डब्लुएचओको दोस्रो विश्वव्यापी परम्परागत औषधि शिखर सम्मेलन  डिसेम्बरमा भारतमा हुने

१ सय भन्दा बढी देशका नीतिनिर्माता, वैज्ञानिक र विशेषज्ञ सहभागी हुने


काठमाडौं। 

परम्परागत, एकीकृत र आदिवासी औषधि प्रणालीलाई विश्व स्वास्थ्य सेवा संरचनामा सुरक्षित र प्रमाण–आधारित रूपमा समाहित गर्ने उद्देश्यसहित दोस्रो डब्लुएचओ विश्वव्यापी परम्परागत औषधि शिखर सम्मेलन डिसेम्बर १७ देखि १९, २०२५ सम्म भारत मण्डपम कन्वेन्सन सेन्टर, नयाँ दिल्लीमा आयोजना हुने भएको छ । 

भारत सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयोजनमा हाइब्रिड मोडालिटीमा हुने यो वैश्विक सम्मेलनमा १ सय भन्दा बढी देशका नीतिनिर्माता, अनुसन्धानकर्ता, वैज्ञानिक, चिकित्सक, अभ्यासकर्ता तथा आदिवासी समुदायका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको डब्लुएचओले जनाएको छ ।

प्रत्यक्ष रूपमा ८ सय भन्दा बढी सहभागीहरू उपस्थित हुने र अनलाइन प्लेटफर्ममार्फत करिब ५ हजार जनाले सहभागीता जनाउने अनुमान गरिएको छ । २०२३ मा आयोजित पहिलो डब्लुएचओ परम्परागत औषधि शिखर सम्मेलनपछि गरिएका प्रगतिलाई समीक्षा गर्दै आगामी दशकका लागि विश्वव्यापी परम्परागत औषधि एजेन्डा अघि बढाउने उद्देश्य यो वर्षको प्रमुख फोकस हुनेछ ।

यसै सन्दर्भमा, डिसेम्बर ९ (मंगलबार) का दिन एक विश्वव्यापी भर्चुअल मिडिया ब्रीफिङ आयोजना गरिएको जनाएको छ ।  जसले यो क्षेत्रमा भएका पछिल्ला उपलब्धि, चुनौती र आगामी नीतिगत दिशाबारे अन्तर्राष्ट्रिय मिडियालाई अवगत गराएको छ ।

यस वर्षको सम्मेलनमा मे २०२५ मा ७८औं विश्व स्वास्थ्य सभाले पारित गरेको ‘विश्वव्यापी परम्परागत औषधि रणनीति २०२५–२०३४’ लाई व्यवहारिक रूपमा अगाडि बढाउने उद्देश्यसहित महत्त्वपूर्ण वैज्ञानिक, नीतिगत र प्राविधिक पहलहरू प्रस्तुत गरिनेछन् ।

मुख्य आकर्षण

१.६ मिलियनभन्दा बढी वैज्ञानिक रेकर्डहरू समेटिएको डब्लुएचओ परम्परागत चिकित्सा ग्लोबल लाइब्रेरी (टीएम) को औपचारिक सार्वजनिक घोषणा

टीएम क्षेत्रमा अनुसन्धानलाई मार्गदर्शन गर्ने ‘विश्वव्यापी अनुसन्धान प्राथमिकता रोडम्याप’ को विमोचन

१,१०० भन्दा बढी प्रस्तावहरूमध्येबाट छनोट गरिएका २१ उत्कृष्ट ‘हेल्थ हेरीटेज इनोभेसनको घोषणा

विभिन्न देश सरकार तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूबाट नीति, लगानी र अनुसन्धानका प्रतिबद्धता

स्वास्थ्य सम्पदा नवप्रवर्तनमा अनुसन्धान, नियमन र लगानी क्षमता अभिवृद्धि गर्न ‘विश्वव्यापी कन्सोर्टियम’ स्थापना गर्न आग्रह रहेका छन् । 

डब्लुएचओका अनुसार परम्परागत औषधि विश्वका १७० भन्दा बढी देशहरूमा प्रयोग गरिन्छ । केही देशमा यसको पहुँच ७०–९०% सम्म छ । अरबौँ मानिसहरूको पहिलो तथा नजिकको स्वास्थ्य सेवा स्रोत टीएम नै भएको तथ्यले यसको महत्व झनै बढाएको छ ।

साथै, टीएम आधारित सेवा र उत्पादनप्रति विश्वव्यापी माग तीव्र रूपमा बढिरहेको छ । टीएम समाहित ‘कल्याण अर्थतन्त्र’ को मूल्य २०२२ मा ५.६ ट्रिलियन अमेरिकी डलर पुगेको थियो भने २०२७ सम्म ८.५ ट्रिलियन डलर पुग्ने अनुमान छ । गैर–संक्रामक रोगको बढ्दो चुनौती, मानसिक स्वास्थ्य समस्या, स्वास्थ्य असमानता र सीमित स्वास्थ्य पहुँच भएका ४.६ अर्ब मानिसहरूको अवस्थालाई ध्यानमा राख्दा सुरक्षित, प्रभावकारी र प्रमाण–आधारित टीएम एक महत्त्वपूर्ण विकल्पका रूपमा देखिएको डब्लुएचओ बताउँछ ।

तर, टीएम क्षेत्रमा वैज्ञानिक प्रमाण उत्पादन र अनुसन्धानलाई विश्वव्यापी रूपमा अझै ठूलो चुनौती मानिन्छ । विश्व स्वास्थ्य अनुसन्धान कोषको १% भन्दा कम टीएम क्षेत्रमा विनियोजन हुने भएकाले अनुसन्धान, प्रमाण उत्पादन र नियमनमा ठूलो खाडल छ । यस खाडललाई पुल गर्न डब्लुएचओले विश्वव्यापी मापदण्ड विकास, सुरक्षा–प्रभावकारिता मूल्यांकन र प्रमाण–आधारित एकीकरणका दिशामा काम गर्दै आएको छ ।

कृत्रिम बुद्धिमत्ता (एआइ), डिजिटल प्लेटफर्म, जीनोमिक्स, मेटाबोलोमिक्स जस्ता आधुनिक प्रविधिले टीएम अनुसन्धान र प्रमाणीकरण प्रक्रियामा नयाँ आयाम थपेका छन् । टीएममा समावेश टीएमजीएल जीपीटी जस्तो टीएम अनुरूप एआई मोडेलले प्रमाण–आधारित डेटा पहुँच र विश्लेषणलाई झनै तीव्र बनाउने अपेक्षा गरिएको छ ।

शिखर सम्मेलनमा प्रविधि–अनुकूल अनुसन्धान मोडेल, नयाँ सहकार्य, कन्सोर्टियम गठन र विश्वव्यापी टीएम प्रमाण प्रणालीलाई एकीकृत गर्ने दीर्घकालीन रणनीति प्रमुख एजेन्डा बन्नेछ ।

भर्चुअल मिडिया ब्रीफिङ, विशेषज्ञ अन्तर्वार्ता, मिडिया किट र प्रत्यक्ष वेबकास्ट सुविधा उपलब्ध हुने डब्लुएचओले जनाएको छ । अनलाइन दर्ता १० डिसेम्बरसम्म खुला रहेको छ, भने भौतिक उपस्थितिका लागि भारत सरकारद्वारा मान्यता अनिवार्य रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।