ललितपुर।
लागूऔषध दुरुपयोग नियन्त्रण र बढ्दो सवारी दुर्घटना न्यूनीकरणका विषयमा सचेतना जगाउने उद्देश्यले महालक्ष्मीस्थानबाट अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।
महानगरीय प्रहरी प्रभाग लगनखेलको आयोजना र ललितपुर महानगरपालिका–५, ६, १२ र १९ को सहकार्यमा सो कार्यक्रम भएको थियो। महानगरपालिका– ५ का वडाअध्यक्ष विकासमान श्रेष्ठको सभापतित्वमा भएको सो समारोहमा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटी, प्रहरी उपरीक्षक चक्रराज जोशी, वडा नं ६ का अध्यक्ष रुपेन्द्रराज शाक्य, १९ का राजेन्द्र महर्जन लगायतले बोलेका थिए ।
अन्तरक्रियामा सहभागीहरूले समुदाय–प्रहरी साझेदारीलाई बलियो बनाउँदै युवा तथा विद्यार्थीलाई लागूऔषधबाट जोगाउने उपाय, ट्राफिक शिस्त, सुरक्षित सडक प्रयोग तथा दुर्घटना रोकथामका व्यवहारिक उपायहरूबारे अनुभव र सुझाव आदान–प्रदान गरेका थिए।
कार्यक्रमले समुदायमा प्रहरीसँगको सहकार्य सुदृढ हुने र लागूऔषध नियन्त्रण तथा सवारी दुर्घटना न्यूनीकरणमा जनचेतना थप प्रभावकारी रूपमा फैलिने अपेक्षा गरिएको वडा नं ५ का वडाअध्यक्ष श्रेष्ठले बताए ।
सो कार्यक्रममा नगर प्रहरी प्रतिनिधि, जिल्ला ट्राफिक प्रमुख, विभिन्न संघ–संस्था, टोल सुधार समिति, विद्यालय–कलेजका प्रमुख, व्यवसायी, महिला समूह तथा स्थानीयवासी गरी १ सय ६० जनाको सक्रिय सहभागिता रहेको थियो।











प्रतिक्रिया