँ उनी नेपालको राष्ट्रिय गान गुञ्जाउन चाहन्छन् । रोल्पाको ग्रामीण भेगबाट सुरु भएको उनको यो यात्रा अब विश्वको कुना–कुनामा पुग्ने संकल्पमा बदलिएको छ । चन्द्र बहादुर थापा आज केवल एक बक्सर मात्र होइनन्, उनी लाखौँ नेपाली युवाका लागि ‘असम्भव भन्ने केही हुँदैन’ भन्ने ताजा उदाहरण हुन् ।











प्रतिक्रिया