इभीको विस्तारले सयौँ मेकानिक बेरोजगार बन्दै, जिफन्ट अध्यक्षको चिन्ता


काठमाडौं । 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले विद्युतीय सवारीसाधन (इभी) को बढ्दो प्रयोगका कारण इन्धनबाट चल्ने गाडीहरू विस्थापित हुन थालेपछि सयौँ मेकानिक प्रभावित भइरहेको बताउनुभएको छ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आयोजित ‘नेपालमा जलवायु परिवर्तन, श्रम बजारमा प्रभाव र न्यायोचित रुपान्तरण’ विषयक गोष्ठीमा बोल्दै अध्यक्ष श्रेष्ठले इभीको विस्तारसँगै पेट्रोलियम आधारित सवारीसाधनमा निर्भर मेकानिकहरू क्रमशः बेरोजगार बन्न थालेको चिन्ता व्यक्त गर्नुभयो।

श्रेष्ठका अनुसार इभी अघि पेट्रोल–डिजेलले चल्ने गाडीहरूको मर्मतसम्भारमा ठूलो संख्यामा मेकानिक संलग्न थिए। तर विद्युतीय सवारीले ती गाडीहरूलाई प्रतिस्थापन गर्न थालेपछि धेरै मेकानिकलाई रोजगारीको संकट देखिएको उहाँको भनाइ छ। उहाँले श्रमिकको जीविका सुरक्षित हुने गरी रूपान्तरण प्रक्रियामा राज्य र सरोकारधारी सबैको सहकार्य आवश्यक रहेको पनि उल्लेख गर्नुभएको छ।