यस्तो छ हिल्टन होटलको बिमा लफडा

चार कम्पनीमाथि अख्तियार र प्राधिकरणबाट छानबिन


काठमाडौं ।

जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता भएको आशंकामा अनुसन्धान भइरहेको छ । नियमविपरीत होटलको हुलदंगा तथा आतंकवाद (आरएसएमडीएसटी) जोखिम पुनर्बिमा गरिएको विषयमा फरकफरक कोणबाट अनुसन्धान अघि बढाइएको हो ।

निर्जीवन बिमा कम्पनीहरूले बिमांक बराबरको आरएसएमडीएसटी बिमा अनिवार्य रूपमा गर्नुपर्ने र यसको पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनीले सञ्चालन गर्ने पुलमार्फत मात्र गर्नुपर्ने व्यवस्था भए पनि हिल्टन होटलको उक्त जोखिम पुनर्बिमा नेपाल पुनर्बिमामा नगरिएको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल बिमा प्राधिकरणबाट अनुसन्धान भइरहेको उच्च स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ ।

विशेषगरी ओरियन्टल इन्स्योरेन्सले हिल्टल होटलको आरएसएमडीएसटी जोखिम पुनर्बिमा नगरेको प्रारम्भिक अध्ययन देखिएको स्रोतको भनाइ छ । नेपाल पुनर्बिमा कम्पनीबाट हिल्टनको पुनर्बिमा नभएको खुलेपछि ओरियन्टल प्राधिकरणको निगरानीमा परेको छ । प्राधिकरणले ओरियन्टल इन्स्योरेन्सलगायत हिमालयन पुनर्बिमा, नेपाल पुनर्बिमा र एलियन्ट पुनर्बिमा ब्रोकर कम्पनीमाथि पनि डेढ महिना अघिदेखि निगरानी बढाएको स्रोतले बतायो ।

स्रोतका अनुसार प्राधिकरणले ओरियन्टलबाट हिल्टनसम्बन्धी कागजात लिएर कर्मचारीहरूसँग सोधपुछ गरिरहेको छ । अनुसन्धानका क्रममा एलियन्ट पुनर्बिमा ब्रोकर पनि शंकाको घेरामा परेको छ । हिल्टनको पुनर्बिमा एलियन्टमार्फत गरिएको थियो । प्राधिकरणले एलियन्टसँग कागजपत्र माग गरिरहेको तर एलियन्टले जेन–जी प्रदर्शनका क्रममा सबै फाइल जलेको दाबी गरेको स्रोतको भनाइ छ ।

यद्यपि, प्राधिकरणले एलियन्टले हिमालयन पुनर्बिमाको नाममा जारी गरेको डेबिट नोटमा हिल्टनको हिमालयन रिइन्योरेन्समा पुनर्बिमा नभएको तथ्य खुलेको स्रोतले बताएको छ । यसमा हिल्टल होटलको प्रवद्र्धक शंकर समूहका लागि प्रस्तावित पुनर्बिमामा मिलेमतोको भएको आशंकामा नेपाल पुनर्बिमा कम्पनी पनि अनुसन्धानको दायरामा आएको स्रोतको भनाइ छ ।

यसअघि जेन–जी प्रदर्शनपछि हिल्टनमा भएको क्षतिमा बीमा दाबी भुक्तानीका लागि ब्याक–डेट पोलिसी जारी गर्ने प्रयाससम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । आयोगले प्राधिकरणलाई कागजात मागेपछि प्राधिकरण दबाबमा परेको स्रोतको भनाइ छ । ओरियन्टल इन्स्योरेन्सले आर्थिक वर्ष २०८१÷८२ मा शंकर समूहका केही कम्पनीहरूको पुनर्बिमा नेपाल पुनर्बिमाबाट गरेको थियो । तर, चालू आर्थिक वर्षका निम्ति भएको स्पष्ट प्रमाण बिमा कम्पनीहरूले नै जुटाउन सकेका छैनन् । हिल्टन होटलमा शंकर समूहको प्रमुख लगानी छ । यसबाहेक ‘बिचौलिया’ समूहका नाइके दीपक भट्टको पनि लगानी रहेको र यही समूहको प्रमुख लगानीमा हिमालयन पुनर्बिमा कम्पनी रहेका हिल्टनको आरएसएमडीएसटी बीमा हिमालयन पुनर्बिमामा भएको छ, जुन प्राधिकरणको नियमविपरीत हो ।

प्रारम्भिक सर्भेअनुसार होटलमा करिब ४ अर्ब रुपियाँ क्षति भएको अनुमान छ । यसमा हिमालयन पुनर्बिमाले २ अर्ब २५ करोड, नेपाल पुनर्बिमाले ७५ करोड र ओरियन्टलले १ अर्ब रुपियाँ भुक्तानी गर्ने गरी प्रक्रिया अगाडि बढाइएको थियो ।
आरएसएमडीएसटी बिमामा १० करोडसम्मको दाबीमा ६५ प्रतिशत पुनर्बिमा कम्पनी र ३५ प्रतिशत बिमकले भुक्तानी गर्ने व्यवस्था छ । १० करोडदेखि ६ अर्बसम्म शतप्रतिशत पुनर्बिमाले बहन गर्छ । अन्डर इन्स्योरेन्सका कारण दाबी रकम करिब ६२ प्रतिशतमा सीमित हुन सक्छ ।

भदौ २४ मा जेन–जी आन्दोलनका क्रममा होटलमा आगजनी भएको थियो । होटलको संरचना अध्ययन गर्न जापानी फर्म मियामोतोले गरिरहेको छ । होटलमा ९ बैंकहरूले ५ अर्ब २ करोड ऋण लगानी गरेका छन्, जसमा नेपाल इन्भेस्टमेन्ट मेगा, एभरेस्टलगायत छन् । ५ अर्ब २ करोड ऋण सुरक्षित राख्दै होटलले ५ अर्ब बराबरको मात्र बिमा गरेको थियो । होटल एसोसिएसनको विवरणअनुसार हिल्टनमा ८ अर्बभन्दा बढी लगानी छ, तर बिमा रकम ५ अर्ब मात्र भएकाले होटल ‘अन्डर इन्स्योर्ड’ अवस्थामा छ । त्यसैले पाउने दाबी भुक्तानी उल्लेखनीय रूपमा घट्नेछ ।