उदयपुर कांग्रेसले गर्यो प्रतिनिधि सभाका लागि उमेदवारको नाम सिफारिस

94
Shares

उदयपुर ।

नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उदयपुरबाट उमेदवारको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहको उदयपुरमा कांग्रेस उदयपुरले प्रत्यक्ष तर्फ ६ जनाको नाम सिफारिस गरेको छ । कांग्रेस उदयपुरले निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका निवर्तमान प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री डा. नारायण खड्का सहित संबिधान सभा सदस्य लक्ष्मी परियार र विदुर बस्नेतको नाम सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नम्बर २ बाट संजिव थापा, कृष्णकुमार श्रेष्ठ र सरस्वती ढुंगानाको नाम सिफारिस गरिएको नेपाली कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीले जानकारी दिनु भयो ।

बिहिबार बसेको जिल्ला कार्यसमितिको बैठकले उमेदवारहरूको नाम सिफारिस गरेको हो । बैठकले समानुपातिक तर्फ नारायणबहादुर कार्की, सत्यनारायण चौधरी, सिता राई र रामकुमारी साहको नाम सिफारिस गरिएको छ। यसैगरी, राष्ट्रिय सभा निर्वाचनको लागि जिल्लाबाट नौ नाम सिफारिस भएको छ। जसमा हेरम्बबहादुर थापा, अर्जुनकुमार खड्का, प्रमिला राई, भोजराज खतिवडा, गोविन्द चाम्लिङ, जनमजय राई, सुमन परियार, हिरामान मोते र सज्ना दनुवार छन् । सिफारिस भएका सबै पुरानै नेताहरु हुन् ।

प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक अनि राष्ट्रिय सभामा निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका नामहरु आगामी दिनमा हुने स्थानीय तह र प्रदेश सभा निर्वाचनमा सिफारिस नगरिने उदयपुर कांग्रेसले जनाएको छ ।

कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीले आफुहरुले पार्टीमा पुर्याएको योगदान, जनमतलगायत सबै पक्षको अध्ययन गरेर उमेदवारको नाम सिफारिस गरेको बताउनु भयो । उहाँले भोलिका दिनमा हुने स्थानीय तह र प्रदेशसभा निर्वाचनमा अहिले सिफारिस भएका नामहरु सिफारिस नहुने समेत स्पष्ट पार्नु भयो ।

बैठकले पार्टी केन्द्रको केन्द्रीय १५ औं महाधिवेशन समयमै सम्पन्न गराउन जिल्लामा हुने सम्पूर्ण कामहरु समयमै सम्पन्न गर्ने पनि निर्णय गरेको छ।

बुधबार क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएका उम्मेदवारको नाम प्रदेश कार्यसमितिलाई सिफारिस गर्ने गरि आज उदयपुर कांग्रेसले उमेदवारको नाम टुंग्याएर सिफारिस गरेको हो । बुधबार क्षेत्रीय समितिहरुले कारवाहीमा परेका व्यक्तिको समेत नाम सिफारिस गरेर जिल्लामा पठाएको भन्दै उक्त बिषयमा क्षेत्रीय समितिलाई स्पष्टीकरण सोध्ने समेत जिल्ला कमिटिको बिहिबारको बैठकले निर्णय गरेको नेपाली कांग्रेस उदयपुरले जनाएको छ ।