भारतीय राजदूत नवीन श्रीवास्तव अस्पतालबाट डिस्चार्ज


काठमाडौँ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी उपचारपछि आज लैनचौरस्थित भारतीय दूतावास फर्किएका छन्।

राजदूत श्रीवास्तव गत मंसिर २७ गते टोखा नगरपालिका–८ स्थित ग्राण्डी हस्पिटलमा भर्ना भएका थिए। काठमाडौँको दक्षिणकाली नगरपालिका–९ स्थित भस्मेसुर डाँडाको जंगलमा हाइकिङका क्रममा अचानक लडेर बेहोस भएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा मुटुको अपरेशन गरिएपछि उनी केही समय सिसियुमा राखेर उपचार गरिएको थियो। चिकित्सकका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ र थप उपचार तथा आरामका लागि दूतावासमै बस्नेछन्।

भारतीय दूतावासले समयमै उपचार र उद्धारका लागि नेपाल सरकार, नेपाली सेना तथा ग्राण्डी हस्पिटलको चिकित्सा टोलीप्रति आभार व्यक्त गरेको छ।