काठमाडौँ।
सरकारले मानसिक स्वास्थ्यसम्बन्धी सार्वजनिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले तीन महिने राष्ट्रिय मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्ने भएको छ । ‘स्वस्थ मन, स्वस्थ जीवन’ नारासहित यो अभियान आगामी डिसेम्बर १० देखि मार्च १४ सम्म देशभर सञ्चालन गरिने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक डा.राधिका थपलियाले जानकारी गराइन् ।
मङ्गलवार आयोजित जानकारीमूलक कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र (एनएचईआईसीसी) की निर्देशक डा. राधिका थपलियाले देशभर बढ्दो मानसिक समस्याको स्थितिले चिन्ता बढाएको बताइन् । उनका अनुसार, बदलिँदो जीवनशैली, प्रविधिको अत्यधिक प्रयोग, सामाजिक दबाब तथा नयाँ पुस्तामा देखिँदै आएको मानसिक चुनौतीको प्रभाव व्यक्तिहरूमा प्रत्यक्षरूपमा देखिन थालेको छ । उनी भन्छिन्, “मानसिक स्वास्थ्यबारे अझै पनि पर्याप्त बुझाइ र खुलापन नहुँदा धेरै समस्या पहिचान र व्यवस्थापनको प्रक्रियामा ढिलाइ भइरहेको छ ।”
डा. थपलियाका अनुसार, अभियानको मुख्य उद्देश्य मानसिक स्वास्थ्यका बारेमा समाजमा कायम रहेका भ्रम हटाउने, समस्यालाई खुलेर व्यक्त गर्न सक्ने वातावरण बनाउने तथा प्रारम्भिक चरणमै सहायता र परामर्श पहुँचयोग्य बनाउने हो । उनले मानसिक स्वास्थ्य सेवाप्रति अभावजन्य धारणा हटाउन सामुदायिकस्तरमै पहुँच विस्तार गर्नु आवश्यक रहेको उल्लेख गरिन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभियानलाई विद्यालयदेखि समुदायसम्म विस्तार गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माले बुधबार अभियानको औपचारिक सुरुवात गर्दै विद्यालय नर्स, स्थानीय स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूलाई परिचालन गरी विद्यालयस्तरमै मानसिक स्वास्थ्य शिक्षा र संवाद कार्यक्रम सञ्चालन गरिने बताइन् ।उनका अनुसार, अभियानमा किशोर–किशोरी लक्षित गतिविधिलाई प्राथमिकता दिइनेछ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालका मनोचिकित्सक डा. केदार मरहट्ठाले कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी प्रस्तुति दिँदै समाजमा यसको बारेमा गम्भीर रूपमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । उनले मानसिक रूपमा स्वस्थ हुनु भनेको “दैनिक जीवनमा आउने चुनौती तथा दबाबलाई सामना गर्ने क्षमता” हो भन्दै, यो क्षमता घटेमा व्यक्तिहरूलाई विभिन्न प्रकारका मानसिक समस्या देखिन सक्ने बताए । सोही अवसरमा उनले मानसिक समस्या भएका बिरामीलाई चिकित्सकले पनि अपहेलना गर्ने र समाजले पनि अपहेलना गर्ने गरेको बताए ।
डा. मरहट्ठाले समाजमा अझै पनि मानसिक स्वास्थ्यलाई संकुचित दृष्टिकोणबाट हेरिने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै, यसले समस्याको पहिचान र सहयोग पहुँचलाई बाधा पु¥याइरहेको बताए । “मानसिक स्वास्थ्य केवल स्वास्थ्य क्षेत्रकै मात्र विषय होइन,” उनले भने, “यो शिक्षा, परिवार, समुदाय र रोजगार जस्ता सबै क्षेत्रमा समान रूपमा जोडिएको विषय हो ।” डब्लुएचओका तथ्याङ्कअनुसार हरेक १० जनामध्ये करिब १ जनालाई कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या देखिने अनुमान छ ।

त्यस्तै ४० जनाको मृत्युमा १ जनामा मानसिक समस्या रहेको पाईएको स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अनुसन्धान रिपोर्टमा उललेख गरिएको जानकारी गराए । डा. मरहट्ठाका अनुसार विश्वको रेकर्डमा १ सय जनाको मृत्युमा १ जनामा यस्तो समस्या देखिन्छ । नेपालमा गर्भवती, सुत्केरी महिलामा बढी मानसिक समस्या देखिन्छ । त्यसैगरि युवा, बालबालिकामा पनि बढ्दो रुपमा मानसिक समस्या देखिएको उनले जानकारी गराए ।
कार्यक्रममा केन्द्रका जनस्वास्थ्य प्रशासक डा. उपेन्द्र ढुङ्गानाले अभियानले समुदायस्तरमा सचेतना वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनका अनुसार, अभियानको मुख्य लक्ष्य समूह किशोर–किशोरी, अभिभावक, शिक्षक तथा आम नागरिक रहनेछन् ।
अभियानअन्तर्गत मानसिक स्वास्थ्यसम्बन्धी परामर्श, सहायक सामग्री, विद्यालय–समुदायमा जागरण कार्यक्रम, रेडियो–टेलिभिजन सन्देश र सामाजिक सञ्जालमार्फत जानकारी प्रवाह गरिनेछ । साथै, मानसिक समस्याको सामना गरिरहेका व्यक्तिहरूलाई तत्काल सहयोग पु¥याउन ११६६ हेल्पलाइन सेवा सक्रिय रूपमा सञ्चालनमा रहेको जानकारी कार्यक्रममार्फत गराइएको छ ।
सरकारले समुदायमा सकारात्मक मानसिक स्वास्थ्य वातावरण निर्माण गर्न दीर्घकालीन रणनीति आवश्यक रहेको भन्दै यस अभियानलाई आगामी वर्षहरूमा थप विस्तार गर्ने संकेत पनि दिएको छ ।
नेपालमा विशेष गरि आर्थिक, सामाजिक, वातावरणीय प्रभाव, शिक्षा, स्वास्थ्य सेवा र खुलेर आफ्ना कुरा राख्न नसक्नु जस्ता समस्याका कारण मानसिक समस्या बढ्दो रहेको र मानसिक समस्या भन्नासाथै हेलाको दृष्टिले हेरिने हुनाले समस्या लुकाउन तर्फ मानिस लाग्ने गरेको सहभागीहरुको ठम्याई रहेको छ । सोही अवसरमा जनस्वास्थ्य कार्यालय काठमाडौंका वरिष्ठ जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले समस्याको समाधानका लागि खुलेर कुरा गर्ने र समस्याको समाधान गर्ने वातावरणका लागि सरकारको प्राथमिकतामा मानसिक स्वास्थ्य पर्नुपर्छ भने ।











प्रतिक्रिया