शिवपुरीमा हराएका ३ जनाको सेनाले गर्‍यो मध्यरातमा  उद्धार


काठमाडौँ।

शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जको पानीमुहान क्षेत्रबाट शिवपुरी हाईटतर्फ जाने क्रममा बाटो बिराई हराएका तीन जनालाई नेपाली सेनाले मध्यरातमै सकुशल उद्धार गरेको छ।

निकुञ्ज क्षेत्रमा साँझपख सम्पर्कविहीन बनेका महिला–२ र पुरुष–१ गरी ३ जनाको खोजी नेपाली सेनाको चन्दननाथ गणसहित निकुञ्ज प्रशासन र नेपाल प्रहरीको संयुक्त टोलीले तत्काल सुरु गरेको थियो। कठिन भू–भाग र रातको अन्धकारबीच गरिएको खोजीपछि उद्धार टोलीले उनीहरूलाई शिवपुरी पिक इलाकामा फेला पारेको थियो।

उद्धारपछि सबैलाई सकुशल नेपाल प्रहरीको जिम्मा लगाइएको सेनाले जनाएको छ। निकुञ्ज प्रशासनका अनुसार पर्यटक तथा पदयात्रीले निर्धारित मार्ग, समय र आवश्यक तयारीबिनै गहिरो जंगलतर्फ जाने प्रवृत्ति बढ्दै गएपछि जोखिम बढिरहेको छ।

यस घटनाले पदयात्रीहरूले मार्गबारे पर्याप्त जानकारी, गाइड र सुरक्षाका सामग्री लिएर मात्र यात्रा गर्नुपर्ने आवश्यकता पुनः स्पष्ट भएको निकुञ्ज प्रशासनको भनाइ छ।