वादमा होइन, बोधमा बाँचौँ

5.08k
Shares

संसारमा प्रत्येक युगले आ–आफ्नै वैचारिक धार, सिद्धान्त र वादहरू जन्माएका छन्– माक्र्सवाद, लेनिनवाद, समाजवाद, माओवाद, पूँजीवाद, गान्धीवाद, राष्ट्रवाद, नारीवाद, अस्तित्ववाद, धर्मनिरपेक्षवाद र अरू थुप्रै वैचारिक वादहरू । यी विचारहरू केवल वैयक्तिक, सामाजिक, भौगोलिक वा राजनीतिक भू–भाग विभाजन गर्ने औजार मात्र भएनन्, तिनीहरूले मानिसको चेतना, चिन्तन र इच्छाशक्तिलाई पनि फरक–फरक दिशामा तान्दै लगे । यसरी फरक–फरक आदर्श र ध्रुवीकरणले विश्व मानव समाजलाई शताब्दीयौँदेखि विभाजित गरिरहेको छ, जसका कारण मानव इतिहास द्वन्द्व र विचारहरूको टकरावको लामो शृङ्खला बन्न पुगेको छ ।

प्रायः प्रत्येक वादको उदय कुनै न कुनै गहिरो पीडाको प्रतिक्रिया थियो– चाहे त्यो आर्थिक असमानता, राजनीतिक शोषण होस् वा सामाजिक अन्यायविरुद्धको गहिरो आक्रोश । त्यसकारण, तिनीहरूको आरम्भमा सधैँ मुक्ति, समानता र मानवीय मर्यादाको उदात्त सपना लुकेको हुन्थ्यो र तिनीहरू समाजको जटिल रोग मेटाउने औषधिका रूपमा प्रस्तुत भएका थिए । तर, ऐतिहासिक अभ्यासले यस्ता विडम्बना पनि देखाउँछन् कि अत्यन्तै शुद्ध मानिएका विचारहरू पनि संरक्षण र विवेक नहुँदा शक्तिको साधन वा सङ्कीर्ण स्वार्थपूर्ति गर्ने यन्त्रमा परिणत हुन सक्छन् । जब कुनै पनि वाद आफ्नो मूल सिद्धान्त र मानवतावादी ध्येयबाट विचलित हुन्छ, तब त्यो नयाँ प्रकारको दासत्व, विभाजन र अन्ततः द्वन्द्वको कारक बन्न पुग्छ ।

यस सन्दर्भमा, हामीले विश्वलाई दुई ध्रुवमा बाँड्ने प्रमुख आर्थिक र सामाजिक वादहरूको यात्रालाई गहिरोसँग नियाल्नु आवश्यक छ । कार्ल माक्र्सले श्रमिकका आँसु देखे र पूँजीवादी शोषणको तीतो सत्य उजागर गर्दै समानताको सशक्त आवाज उठाए । उनको सिद्धान्तको केन्द्रीय मर्म ‘मानव मुक्ति’ र वर्गविहीन समाजको स्थापना थियो, जहाँ उत्पादनका साधनमाथि सबैको पहुँच होस् । समाजवाद वा साम्यवाद यही सिद्धान्तमा आधारित परिकल्पना थियो । यसले अन्याय र शोषणको अन्त्य गर्ने आश्वासन दिएको थियो । तर, ऐतिहासिक प्रयोगका क्रममा यसका अनुयायीहरूले कहिलेकाहीँ त्यसैका नाममा वर्ग–सङ्घर्षको हिंसात्मक बाटो मात्रै रोजेनन्, बरु लेनिन र स्टालिनको नेतृत्वमा साम्यवादी समाजको परिकल्पना कतै–कतै भीषण तानाशाहीको रात्रिमा समेत रूपान्तरण भयो ।

यस व्यवस्थामा, कतिपय देशमा सरकार आफैँ नोकरशाही यन्त्र बन्यो, जसले जनतालाई मुक्त गर्नुको सट्टा व्यक्तिगत स्वतन्त्रता र मौलिक अधिकारहरूलाई कुण्ठित ग¥यो । आर्थिक रूपमा, केन्द्रीय नियन्त्रण र व्यक्तिगत प्रोत्साहनको अभावका कारण उत्पादनमा ह्रास आयो र अन्ततः त्यो विचार आफ्नो मौलिक लक्ष्यबाट स्खलित भयो ।

