काठमाडौँ ।
सार्क चार्टर दिवसका अवसरमा प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्दै अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने आवश्यकता रहेको बताएकी छन्। शुभकामना सन्देशमार्फत उनले साझा उद्देश्यमा एकताबद्ध भई क्षेत्रीय चुनौतीहरूको सामना गर्न र जनताको आकांक्षा पूरा गर्न सदस्य राष्ट्रहरूलाई आह्वान गरिन्।
कार्कीले विगत चार दशकमा सार्कले आपसी समझदारी, पारस्परिक विश्वास र जीवनस्तर सुधारका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै खाद्य तथा ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विभेद र गरिबी न्यूनीकरणजस्ता चुनौती समाधानमा सामूहिक आत्मनिर्भरता आवश्यक रहेको बताइन्।
सार्कका वर्तमान अध्यक्षका रूपमा नेपालले मैत्रीपूर्ण सहकार्य र सहमतिको आधारमा सबै सदस्य राष्ट्रसँग मिलेर काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै उनले संयुक्त प्रयासले क्षेत्रका जनताका लागि ठोस लाभ दिलाउन सकिने विश्वास व्यक्त गरिन्। सार्कको स्थापना १९८५ डिसेम्बर ८ मा ढाकामा भएको हो र हालसम्म १८ शिखर सम्मेलन सम्पन्न भइसकेका छन्।











प्रतिक्रिया