नेशनल जियोग्राफिक म्यागजिनले भन्यो– मिथिला थाली दक्षिण एशियाको उत्कृष्ट परिकार

470
Shares

नेशनल जियोग्राफीले सेफ सन्तोष साहको परिकारलाई नेशनल जियोग्राफिक म्यागजिनमा समेटेको छ । नेपाली सेफका रुपमा अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका साहको मिथिला थालीलाई नेशनल जियोग्राफीले फिचर गरेको हो ।

नेशनल जियोग्राफिकको म्यागजिनको रिपोर्टअनुसार हाल ‘मिथिला थाली’ले अहिले दैनिक ५०० भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । सेफ सन्तोषले स्थानीय सामग्री, घरेलु स्वाद र परम्परागत विधिलाई आधुनिक शैलीसँग जोडेर प्रस्तुत गरेका परिकारहरू नेपाली खानाको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो लोकप्रियताको प्रमाण भएको नेशनल जियोग्राफिकको लेखमा उल्लेख छ ।

सेफ सन्तोषले जनकपुर र मिथिला थालीको नाम विश्वमाझ चर्चामा आउँदा निकै खुसी लागेको बताए । “आफ्नै ठाउँ र ठाउँको स्थानीय खानाको अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा हुँदा निकै खुसी लागेको छ, अन्तर्राष्ट्रिय स्तरको म्यागजिनले मेरो रेस्टुरेन्ट, परिकार र जन्मथलोको प्रशंसा गर्दा गर्व महसुस भएको छ”, सेफ सन्तोषले भने ।

नेपाली खानालाई विश्वमाझ चिनाउन गुणस्तरमा विषेश ध्यान दिँदै आफूले पनि अझै आवश्यक मिहिनेत र परिश्रम गर्दै अघि बढ्न आवश्यक भएको साहको भनाइ छ । साहले आगामी दिनमा पनि नेपाली परिकारलाई विश्वमाझ पुर्याउनको लागि थप मेहनत गर्ने बताए ।

म्यागजिनमा जनकपुरलाई धार्मिक, सांस्कृतिक र पाक–परम्पराले भरिपूर्ण शहरका रूपमा वर्णन गरिएको छ । जनकपुर प्रवेश गरेसँगै देखिने जानकी मन्दिरको भव्यता, त्यसमा देखिने कलाकारिताका साथै तीर्थयात्रुहरूको उपस्थितिलाई समेत उक्त म्यागजिनमा प्रशंसा गरिएको छ ।

म्यागजिनमा मिथिला भोजनलाई दक्षिण एसियाकै उत्कृष्ट स्थानीय परिकारका रुपमा प्रस्तुत गरिएको छ । यसअघि पनि लोन्ली प्लानेट अन्तराष्ट्रिय म्यागजिनमा जनकपुरधामलाई सांस्कृतिक, धार्मिक र खाद्य पर्यटनका लागि उदीयमान गन्तव्यको रूपमा सूचीवद्ध गरिएको थियो ।

सेफ सन्तोष साहले मिथिला थालीलाई जनकपुरमा मात्र सीमित राखेका छैनन् । ‘मिथिला थाली बाइ सन्तोष शाह’ नामबाट, ललितपुरको झम्सिखेल, काठमाडौँको नक्साल र गौशालामा भेज मिथिला थाली सञ्चालन गरिएको छ । यसका साथै सेफ सन्तोषले जनकुपुरको माछाको स्वाद चखाउनको लागि जनकपुर फिस हाउस भनेर पनि नक्सालमा सञ्चालन गरेका छन् । यस्तै अबको केही महिनामा विरगञ्जमा पनि मिथिला थालीको नयाँ रेस्टुटरेन्ट सञ्चालन गर्ने तयारी रहेको साह बताउँछन् ।