काठमाडौं।
७ औं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा ८–१० डिसेम्बरसम्म काठमाडौंमा आयोजित ‘मर्यादित महिनावारी सम्बन्धी सिकाइ सम्मेलन’ विश्वका २१ देशका १४० भन्दा बढी सहभागीको उपस्थितिमा सम्पन्न भएको छ। द मल्ल होटलमा सम्पन्न सम्मेलन दक्षिण एसियन मर्यादित महिनावारी अभियान (GSCDM) को नेतृत्वमा नेपाल राष्ट्रिय युवा परिषद् र MenEngage Alliance को सह–आयोजनामा भएको हो।
सम्मेलनमा सहभागीहरूले महिनावारीलाई जैविक प्रक्रिया मात्र नभई सामाजिक शक्ति संरचना, पितृसत्ता, बहिष्करण र हिंसासँग जोडिएको बहुआयामिक विषयका रूपमा बुझ्न आवश्यक रहेको निष्कर्ष निकाले। उनीहरूले शिक्षा, स्वास्थ्य, SRHR, STI/HIV, LGBTQIA+, अपांगता, जलवायु संकट तथा मानवतावादी अवस्थासँग महिनावारी–सम्बन्धी विभेदको प्रत्यक्ष सम्बन्ध रहेको तथ्य साझा गरे।
महिनावारी–सम्बन्धी विभेदलाई ‘हानिकारक परम्परागत अभ्यास’ रूपमा सम्बोधन गर्नुपर्ने निष्कर्ष
सम्मेलनले महिनावारीसम्बन्धी कुसंस्कार (lje]b) इतिहासदेखि उपेक्षित, गलत व्याख्या गरिएको र कम आँकिएको विषय भएकाले यसलाई ‘हानिकारक परम्परागत अभ्यास’ अन्तर्गत विशेष रूपले सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ।
सहभागीहरूले बालबालिका, महिनावारी नहुने व्यक्तिहरू, कलाको भूमिका, धार्मिक समुदाय तथा सञ्चारमाध्यमको संलग्नतालाई महिनावारी सम्बन्धी परिवर्तनका महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरे।
अन्तर्राष्ट्रिय प्रतिवद्धतासहित १२ बुँदे घोषणा पत्र सार्वजनिक
सम्मेलनले मानवअधिकारको सार्वभौमिक घोषणा (१९४८), CEDAW (१९७९), बालअधिकार सम्मेलन (१९८९), ICPD (१९९४), बीजिङ प्लेटफर्म (१९९५), SDG (२०१५), UNCRPD (२००६) तथा विश्व स्वास्थ्य संगठनको SRHR रणनीति लगायतका अन्तर्राष्ट्रिय प्रतिवद्धताहरूको आधारमा १२ बुँदे घोषणा पत्र जारी गरेको छ।

घोषणा पत्रमा समाविष्ट मुख्य बुँदाहरू :
महिनावारी–सम्बन्धी विभेदलाई यौन तथा लैंगिक हिंसाको कारण र परिणाम दुवैको रूपमा सम्बोधन गर्ने।
जीवनचक्र दृष्टिकोण र सशक्तिकरण केन्द्रित ‘समावेशी मर्यादित महिनावारी ढाँचा’ अपनाउने।
जनसंख्या वर्गीकरणलाई ‘महिनावारी हुने’ र ‘महिनावारी नहुने’ व्यक्तिमा पुनःसंरचना गर्ने प्रस्ताव।
बालअधिकार, अपांगता, LGBTQIA+, वृद्धवृद्धा अधिकार तथा कार्यस्थल–खेलकुदको नीतिमा महिनावारी–मैत्री ढाँचा समावेश गर्ने।
जलवायु संकट, महामारी र मानवतावादी अवस्थाका सबै तहमा महिनावारीलाई प्राथमिकतामा राख्ने।
WASH, महङ्गो महिनावारी उत्पादन, कर–प्रणालीमा ‘महिनावारीका सबै विषय पूरा’ दृष्टिकोण लागू गर्ने।
GBV विरुद्धको १६ दिने अभियानको १४औं दिनलाई “अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस”का रूपमा मान्यता दिन सरकार तथा राष्ट्रसंघलाई आग्रह।
SDG का कम्तीमा नौ लक्ष्यमा महिनावारीलाई केन्द्रमा राखेर २०३० को कार्यान्वयन सुदृढ गर्ने प्रतिवद्धता।
महिनावारीलाई मानवअधिकारका रूपमा स्वीकृत गर्न आह्वान
घोषणापत्रले महिनावारीलाई मानवअधिकार, गरिमा, समानता र समावेशी समाज निर्माणको आधारभूत मुद्दाका रूपमा स्वीकार गर्न सरकार, विकास साझेदार, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ।











प्रतिक्रिया