नाङ्लो बेकरीद्वारा मानव स्वास्थ्यमा गम्भीर लापरबाही

ज्यानै लिने अखाद्य भेटिएपछि बिक्री गर्न रोक


काठमाडौं ।

बेकरी ब्रान्ड ‘नाङ्लो बेकरी प्रालि’ले उत्पादन गरेको ‘क्रसन’लाई बजारबाट फिर्ता गर्न आदेश दिएपछि नाम चलेका कम्पनीहरूले पनि मानव स्वास्थ्यमा खेलवाड गरिरहेको तथ्य सार्वजनिक भएको छ । मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने औद्योगिक ट्रान्स फ्याट मापदण्डभन्दा अत्यधिक भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत मंगलवार उक्त ब्रान्डको क्रसन बिक्री वितरण नगर्न र तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको हो ।

विभागले मंगलवार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) र उपदफा (४) बमोजिम कम्पनी उत्पादनहरू बजारबाट फिर्ता लिन र बिक्री वितरणमा रोक लगाउन आदेश दिएको हो । विभागले ललितपुर महानगरपालिका–१४, गोदावरीमा रहेको नाङ्लो बेकरी प्रालिबाट उत्पादित क्रसनको नमुना बजार अनुगमनका क्रममा संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा औद्योगिक ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी रहेको पाइएको थियो । जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । कम्पनीको ब्याच नम्बर–०१ उत्पादन मिति ३ डिसेम्बर २०२५ र उपभोग्य मिति १० डिसेम्बर २०२५ सम्म रहेको क्रसनको नमुना परीक्षणमा उक्त अखाद्य भेटिएको हो ।

कारवाही थालेको सो विभाग कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको हो । विभागले थालेको कारवाही प्रक्रियाको जानकारी मन्त्रालयमा समेत पुगिसकेको छ । मन्त्रालयकी प्रवक्ता सहसचिव डा.जानुका पण्डितले नाङ्लो बेकरी प्रालिले उत्पादन गरेको ‘क्रोइसन्ट’ मा मानव स्वास्थ्यमा असर गर्ने औद्योगिक ट्रान्सफ्याट मापदण्डभन्दा अत्याधिक भेटिएको विषय मन्त्रालयको जानकारीमा समेत आएको र विभागबाट विद्यमान ऐन नियमअनुसार आवश्यक कारवाही हुने बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘विभागले आवश्यक कारवाही थालिसकेको छ । मानव स्वास्थ्यको संवेदनशील विषय भएकाले त्यसका बारेमा मन्त्रालयले पनि आवश्यक चासो लिइरहेको छ, मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी बस्तुहरु बिक्री वितरण गर्नेमाथि कडा कारवाही हुन्छ ।’

विभागको यो कारबाही न्यून गुणस्तरको उत्पादनमात्र होइन, उपभोक्ताको स्वास्थ्य सुरक्षासँग जोडिएको छ । औद्योगिक ट्रान्स फ्याट, जसलाई आंशिक हाइड्रोजनेटेड तेलबाट उत्पादन गरिन्छ, मुटुरोग, मधुमेह, उच्च रक्तचाप र अन्य दीर्घकालीन रोगहरूको प्रमुख कारक मानिएकाले विश्वभर प्रतिबन्धित छ । उपभोक्ताको स्वास्थ्य जोखिम बढेपछि नेपालमा २०८१ सालदेखि खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी राख्न पूर्ण प्रतिबन्ध गरिएको थियो । यो घटना ट्रान्स फ्याटसम्बन्धी मापदण्ड लागू भएको लामो समयपछि पनि ठूला ब्रान्डहरूले पूर्ण पालन नगरेको पहिलो र प्रमुख घटना हो । यसलाई उपभोक्ता स्वास्थ्यप्रति गम्भीर लापरबाहीको रूपमा उपभोक्ताकर्मी, स्वास्थ्यकर्मी तथा खाद्य विज्ञहरूले लिएका छन् ।

महँगा होटल रेस्टुरेन्टमा पाइने नाङ्लो ब्रान्डले ट्रान्स फ्याटसम्बन्धी कानुन उल्लंघन गरी मानव स्वास्थ्यमा जोखिम निम्त्याएको हुनाले सो कम्पनीका उत्पादन बजारबाट फिर्ता गरेर मात्रै नहुने उपभोक्ता अधिकार र स्वास्थ्य जोखिम निम्त्याएको कसुर कारबाही हुनुपर्ने अधिकारकर्मी एवम् अधिवक्ता नारायण भण्डारीले बताउनुभयो । भण्डारीले अन्य ब्रान्डका खाद्य पदार्थमा पनि औद्योगिक ट्रान्स फ्याट र अखाद्य पदार्थको मिसावट रहेको विषयमा सूक्ष्म ढंगले अनुसन्धान गर्न विभागलाई आग्रह समेत गर्नुभयो ।