अर्कोतर्फ, पूँजीवादले व्यक्तिगत स्वतन्त्रता, निजी सम्पत्तिको अधिकार र उद्यमशीलताको सिद्धान्तलाई फैलायो । यसको मूल मर्म नै प्रतिस्पर्धा र नवप्रवर्तनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्नु थियो । पूँजीवादले विश्वमा अभूतपूर्व आर्थिक क्रान्ति र सम्पत्तिको निर्माण पनि ग¥यो तर यसले अनियन्त्रित नाफाको लोभ र स्वार्थलाई प्रोत्साहन दिँदै विशाल आर्थिक असमानताको गर्त पनि बनायो । जब पूँजीवाद नैतिक विवेक र नियमनबाट विचलित हुन्छ, तब यो केवल क्रोनी पूँजीवादमा परिणत हुन्छ, जहाँ मुठ्ठीभर शक्तिशाली मानिसहरूले राज्यको नीतिलाई आफ्नो हितमा प्रयोग गर्छन् ।

यसले सामाजिक न्यायको अवधारणालाई पूरै बिर्सेर स्वास्थ्य, शिक्षा र वासस्थानजस्ता आधारभूत मानव आवश्यकताहरूलाई समेत केवल महँगो वस्तुमा परिणत गर्छ । यसरी, स्वतन्त्रताको सिद्धान्तमा आधारित भए पनि, पूँजीवादले एक विशाल जनसङ्ख्यालाई विपन्नता र शोषणको चक्रमा फसायो ।

माओवादी आन्दोलनले वर्गमुक्त समाजको सपना देख्यो, तर त्यो सपना कहिलेकाहीँ गोलाबारीको धुवाँमा र सत्ताको मोहमा पनि परिणत भयो । महात्मा गान्धीले सत्य, अहिंसा र आत्मशुद्धिको बाटो देखाए, जुन कुनै पनि प्रकारको हिंसात्मक क्रान्तिभन्दा माथि थियो, तर समयको कठोर राजनीति र महत्वाकाङ्क्षाले त्यो शुद्ध बाटोलाई पनि कठिन र व्यवहारमा असम्भवजस्तो बनाइदियो । त्यति मात्र होइन, नारीवादले महिलाको स्वतन्त्रता, हक र न्याय खोज्दा कतैकतै पुरुषविरोधी सङ्कीर्ण धार बन्यो । राष्ट्रवादले आफ्नो पहिचानको रक्षा गर्न खोज्दा विश्वव्यापीकरणको युगमा घृणा र सङ्कुचन जन्मायो । अस्तित्ववादले व्यक्तिको पूर्ण स्वतन्त्रता खोज्दा समाज र सम्बन्धविहीन एकाकीपन फैलायो । धर्मनिरपेक्षवादले सहअस्तित्वको कुरा गर्दा पनि, यसको गलत व्याख्याले धर्मको नाममा वैमनस्य र राजनीतीकरण मच्चियो ।

अतः हामी भन्न सक्छौँ, वादहरू शुरुमा मानवसेवाका साधन थिए, तर समयसँगै ती केवल विभाजनका अस्त्र बन्न पुगे । जसले विचारको बाटो हिँड्नुपर्ने थियो, उसले त्यसलाई विपक्षी हराउने हतियार बनायो । फलतः वादहरू बिस्तारै ‘मानवको सेवामा होइन, मानवमाथि शासन गर्ने’ सिद्धान्त बन्दै गए । आजको आवश्यकता भनेको वादहरूको उत्पत्तिको उद्देश्य सम्झनु र तिनका लाभ–हानि ठाउँ–ठाउँमा जाँच्दै मानवीय धर्म, स्वतन्त्रता र समानतालाई बीचको सन्तुलनमा राख्नु हो । हामीले यो बिर्सनुहुँदैन कि कुनै पनि वाद तब मात्र सफल हुन्छ जब त्यो मानवताको हितमा समर्पित हुन्छ, अन्यथा त्यो केवल अर्को असफलताको कथा बन्न पुग्छ ।

तर, मानवता यी सबै वादहरूको कोलाहलभन्दा माथिको सत्य हो । मानवता कुनै राजनीतिक नारा, पार्टीको घोषणापत्र वा दार्शनिक सूत्र होइन । यो त आत्माको सहज आलोक हो– जसले जात, धर्म, रङ्ग, लिङ्ग र सीमाभन्दा माथि उठेर बोल्छ । मानवताको परिभाषा सरल छ ः जब हामी अरूको पीडा महसुस गर्न सक्छौँ, जब कसैको आँसुले हाम्रो हृदय छोएर त्यो हाम्रै आँखामा सर्छ, जब हामी आफ्नो सानो स्वार्थभन्दा माथि उठेर, सम्पूर्ण जीवनको कल्याणको बारेमा सोच्न सक्छौँ, त्यो नै मानवता हो । त्यसका लागि कुनै घोषणापत्र, सिद्धान्त वा वाद चाहिएन, केवल हृदय, करुणा र संवेदना चाहिन्छ ।

