स्याङ्जा।
स्याङ्जा सदरमुकाम पुतलीबजारमा अवस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयले यस वर्ष पनि भव्य रुपमा विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ । पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रदर्शनीमा विद्यालयका तीन तहका ७२ समूहले आफ्ना सिर्जनात्मक आविष्कार तथा वैज्ञानिक अवधारणाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रम संयोजक तथा विज्ञान विषय प्रमुख नवराज सुवेदीका अनुसार आधारभूत तह (कक्षा १–५) बाट ३०, आधारभूत तह (कक्षा ६–८) बाट १८ र माध्यमिक तह (कक्षा ९–१२) बाट २४ समूह गरी कूल ७२ समूहले भाग लिए । विद्यार्थीहरुले विज्ञान, कम्प्युटर, इन्जिनियरिङ तथा दैनिकीमा उपयोग हुने नयाँ प्रविधिमाथि अनुसन्धान गरी आफ्नै हातले तयार पारेका मोडल, उपकरण तथा सफ्टवेयर प्रदर्शन गरेका थिए ।
प्रदर्शनीमा विद्युत् उत्पादनको वैकल्पिक माध्यम, स्मार्ट सिंचाइ प्रणाली, वातावरण संरक्षणसम्बन्धी मोडल, रोबोटिक्स, कम्प्युटर सफ्टवेयर, जल–ऊर्जा सन्तुलन, इन्जिनियरिङ मोडल तथा वैज्ञानिक सिद्धान्तमा आधारित विभिन्न प्रयोगहरु अवलोकनार्थ राखिएका थिए । विद्यार्थीहरुले आफ्ना मोडल कसरी बनाइयो, यसको उद्देश्य के हो र यसले समाजमा कस्तो प्रभाव पार्न सक्छ भन्नेबारे विस्तृत व्याख्या गर्दै दर्शकहरुको जिज्ञासालाई समेत सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख तुलसीराम रेग्मीले विज्ञान प्रदर्शनी अत्यन्तै सार्थक र समयानुकूल भएको बताए । उनले भने, “यस्ता कार्यक्रमले विद्यार्थीमा उत्सुकता बढाउँछ, अनुसन्धान र खोजीमुखी मनोवृत्ति विकास गर्छ र शिक्षण–सिकाइ प्रक्रियालाई अझ सहज बनाउँछ ।” रेग्मीले विद्यालयमा विकसित हुँदै गएको वैज्ञानिक सोच तथा प्राविधिक सीपले भविष्यमा स्थानीय तहको शैक्षिक विकासमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक प्रेम प्रसाद पौडेलले प्रदर्शनीमा देखिएको विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता प्रति खुशी व्यक्त गरे । उनले शिक्षक, अभिभावक र सम्पूर्ण सहभागी समूहप्रति धन्यवाद ज्ञापन गर्दै विद्यालयले सृजनशीलता र अनुसन्धानमा आधारित शिक्षा प्रदान गर्न निरन्तर तत्पर रहने बताए । यसैगरी नागरिक समाज स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्माले शुभकामना मन्तव्य दिँदै विज्ञान प्रदर्शनीजस्ता कार्यक्रमले विद्यार्थीमा व्यवहारिक ज्ञानको विकास गर्न ठूलो भूमिका खेल्ने बताए । उनले यस्ता गतिविधिहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
प्रदर्शनीमा विभिन्न नयाँ प्रविधि समावेश गरिएका सामग्रीहरुमध्ये कक्षा ९ का प्रशान्त यादव र कक्षा १० का शशिक दोरङाले विद्यालयमा प्रयोग हुनसक्ने कम्प्युटर सफ्टवेयर निर्माण गरी प्रदर्शन गरेका थिए । उपस्थित अभिभावक तथा शिक्षकहरुले विद्यार्थी स्तरमै यस्तो उपयोगी सफ्टवेयर निर्माण हुन थालेकोमा उत्साह व्यक्त गरेका थिए । प्रदर्शनी अवलोकन गर्न विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी तथा नगरपालिका क्षेत्रका अन्य विद्यालयका प्रतिनिधिहरुको समेत व्यापक उपस्थिति थियो । सहभागिता र अवलोकनकर्ताको भीडले कार्यक्रमलाई उत्साहपूर्ण तथा जीवन्त बनाएको विद्यालयले जनाएको छ ।
विज्ञान तथा प्रविधिको द्रुत विकास भइरहेका बेला विद्यालय तहमै यस्ता प्रदर्शनीहरुले विद्यार्थीमा अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक सोचलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयले निरन्तरता दिएर सञ्चालन गर्दै आएको यो कार्यक्रम यस वर्ष पनि सफल र प्रभावकारी रुपमा सम्पन्न भएको विद्यालय परिवारले जनाएको छ । यसले भविष्यमा पनि विद्यार्थीलाई विज्ञानप्रतिको आकर्षण बढाउँदै नयाँ आविष्कार र प्रयोगतर्फ प्रेरित गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।











प्रतिक्रिया