विश्व स्वास्थ्य संगठनले औद्योगिक रूपमा उत्पादित ट्रान्स फ्याटलाई स्वास्थ्यका लागि अत्यन्त हानिकारक मान्दै सन् २०१८ बाट यसलाई विश्वव्यापी रूपमा हटाउने योजना सुरु गरेको हो । विश्व स्वास्थ्य संगठनले सन् २०२३ सम्ममा विश्वव्यापी खाद्य आपूर्तिबाट औद्योगिक ट्रान्स फ्याट हटाउने लक्ष्य राखेको छ । ट्रान्स फ्याटले हृदय रोगको जोखिमलाई २१ प्रतिशतले र मृत्युको जोखिमलाई २८ प्रतिशतले बढाउँछ ।

डब्लूएचओको प्रतिवेदनअनुसार, ट्रान्स फ्याटको सेवनबाट विश्वव्यापी रूपमा प्रत्येक वर्ष विशेषगरी हृदय रोग (कोरोनरी हार्ट डिजिज) बाट लाख मानिसको अकाल मृत्यु हुने गरेको छ । ट्रान्स फ्याट पूर्ण रूपमा हटाइयो भने वार्षिक रूपमा विश्वका १ करोड ७५ लाख मानिसलाई अकाल मृत्युबाट जोगाउन सकिने अध्ययनले देखाएको छ । नेपालमा मात्रै पनि ट्रान्स फ्याटको प्रयोगलाई पूर्ण रूपमा रोक्न सके वार्षिक २ हजार २ सय जनाको ज्यान बचाउन सकिने अनुमान गरिएको छ । नेपालमा नसर्ने रोगहरूबाट हुने मृत्युको ६९ प्रतिशतलाई यसले सम्बोधन गर्दै दिगो विकास लक्ष्यअन्तर्गत नसर्ने रोगको मृत्युदर एक तिहाइ घटाउने लक्ष्यमा योगदान दिने अपेक्षा गरिएको छ ।

ट्रान्स फ्याट चिल्लो पदार्थ हो, जसलाई मुख्य रूपमा औद्योगिक प्रक्रियाबाट तरल तेललाई ठोस बनाउने क्रममा उत्पादन गरिन्छ । यो मुख्य रूपमा मार्जरिन, बेकरी उत्पादनहरू, फास्ट फुड र प्रशोधित खाद्य पदार्थहरूमा पाइन्छ । ट्रान्स फ्याटको अत्यधिक सेवनले स्वास्थ्यमा गम्भीर नकारात्मक प्रभाव पार्छ, जसलाई विभिन्न वैज्ञानिक अध्ययनहरूले पुष्टि गरेका छन् । यसले मुख्य रूपमा हृदय रोग, मधुमेह र अन्य दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने गर्दछ ।

ट्रान्स फ्याटले रगतमा खराब कोलेस्ट्रोलको स्तर बढाउँछ र राम्रो कोलेस्ट्रोलको स्तर घटाउँछ । यसले धमनीहरूमा प्लाक जम्मा हुने प्रक्रिया (एथेरोस्क्लेरोसिस) लाई बढावा दिन्छ, जसबाट हृदयघात, स्ट्रोकको जोखिम बढ्छ । अध्ययनअनुसार, दैनिक कुल क्यालोरीको २ प्रतिशत ट्रान्स फ्याटबाट आउँदा हृदय रोगको जोखिम २३ प्रतिशतसम्म बढ्न सक्छ । ट्रान्स फ्याटले मधुमेहका रोगीलाई इन्सुलिन प्रतिरोध बढाउँछ, जसले टाइप २ मधुमेहको जोखिम बढाउँछ ।

विशेष गरी अधिक वजन भएका वा मधुमेहका रोगीमा यसको प्रभाव बढी देखिन्छ । यसले मेटाबोलिक सिन्ड्रोमलाई पनि बढाउँछ, जसमा उच्च रक्तचाप, उच्च रगतको चिनी र मोटोपन समावेश हुन्छ । ट्रान्स फ्याटले स्तन क्यान्सरको जोखिम बढाउने प्रमाणित भएको छ, साथै रगतका नलीहरूको भित्री तहलाई क्षति पु¥याएर अन्य क्यान्सरहरूको सम्भावना बढाउने खतरा हुन्छ । यसले गर्भावस्थालाई छोटो बनाउँछ, प्रिक्लाम्प्सिया (उच्च रक्तचापसम्बन्धी समस्या) बढाउँछ र बच्चाहरूमा एलर्जी तथा मोटोपनको जोखिम बढाउँछ । साथै मस्तिष्कको कार्यक्षमतामा असर पार्न सक्छ ।

नाङ्लो बेकरी प्रालिले उत्पादन गरेको ‘क्रसन्ट’ मा मानव स्वास्थ्यमा असर गर्ने औद्योगिक ट्रान्सफ्याट मापदण्डभन्दा अत्याधिक भेटिएको विषय मन्त्रालयको जानकारीमा आइसकेको छ र विभागबाट विद्यमान ऐन नियमअनुसार आवश्यक कारवाही थालिएको छ । मानव स्वास्थ्यको संवेदनशील विषय भएकाले त्यसका बारेमा मन्त्रालयले पनि आवश्यक चासो लिइरहेको छ । मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी बस्तुहरु विक्री वितरण गर्ने माथि कडा कारवाही हुन्छ ।
डा.जानुका पण्डित
प्रवक्ता
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय