गोलन्जोर गाउँपालिकामा जुनार प्रवर्धन मेला सुरु, बागमती प्रदेशका कृषि मन्त्री पौडेलले गरे उद्घाटन

जुनारको पहिचान, जुनार क्षेत्रमा पक्की सडक निर्माणमा सरोकारवालाको ध्यानाकर्षण गराउने उद्देश्य 

0
Shares

सिन्धुली। 

सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ माझकुभिन्डेमा आजदेखि जुनार प्रवर्धन मेला सुरु भएको छ । “गोलन्जोरको सान, जुनार हाम्रो पहिचान” भन्ने नारासहित गोलन्जोर गाउँपालिकाले आयोजना गरेको जुनार प्रवर्धन मेलाको बागमती प्रदेश सरकारका कृषि तथा पशु विकास मन्त्री मधु सुदन पौडेलले उद्घाटन गरेका हुन् ।

 जुनारको पहिचान, प्रचार–प्रसार, संरक्षण, जुनार उद्योग, जुनार क्षेत्रमा पक्की सडक लगाएत बनाउन प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउन गाउँपालिकाले जुनार प्रवर्धन मेला आयोजना गरेको हो । जुनार मेला मंसिर २५ गते सम्म माझकुभिन्डेमा संचालन हुनेछ । मेला दोस्रो दिन बुधवार कृषि विज्ञ र कृषकहरू बिच जुनारमा देखिएको रोगकिरा नियन्त्रणको उपाय, उद्योगको संम्भावना लगायतको बिषयमा सवाल जवाफ हुने गोलन्जोर गाउँपालिकाले जनाएको छ । 

जुनार प्रवर्धन मेलाको उद्घाटन गर्दै कृषि तथा पशु विकास मन्त्री पौडेलले जुनारको उत्पादन बढाउन, बजारीकरण गर्न, रोक किरा नियन्त्रणको लागि आवश्यक पर्ने सबै सहयोग गर्न मन्त्रालय तयार गरेको बताए । कृषि एम्बुलेन्स खरिद, सितभण्डार निर्माण, जुनार विज्ञ सहितको प्राविधिक टोलीको व्यवस्थापन लगायतका गाउँपालिकाले राखेको सकारात्मक मागहरु पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । 

मेलालाई सम्बोधन गर्दै उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले जुनारसँग सम्बन्धित उद्योग स्थापनाको लागि मन्त्रालयले पहल थाल्ने प्रतिबद्धता जनाए । 

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशसभा सदस्य गंगा नारायण श्रेष्ठ, सुस्पा भुजेल, राम कुमार पहाडी, जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान लगायतका वक्ताहरुले जुनारको बजारीकरणको लागि सडक अपरिहार्य भएकाले तत्काल बजेट व्यवस्था गर्न माग राखेका छन् । जुनार क्षेत्र हुँदै जाने खनियाँखर्क जौबारी सडकलाई बहुबर्षिय बजेट व्यवस्था गरेर पक्की बनाउन उनीहरुले माग गरेका हुन् । 

कार्यक्रममा बोल्दै गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर राज बरालले जुनार क्षेत्रका लागि सडक गाडी गुड्ने सडक बनाउन पटक पटक बजेट माग गर्दा कुनै तहको सरकारले वास्ता नगरेको गुनासो गरे । उनले प्रदेश सरकारसँग धेरै अपेक्षा नगरेको बताउदै पक्की सडक निर्माण, कृषि एम्बुलेन्स, सितभण्डार निर्माणमा तत्काल पहल लिन कृषिमन्त्रीलाई आग्रह गरे । स्वागत मन्तव्यका क्रममा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने(पुकार)ले पनि गोलन्जोर र सिन्धुलीको पहिचान बनेको जुनारको संरक्षण, उत्पादन वृद्धि, बजारीकरणको लागि सहज सडक निर्माणमा सरोकारवाला निकायहरुले आवश्यक सहयोग गर्ने अपेक्षा राखे । 

मौलिक फल जुनार सिन्धुलीको गोलन्जोर गाउँपालिकाको डुडभन्ज्यांङ्ग, वितिजोर, भुवनेश्वरी, रतनचुरा, बाशेश्वर लगायतका क्षेत्रमा मुख्य रुपमा उत्पादन हुन्छ । कमलामाई नगरपालिकाको वडा नम्बर ३ जलकन्या, बाटो निगाले, तीनपाटन गाउँपालिकाको तोश्रमखोला, सुनकोसी गाउँपालिकाको मझुवामा पनि केही मात्रामा जुनार उत्पादन हुँदै आएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको तथ्याङ्कअनुसार जिल्लामा एक हजार ३१८ हेक्टरभन्दा बढीमा जुनार र सुन्तला खेती हुँदै आएको  छ।  त्यसमध्ये ७९४ हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएका बोटमा जुनार उत्पादन हुदैआएको छ । जिल्लामा प्रत्येक बर्ष करिव १० हजार मेट्रिक टन जुनार उत्पादन हुँदै आएको छ । जुनारले सिन्धुलीका किसानहरूको आयआर्जन वृद्धि गर्न महत्त्वपूर्ण टेवा पु¥याएको छ । 

सिन्धुली जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालयको रुपमा जुनार जोन २०७३ मा स्थापना भएको थियो । भने २०७४-०७५ मा जुनार सुपरजोनमा स्तर उन्नति भई जुनारको क्षेत्र विस्तार, कृषकहरुलाई प्राविधिक तालिम, जुनारको व्यवसायीकरण, यान्त्रिकीकरण, सिँचाई, रोगकिरा नियन्त्रण लगायतको क्षेत्रमा काम गर्दै आएको छ ।