बुटवल।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले उत्कृष्ट लघु उद्यमीहरुलाई सम्मान गरेको छ। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत् मंगलबार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट ३ जना लघु उद्यमीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा तिलोत्तमा सर्फ उद्योग, हिमालयन महिला ट्रेलर्स र कामना ब्युटी पार्लर एन्ड ट्रेनिङ्ग सेन्टरका सञ्चालक उद्यमीहरु रहेका छन् ।
उनीहरुलाई नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जा चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, लघु उद्यम विकास समितिका संयोजक समेत रहेका वडा नं. ६ का वडाध्यक्ष गणेश पाठक लगायतले सम्मान गरे । उत्कृष्ट उद्यमी छनौटका लागि मेडप कार्यक्रममार्फत् सञ्चालित तालिममा सहभागी भएकाहरुबाट आवेदन माग गरिएकोमा त्यसउपर स्थलगत अध्ययन मूल्यांकन गरेर छनौट गरिएको मेडप कार्यक्रमका फोकल पर्सन शंकर पन्थीले जानकारी दिए ।
तिलोत्तमा नगरपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडप) २०७७ सालदेखि संचालनमा रहेको छ । यस कार्यक्रम अन्तर्गत वार्षिक ६० जनालाई मागको आधारमा विभिन्न लघु उद्यम तालिम प्रदान गर्नुको साथैं प्राविधिक सहयोग समेत प्रदान गरिने नगरपालिकाले जनाएको छ । स्थानीय स्रोत साधनको प्रयोग गरी उद्यम गर्न चाहनेहरुलाई मेडप कार्यक्रमले प्रवर्धन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।

उद्यमशीलता विज्ञ मुकन्द ज्ञवालीले लघु उद्यम आर्थिक विकासको मेरुदण्ड भएकाले यसलाई स्थानीय तहले प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिकालले सानादेखि ठूला सबै व्यवसायीहरुलाई समान रुपमा व्यवहार गर्ने गरेको बताउनुभयो । नगर प्रमुख खाणले लघु उद्यमीले उत्पादन गरेका बस्तुहरुको बजारीकरणमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
यस्तै उपप्रमुख जगेश्वरीदेवि चौधरीले घरमा त्यसै बस्नु भन्दा सानो भए पनि केही न केही व्यवसाय गर्न लागि आग्रह गरिन् । विभिन्न राजनीतिक दल, व्यवसायिक संघ संस्था, सम्बद्ध सरकारी कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा उद्यमीहरुले आफ्ना उत्पादन प्रर्दशन गर्नुको साथैं मेडप कार्यक्रममार्फत् प्राप्त सहयोग र आफ्नो अनुभव समेत प्रस्तुत गरेको मेडप कार्यक्रम सहजकर्ता शान्ता विकले जानकारी दिइन् ।











प्रतिक्रिया