भदौ २३ र २४ को प्रदर्शनमा निर्वाचन आयोग जोगाउन सफल सशस्त्र प्रहरी सम्मानित


काठमाडौँ। 

गत भदौ २३ र २४ को जेन–जी प्रदर्शनको क्रममा निर्वाचन आयोग क्षति हुनबाट जोगाउन सफल तत्कालीन सशस्त्र प्रहरी बल, नेपाल नं.२४ बाघभैरब गुल्म काठमाण्डौलाई आयोगले सम्मान गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त माननीय रामप्रसाद भण्डारीले मंसिर २४ गते तत्कालीन सशस्त्र प्रहरी बल, नेपाल नं.२४ बाघभैरब गुल्म तथा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश कोइरालालाई सम्मान गर्नु भई सशस्त्र प्रहरी बल, नेपालले आयोगको सुरक्षामा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेकोमा धन्यवाद समेत दिनु भएको छ ।

गत भाद्र २४ गते काठमाडौं महानगरपालिका–२७ कान्तिपथ स्थित निर्वाचन आयोगको कार्यलयमा तोडफोड र आगजनीको प्रयास भएपछि  तत्कालीन गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालाको कमाण्डमा खटिएको टोलीले प्रदर्शनकारीहरुलाई अगाडी बढ्न नदिई मुख्य गेटको केही भित्र रोकी सम्झाई बुझाई गरेको थियो ।  त्यति गर्दा समेत भिड थप आक्रोशित भएपश्चात् उक्त टोलीले सामान्य बल प्रयोग गरी भिडलाई तितर वितर पारेर उत्पन्न परिस्थितीलाई नियन्त्रणमा लिई आयोग क्षति हुनबाट जोगाएको थियो ।

निर्वाचन आयोग परिसरमा रहेको र हालै गणमा स्तरोन्नति भएको सशस्त्र प्रहरी बल, नेपाल नं.१८ बाघभैरब  गणले फागुन २१ गते घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई मध्य नजर गर्दै निर्वाचन सम्बन्धी दल दर्ता, दल दर्ता प्रमाण–पत्र वितरण लगायतका विभिन्न गतिविधि एवं आयोग परिसरको निरन्तर रुपमा सुरक्षा प्रदान गर्दै आईरहेको छ ।

 उक्त कार्यक्रममा  आयोगका आयुक्त माननिय डा.जानकी तुलाधर, सचिव महादेव पन्त, प्रवक्ता सह–सचिव नारायण प्रसाद भट्टराई लगायत आयोगका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।