इन्नोभेट टु जिरो केस च्यालेन्ज’मार्फत खुल्ला दिसामुक्त नेपाल निर्माणको पहल


काठमाडौँ ।

फ्रस्ट एण्ड सुलिभान र नेप्लिज युथ इन्टप्रेनियर्स फोरम (एनवाईईएफ)को संयुक्त आयोजनामा खुल्ला दिसामुक्त नेपाल निर्माणका लागि एउटा खाका तयार गर्न “इन्नोभेट टु जिरो केस च्यालेन्ज” आयोजना गरिएको छ । १८ जुलाई २०१८ बाट यस संस्करणको कार्यक्रमको नामांकन बन्द गरिएको छ ।

सरकारको खुल्ला दिसामुक्त अभियानलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न र अघि बढाउनका लागि फ्रस्ट एण्ड सुलिभान र एनवाईईएफले २८ जुनमा “केस च्यालेन्ज” घोषणा गरेका हुन् । यस पहलले देशभर फैलिएको खुल्ला शौचको समस्यालाई अन्त्य गर्दै समग्र स्वच्छता सुधारलाई तीव्र बनाउने लक्ष्य राखेको छ । २०१५ को भूकम्पपछि देखापरेको जोखिम झन् बढेकाले २०१७ भित्र “सबैका लागि स्वच्छता” को लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण बनेको थियो । यही चुनौती समाधान गर्न युवालाई डिजिटल समाधानका माध्यमबाट नवप्रवर्तनशील सोच विकास गर्न प्रोत्साहित गर्नु यस च्यालेन्जको मुख्य उद्देश्य हो ।

फ्रस्ट एण्ड सुलिभानका वरिष्ठ साझेदार तथा एपीएसी (ए–पी–ए–सी) क्षेत्रका व्यवस्थापकीय निर्देशक मनोज मेननका अनुसार, आजको डिजिटल युगमा गुगल, अमेजोन, फेसबुक र उबर जस्ता कम्पनीले अपनाएको नवप्रवर्तनशील (इन्नोभेटिभ) मोडलबाट प्रेरणा लिएर समाजका गम्भीर समस्या समाधान गर्न सकिनेछ। उनका अनुसार प्रभावकारी समाधानका लागि डिजिटल प्रविधिको अधिकतम प्रयोग आवश्यक छ ।

सहभागीहरूले डिजिटल प्रविधिको उपयोगबाट खुल्ला शौचमा तीव्र कमी ल्याउने, नेपालको एसडीजी (एस–डी–जी) मा नागरिक सहभागिता बढाउने र मानिसहरू पुनः खुल्ला शौचमा नफर्किने सुनिश्चितता हुने समाधान प्रस्तुत गर्नु पर्नेछ। “केस च्यालेन्ज” को नामावली १८ जुलाईसम्म मात्र लिइनेछ। २५ जुलाईमा ज्यूरी तथा विचारक समूहबाट मूल्यांकन हुनेछ । मूल्यांकन विश्लेषणको गुणवत्ता, प्रस्तुतीकरणको स्पष्टता, डिजिटल प्रविधिको प्रयोग, समाधानमा नवीनता, कार्यान्वयनयोग्यता र भाषागत पूर्णतालाई आधार बनाएर गरिनेछ ।

ज्यूरीले उत्कृष्ट ३ टोली छनोट गरी २९ जुलाईमा फाइनल घोषणा गर्नेछ । छनोट भएका टोलीहरूले फ्रस्ट एण्ड सुलिभानका सल्लाहकारबाट कोचिङ प्राप्त गर्नेछन्। शीर्ष ३ प्रतिस्पर्धीलाई आगष्ट ३ मा “डिजिटल नेपाल कार्यक्रम” मा सम्मानित गरिनेछ, जसले उनीहरूलाई सरकारी, गैरसरकारी तथा कार्यक्रमका अन्य साझेदारहरूसमक्ष पहिचान दिलाउनेछ ।

फ्रस्ट एण्ड सुलिभान विश्वभरका सार्वजनिक तथा निजी क्षेत्रका संस्थालाई विकास रणनीति बनाउन सहयोग पु¥याउने विकास साझेदार संस्था हो। ५० वर्षभन्दा बढी अनुभवसहित यस संस्थाले विश्वका १,००० भन्दा बढी कम्पनीहरूलाई नवप्रवर्तन र विकासका अवसर पहिचानमा सहयोग गरेको छ ।

नेप्लिज युथ इन्टप्रेनियर्स फोरम (एनवाईईएफ) नेपालका युवा उद्यमीहरूको शीर्ष निकाय हो । सदस्यता–आधारित गैर–नाफामुखी संस्थाको रूपमा यसले नेपाली युवाबीच उद्यमशीलता विकास, विचार आदानप्रदान, सिकाइ, तालिम तथा पैरवीमार्फत नयाँ उद्यमी सिर्जना गर्ने उद्देश्यले कार्य गर्दै आएको छ ।