प्रतिनिधिसभाको निर्वाचन तयारी तीव्रसमानुपातिकतर्फ चुनाव लड्न ६७ दलको निवेदन

846
Shares

काठमाडौं ।

निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको तयारी तीव्र पारेका बेला समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

समानुपातिकतर्फ निर्वाचन लड्नका लागि मंगलवारसम्ममा निवेदन दिनुपर्ने कार्यतालिका रहेको छ । यस अवधिमा सो निवेदन प्राप्त भएको आयोगले जनाएको छ । कार्यतालिकाअनुसार पहिलो दिन ३३ दल र दोस्रो दिन ३४ दलले निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईका अनुसार मंगलवारसम्ममा प्राप्त निवदेनउपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गर्ने आयोगको कार्यतालिका रहेको छ । निर्वाचन आयोगले आगामी पुस १३ र १४ गते समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने समय तोकिएकोमा दल दर्ताको निवेदन दिनेमात्र त्यसमा सहभागी हुन पाउने छन् । प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूचीउपर दाबी विरोध र उजुरीको छानबिन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ ।

प्रतिनिधिसभाका कुल २ सय ७५ सदस्यमध्ये १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट निवार्चित हुनेछ ।
यसैबीच आयोगले मंगलवार समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगका सचिव महादेव पन्थलाई समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिएको छ । त्यसै गरी सहायक निर्वाचन अधिकृतका रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईलाई तोकिएको छ । समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कुल ४१ जना कर्मचारी कार्यरत रहनेछन् ।

समानुपातिक निर्वाचन प्रणालीका सबै कार्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने भएकाले सबै सरोकार भएकालाई सहज हुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । उहाँले सूत्रात्मक पद्दतिबाट राष्ट्रिय तथ्यांक कार्यालयसमेतको सहयोगमा कानुनबमोजिमका जातीय, भौगोलिक, लैंगिकलगायत समूह छुट्याएर प्रतिनिधि चयन गरिने जानकारी गराउनुभयो । समानुपातिकतर्फ निर्वाचन प्रणालीको सबै प्रक्रिया यही कार्यालयबाट सञ्चालन हुने आयोगले जनाएको छ ।

यसैबीच निर्वाचन प्रयोजनका १ सय १४ दल दर्ता गरेको र १ सय ७ निर्वाचन चिह्न कायम गरेको आयोगले जनाएको छ । १२ दलले छुट्टाछुट्टै पाँचवटा चिह्नबाट चुनाव लड्नेछन् । यी दलहरू संयुक्त रूपमा चुनाव चिह्न लिएर लड्नेछन् । १ सय २ वटाले दलले एक्लाएक्लै चुनाव चिह्न लिएर चुनावमा होमिने छन् । यसले गर्दा अबको निर्वाचनको मतपत्रमा १ सय ७ वटा निर्वाचन चिह्न समावेश हुने आयोगले जनाएको छ ।

पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीसँग मिलेर एउटै चिह्नमा चुनावमा प्रतिस्पर्धा गर्ने भएको छ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि साझा चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने छ ।
सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी पनि संयुक्त रूपमा चुनावी प्रतिस्पर्धा उत्रने तयारीमा छन् । त्यसै गरी, आम जनता पार्टी र जनादेश पार्टीले पनि निर्वाचनमा प्रतिस्पर्धाका लागि एउटै चुनाव चिह्नको माग गर्दै आयोगमा निवेदन दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) र नेपाल कम्युनिस्ट पार्टीले पनि एउटै निर्वाचन चिन्हमा चुनाव लड्ने गरी संयुक्त निवेदन दर्ता गराएका छन् ।

चुनावका लागि १ सय २० निवेदन परेकोमा १३ वटा खारेज भएको छ । आयोगले २०७९ को समानुपातिक निर्वाचनमा प्राप्त मतका आधारमा ११ दलको क्रमसंख्या तोकेको छ । यी ११ दलका क्रमसंख्या अघिल्लो चुनावमा प्राप्त मतकै आधारमा स्वचालित रूपमा निर्धारण गरिएको हो । आयोगले प्रदान गरेका चुनाव चिह्नहरूमा पहिलो नम्बरमा एमालेको सूर्य, दोस्रोमा नेपाली कांग्रेसको रूख, तेस्रोमा नेकपाको तारा र चौथोमा रास्वपाको घण्टी चुनाव चिह्न छन् । त्यसै गरी पाँचौंमा राप्रपाको हलो, छैटौंमा जसपाको ढल्केको छाता, सातौं नम्बरमा जनमत पार्टीको लाउडस्पिकर, आठांै नम्बरमा नागरिक उन्मुक्ति पार्टीको ढकिया, नौ नम्बरमा लोसपाको साइकल, दशौंमा नेपाल मजदुर किसान पार्टीको मादल र ११औंमा राष्ट्रिय जनमोर्चाको गिलास चिह्न राखिएको छ ।

१२औैं नम्बरदेखि मतपत्रमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका अन्य दलका चिह्न राखिएका छन् । सबैभन्दा पहिले १२ नम्बरमा देश विकास पार्टीको लौरो रहेको छ भने १३ नम्बरमा प्रगतिशील लोकतान्त्रिक पार्टीको खुलेको एकल आँखा रहेको छ । दर्ता भएका नयाँ चर्चित दलमा ३३ नम्बरमा जेन–जी आन्दोलनका खुट्टा गुमाएका राजेश पोर्तेल नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टीको बाँसुरी, ५१औं नम्बरमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको अँजुलीमा रहेको माटो, ५७औं नम्बरमा नेत्रबहादुर चन्द नेतृत्वको नेकपा (माओवादी) रहेका छन् ।

त्यस्तै, ६४ नम्बरमा अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको बलिरहेको बिजुलीको चिम, ९१ नम्बरमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेतृत्वको समुन्नत नेपाल पार्टीको हात मिलाएको महिला र पुरुष (समानता), १ सय नम्बरमा खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीको गोलाकारभित्र बूढीऔंला उठाएको लाइक आकृति र अन्तिम तथा १ सय ७ नम्बरमा जनता लोकतान्त्रिक पार्टी नेपालको भैंसी निर्वाचन चिह्न रहेको छ ।

जेन–जी आन्दोलनपछि नयाँ थपिएका २५ दलसहित आयोगमा दर्ता कायम भएका राजनीतिक दलको संख्या १ सय ४३ पुगेको थियो । त्यसमध्ये २९ राजनीतिक दलले निर्वाचनमा भाग लिने छैनन् । प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।