काठमाडौँ
आर्टुडियोले अन सिन नामक पप–अप प्रदर्शनीको उद्घाटनसँगै नकबाहिल, पाटनमा आफ्नो नयाँ पाटन विंगको शुभारम्भ गरेको छ । २१ नोभेम्बर, २०२५ मा सुरु भएको यस प्रदर्शनीमा अटिजम भएका २१ जना युवाले सिर्जना गरेका कलाकृति प्रस्तुत गरिएका छन् । आर्टुडियोका संस्थापक कैलाश के. श्रेष्ठद्वारा क्युरेट गरिएको यो प्रदर्शनीले आर्टुडियोको समावेशिता र समुदायकेन्द्रित सृजनात्मक अभ्यासप्रतिको प्रतिबद्धता दर्शाएको छ ।
आकार फाउन्डेशनको सहकार्यमा आर्टुडियो र अटिज्म केयर नेपाल सोसाइटीमा सञ्चालन गरिएका कार्यशालाको परिणामस्वरूप अन सिनको जन्म भएको हो । यहाँ प्रस्तुत भएका कलाकृतिहरू भरोसा, खोज–अनुसन्धान, धैर्य र सहज प्रयोग–अनुभवबाट सिर्जना भएका हुन् । प्रत्येक कलाकृतिले सहभागी कलाकारको व्यक्तिगत संसारको झल्को दिन्छ जहाँ उनीहरूले देखेका मौलिक अनुभूति र दृष्टिकोण रेखा, स्पर्श, रंग, अमूर्त आकार, लय र दृश्य संरचनामार्फत प्रस्तुत भएका छन् ।
अन सिन शीर्षकले कला, सिर्जना र भावनाहरू बुझ्ने क्षमतालाई इंगित गर्छ, जुन प्रायः परम्परागत कला वा सामाजिक संरचनाभित्र छुटिरहेको हुन्छ । प्रदर्शनीले दर्शकलाई सुस्तरी अवलोकन गर्न, संवेदनशीलतापूर्वक नियाल्न र भाषिक वा शैक्षिक सीमाभन्दा परका अभिव्यक्तिसँग भावनात्मक रूपले जोडिन आग्रह गर्दछ ।
“ अन सिन अटिजमसँग सम्बन्धित प्रदर्शनी होइन, यो त आफ्नै तरिकाले संसारलाई बुझ्ने र देखाउने कलाकारको प्रदर्शनी हो,” क्युरेटर कैलाश के. श्रेष्ठ भन्छन् । “उनीहरूको अभ्यासले कलालाई पहिचानको माध्यम र सम्भावनाको क्षेत्रका रूपमा उजागर गर्छ जहाँ बाहिरी नियमहरूले कुनै बाधा गर्दैनन् ।”
अन सिनको अघिल्लो संस्करण सहभागी कलाकारका लागि एक महत्वपूर्ण उपलब्धि बनेको थियो जहाँ ९ वटा कलाकृति बिक्री भएका थिए । यो अटिजम भएका ती कलाकारको पहिलो आम्दानी थियो । अन सिनको यो संस्करणले सोही उपलब्धिलाई थप अगाडि बढाउँदै कलाकारलाई अवसर, पहिचान र सृजनात्मक उन्नतिको अवसर दिन्छ ।
आर्टुडियोको पाटन विंगलाई अन सिनबाट सुरु गर्नु आर्टुडियोको उदार, समावेशी सहकार्य र सामुदायिक सशक्तिकरणप्रतिको निरन्तर प्रतिबद्धताकै संकेत हो । यसले प्रायः नसुनिएका आवाजबाट नयाँ मंचको सुरुवात गर्दै समकालीन कला र न्युरोडाइभर्स सृजनात्मकताबारे नेपालमा नयाँ बहसको थालनी गरेको छ ।











प्रतिक्रिया