कांग्रेस नेता चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं।

नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपियाँ गैरकानुनी रूपमा कमाएको भन्दै चालिसेविरुद्ध सो मुद्दा दायर गरेको हो । अख्तियारले उहाँमाथि सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति विवरण उल्लेख नगरी लुकाईछिपाई झुट्टा विवरण पेस गरेको आरोप लगाएको छ ।

२०७४ साल वैशाख ३१ गते भएको स्थानीय तहको पहिलो निर्वाचनमा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा निर्वाचित चालिसेले २०७४ जेठ ८ गते पदभार ग्रहण गर्नुभएको थियो । त्यसबेलादेखि मेयरको पदावधि समाप्त भएको दिन २०७९ असार ३२ गतेसम्म कमाएको सम्पत्ति र खर्च गरेकोलाई विश्लेषण गरी आयोगले गैरकानुनी सम्पत्ति कमाएको निष्कर्ष निकालेको हो । मेयर हुनुपूर्व उहाँसँग जम्माजम्मी १८ लाख ४० हजार ५ सय २७ रुपियाँ थियो ।

त्यतिबेला गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । चालिसे २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको थियो । त्यसपछि उहाँ प्रतिनिधिसभाको अर्थ समितिको सभापति पनि बन्नुभएको थियो ।

८ करोड ५६ लाख रुपियाँको सम्पत्ति जोडेका उहाँले ४ करोड ८८ लाख रुपियाँमात्रै वैध रूपमा आर्जन गरेको भेटिएको अख्तियारको दाबी छ । अख्तियारको दाबी अनुसार उहाँले ३ करोड ६८ लाख रुपियाँ गैरकानुनी आर्जन गर्नुभएको थियो । गैरकानुनी रूपमा कमाएको सम्पत्ति बराबर नै बिगो कायम गरी र बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय मागसहित मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले सन्तोष चालिसेसहित उहाँकी पत्नी मन्दिरा चालिसे, छोरा सागर चालिसे र सञ्जीव चालिसे र बुहारी प्रमिला पोखरेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ । उहाँमाथि सम्पत्ति शुद्धीकरणको मुद्दासमेत दायर भएको छ ।