साधु हृदयले यो कुरा सहजै बुझ्छ— वादहरू अस्थायी हुन्, मानवता शाश्वत । बुद्धले कुनै ‘बुद्धवाद’ वा संगठित धर्म बनाएका थिएनन्, केवल करुणा र प्रज्ञा बाँडेका थिए । यशुले कुनै ‘ईसाई धर्म’को जग बसालेका थिएनन्, केवल प्रेमको प्रकाश फैलाएका थिए । उनीहरू वादमा होइन, बोधमा बाँच्थे । बोध भनेको जीवनको गहिरो अनुभूति, आत्मिक जागरूकता र क्षण–क्षणको उपस्थिति हो । यो वादहरूको कोलाहलमा कतै हराएको सत्य हो ।

आजको युगमा हामीसँग सूचना, प्रविधि र सञ्जालको विशाल भण्डार छ । यसले भौतिक दूरीलाई त घटाएको छ तर सहानुभूति हराएको छ । सञ्जालमा जो पनि व्यस्त छ तर मानवीय सम्बन्ध अस्तव्यस्त छ । मानिस वादमा गर्व गर्छ, तर हृदयको मौनता सुन्न सक्दैन । हामी नै पनि वादका नाममा चर्को भाषण दिन सक्छौँ, तर छिमेकीको पीडा बुझ्दैनौँ । यही विडम्बना हो– मानिस बन्न सजिलो छ, मानव बन्न कठिन छ ।

मानव भएर मानवतावादी बन्नु भनेको वादहरूको भीडबाट एक कदम पछाडि हटेर आत्मामा फर्किनु हो । यो साधना हो, जहाँ क्रोधभन्दा करुणा ठूलो हुन्छ, जहाँ विजयभन्दा विनम्रता महत्वपूर्ण हुन्छ । मानवतावाद कुनै वादको विरोध होइन, बरु यो त वादहरूको परिपूर्णता हो । किनभने सबै वादहरूको अन्तिम ध्येय पनि मानव कल्याण नै हो । तर दुर्भाग्यवश, अनेक वादहरू बाटोमा अलमलिए र गन्तव्य बिर्सिए, जसले गर्दा मानवतावाद यताउता अलमलिइरहेको देखिन्छ । यदि हामी मानवताको बाटोमा हिँड्न सिक्यौँ भने, हामी सबै वादहरूलाई सम्मानका साथ स्वीकार्न सक्छौँ तर तिनमा बाँधिनुपर्दैन । माक्र्स पनि हाम्रा हुन्, गान्धी पनि हाम्रा, यशु पनि हाम्रा, बुद्ध पनि हाम्रा हुन् । किनभने ती सबैले अन्ततः मानिसमा नै विश्वास गरेका थिए । यसबाट प्रस्ट हुन्छ– वादहरू केवल रूप हुन्, मानवता सार हो ।

आज विश्वले नयाँ क्रान्तिको आवश्यकता महसुस गरिरहेको छ तर त्यो बन्दुक, सत्ता परिवर्तन वा राजनीतिक नाराको होइन, त्यो हृदयको क्रान्ति हो । त्यो वादको होइन, चेतनाको पुनर्जागरण र बोधको क्रान्ति हो । र, यो क्रान्ति त्यो बेला शुरु हुन्छ जब हामी आफ्ना हृदयका ढोका खोल्छौँ र भन्छौँ– ‘म तिमीझैँ छु, तिमी मझैँ हौ ।’ वादहरू आउने–जाने गर्छन्, सिद्धान्तहरू परिवर्तन हुन्छन् तर मानवताको प्रकाश कहिल्यै निभ्दैन । त्यसैले वादमा होइन, बोधमा बाँच्न सिकौँ । दलगत स्वार्थमा होइन, दिल (हृदय) मा बस्न सिकौँ । त्यही बोध नै वास्तविक मुक्ति हो, त्यही मानवता नै सर्वोच्च धर्म हो र त्यही जीवनशैली नै सच्चा साधना हो । वादहरू मर्न सक्छन् तर मानवता अमर रहिरहन्छ । यही नै युगको सत्य हो ।