हेलम्बुमा भेटियो दुर्लभ सेतोमृग र रेडपाण्डा

–सेतो मृग संरक्षण गर्नेछौं डिभिजन वन कार्यालय सिन्धुपाल्चोक प्रमुख

4.04k
Shares

काठमाडौं ।

वन्यजन्तु र पंक्षीविज्ञको टोलीले हेलम्बुमा दुर्लभ सेतोमृग र रेडपाण्डा फेला पारेको छ । वन्यजन्तु फोटोग्राफर तथा पंक्षीविज्ञ सञ्जय था श्रेष्ठ, दीपक बुढाथोकी र मनिष महतोको टोलीले सेतोमृग र रेडपाण्डा फेला पारेको हो । रातोमृग प्रजातिको सेतोमृग फेला पार्नु ठृलो उपलब्धि भएको वन्जजन्तुविज्ञले जनाएका छन् । हेलम्बु गाउँपालिका–७ स्थित मागिङगोमा भेटिएको सेतोमृग अत्यन्तै दुर्लभ भएको वन्यजन्तुविज्ञको भनाइ छ ।

यसअघि काभ्रेमा पनि भेटिएको थियो । हेलम्बुमा पहिलोपटक भेटिएको सेतोमृग वयस्क वन्यजन्तु हो । ‘केही समयअघि रामेछाप कि सिन्धुपाल्चोकमा देखिएको यस प्रकारको मृग हेलम्बुमा फेला परेको हुनसक्छ’ –वन्यजन्तुविज्ञ प्रा. करनबहादुर शाहले भन्नुभयो । पहाडी क्षेत्रमा प्रायःजसो रतुवा मृग पाइन्छ । हेलम्बुमा दुर्लभ सेतोमृग पाइनु महत्वपूर्ण उपलब्धि हो । उहाँका अनुसार यो मृग करिब १०–१२ वर्षसम्म बाँच्न सक्छ ।

वन्यजन्तु र पंक्षीविज्ञ श्रेष्ठसहितको टोलीले लगातार तेस्रो दिनको मेहेनतपछि सेतोमृग र रेडपाण्डा फेला पारेको बताउनुभयो । श्रेष्ठले ३२ सय मिटर उचाइमा फेला परेको दुवै वन्यजन्तुलाई संरक्षण गर्नु स्थानीयको दायित्व भएको बताउनुभयो ।
‘हेलम्बुमा फेला परेको रतुवा प्रजातिको सेतो मृगको रङ बदलिएर जन्मिएको कारण सेतो देखिएको हो । अहिले सेतो देखेका छौं, यदि यो मृग पोथी रहेछ र फेरि सेतो बच्चा जन्मायो भने अति दुर्लभ मान्न सकिन्छ’ –पंक्षीविज्ञ शाहको भनाइ थियो ।

‘यसको आकारप्रकार रतुवा मृगसँग मिल्दोजुल्दो छ । तर, कहिलेकाहीँ यी जनावरको रङ बदलिन सक्छ, यस्तोलाई अल्बाइनो भनिन्छ जसमा बच्चाहरू सेतो भएका हुन्’ –शाहले भन्नुभयो । तैपनि हेलम्बुमा भेटिएको सेतो मृग दुर्लभ भएको उहाँको भनाइ थियो ।
वन्यजन्तु र पंक्षीविज्ञ श्रेष्ठले जनावरहरूमा यस्तो बिरलै हुने गरेको जानकारी दिँदै भन्नुभयो– ‘हामीले राजधानीबाट यति नजिक हेलम्बुमा सेतोमृग र रेडपाण्डा फेला पार्नु हामी भाग्यमानी हो ।’ श्रेष्ठले दर्जनौं नयाँ प्रजातिका पंक्षी पत्ता लगाइसक्नुभएको छ भने हेलम्बुमा नयाँ प्रजातिका पंक्षी र रेडपाण्डा खोजी गर्नेक्रममा सेतो मृग फेला परेको बताउनुभयो ।

‘हामीले यस्तो प्रकारको मृग पहिलोपटक फेला परेका हौं भन्दैनौ, तैपनि काठमाडौंबाट यति नजिक भेट्नु महत्वपूर्ण विषय हो । रेडपाण्डाको फोटो खिच्ने सिलसिलामा गएको श्रेष्ठको टोलीले ३ दिन लगाएर रेडपाण्डा भेटियो । २० गते बिहान ७ बजे बीचबाटोमा चरा थुप्रै थिए । मुनाल पनि थियो । तर, लामो प्रयासपछि रेडपाण्डा र सेतोमृग फेला पा¥यौं’ –उहाँले भन्नुभयो । स्थानीय होटल व्यवसायी कालु लामाका अनुसार ४०–५० को संख्यामा रेडपाण्डा रहेको बताउनुभएको थियो ।

लामाले वन्यजन्तु फोटोग्राफर तथा पंक्षीविज्ञ श्रेष्ठसँग कुरा गर्दै आफूले पनि पहिलोपटक सेतो मृग रहेको जानकारी पाएको बताउनुभयो । वन्यजन्तु फोटोग्राफर श्रेष्ठका अनुसार सेतो मृग जेनेटिक डिफेटको कारण भएको दुर्लभ वन्यजन्तु हो । डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका डिभिजन प्रमुख मदन कँडेलले केही मात्रामा रेडपाण्डा रहेको बताए पनि दुर्लभ सेतो मृगको बारेमा जानकारी नभएको उल्लेख गर्नुभयो ।