शारीरिक सुगठन, जसलाई आजको दिनमा “बडीबिल्डिङ” को नामले चिनिन्छ । यो कसरत केवल शरीर सुन्दर बनाउने अभ्यास मात्र होइन । यो त एक गहिरो अनुशासन, आत्मसमर्पण र व्यक्तित्व विकासको यात्रासमेत हो । यस खेलमा मुख्यतया शरीरको बोसो घटाई मांसपेशीको संरचना बढाउने, त्यसलाई छाँटकाँट गरी आकर्षक रूप दिने प्रयास गरिन्छ । कठोर शारीरिक प्रशिक्षण, सन्तुलित र पौष्टिक आहार, पर्याप्त विश्राम तथा मानसिक अनुशासन यसका आधारस्तम्भ हुन् । यो खेल प्रतिस्पर्धात्मक मात्र नभई सौखिन तवरबाट पनि गरिन्छ । जसले स्वास्थ्य, आत्मविश्वास र सामाजिक छविमा उल्लेखनीय परिवर्तन ल्याउँछ ।
नेपाली शारीरिक सुगठन खेलका पिताको प्रतीक “धर्मभक्त माथेमा”

नेपालमा शारीरिक सुगठनको जड परापूर्वकालसम्म फैलिएको देखिन्छ । मल्लकालीन भक्तपुरमा निर्माण भएको प्रसिद्ध न्यातपोल (न्यातःपौ) मन्दिरको प्रवेशद्वारमा देखिने बलिष्ठ दाजुभाइको मूर्तिले त्यसबेलै शारीरिक सुगठनप्रतिको आकर्षण झल्काउँछ । दण्ड बैठक, ढुंगा उठाउने, मुकदलबाजीजस्ता अभ्यासहरू परम्परागत अखडाहरूमा गरिन्थे, जसले नेपाली समाजमा शक्ति र सुष्ठुताप्रतिको आदर दर्शाउँछ । शारीरिक सुगठनको आधुनिक युगको सुरुवात धर्मभक्त माथेमाबाट भएको मानिन्छ । वि.सं.१९९० को घोडेजात्रामा टुँडिखेलमा आयोजित कार्यक्रममा ‘शेरे बंगाल’ को उपाधि पाएका धर्मभक्तले आफ्नो बल, साहस र अनुशासन मिश्रणले अनौठो प्रदर्शन गरे । उनले फलामका डम्बेल, बारबेल प्रयोग गरी मांसपेशीको समरूपता र शक्ति देखाए ।
एकैपटक ६ जना सैनिक बोकेको दण्डी काँधमा उठाएर हल्लाउने, छातीमा हथौडा प्रहार सहन सक्ने क्षमतादेखि मोटर गाडी रोक्ने साहसिक कार्यले उनलाई केवल शारीरिक सुगठनकै नायक मात्रै होइन, देशभक्तिपूर्ण क्रान्तिको अग्रदूत पनि बनायो । उनको यिनै साहसिक कार्यले राजा त्रिभुवनसम्मको पहुँच दिलायो र प्रजापरिषद्सँग राजाको सम्पर्क स्थापित गरायो । यसले राजनीतिक आन्दोलनको मूल फुटायो । धर्मभक्तले व्यायामलाई राष्ट्रनिर्माणको हतियार बनाउँदै युवामा अनुशासन र आत्मबलमा तयार गरे । यिनै मार्गदर्शनमा गंगालाल श्रेष्ठ, गणेशमान सिंहजस्ता युवाले राष्ट्र परिवर्तनको यात्रामा कदम राखे । धर्मभक्तको नेतृत्वमा ओमबहालस्थित टहरो व्यायामशाला क्रान्तिकारीहरूको प्रशिक्षण केन्द्र बन्यो ।
शारीरिक सुगठनले निम्त्याएको क्रान्तिकारी प्रभाव
वि.सं. १९९७ मा धर्मभक्तलाई राणा सरकारले हत्या गरेपछि यो खेल लोप हुन थाल्यो । तर, वि.सं. २०१० मा द्वारिकादास श्रेष्ठले नेतृत्व गरी ‘नेपाल युवक संगठन’ को स्थापना गरे । धर्मभक्तको हत्या भएकोप्रति पश्चातापस्वरूप जुद्ध शमशेरका छोरा बहादुर शमशेरले ३ रोपनी जग्गा व्यायाम प्रायोजनको लागि दान दिए । यही जग्गामा आज नेपाल व्यायाम मन्दिर सञ्चालित छ । यस संस्थाले धर्मभक्तले रोपेको बीजलाई फेरि अंकुरित बनायो । त्यसपछि नेपालमा शारीरिक सुगठन खेल संस्थागत र प्रतिस्पर्धात्मक रूपमा अघि बढ्न थाल्यो । वि.सं. २०१९–२० सालतिर जुजुभाइ प्रधानले विभिन्न विद्यालयमा डेमो कार्यक्रम गरेर यो खेलको प्रचार गरे ।

प्रतियोगितात्मक युगको थालनी
राष्ट्रिय शारीरिक सुगठन संघ गठन गर्नुमा महत्वपूर्ण भूमिका निभाएका रमेश खनालले वि.सं. २०२७ मा ‘मिस्टर धरान’ प्रतियोगिता आयोजना गरेका थिए । त्यसपछि वि.सं. २०३० मा रघुराज वन्तले ‘ओपन मिस्टर काठमाडौं’ सुरु गरे, जहाँ चौथो संस्करणबाट नगद पुरस्कारसमेत राखियो । तत्कालिन बागमति खेलकुद विकास कार्यालय समेतको संलग्नतामा रघु वन्तको अध्यक्ष रहेको एएयु नामक संस्थाले उक्त प्रतियोगिता आयोजना गरेको थियो । त्यस अघिसम्म नेपालमा आधकारिक रूपमा यो खेलको कुनैपनि प्रतियोगिता आयोजना गरिएको थिएन । शारीरिक सुगठनको औपचारिक संरचना वि.सं. २०३५ मा “नेपाल भारोत्तोलन तथा शारीरिक सुगठन संघ” गठनसँगै सुरु भयो । यसले नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउन थाल्यो । एसियन बीच गेम्स जस्ता प्रतियोगितामा नेपाली खेलाडीले भाग लिन पाउने अवसर यिनै प्रयासको प्रतिफल थियो ।
प्रथम मि.नेपाल र ‘धर्म श्री’ को सुरुवात
वि.सं. २०३८ मा राष्ट्रिय खेलकुद परिषद्ले प्रथम बृहत् राष्ट्रिय खेलकुद आयोजना ग¥यो । यसमा तीन तौल समूहमा राष्ट्रिय स्तरको शारीरिक सुगठन प्रतियोगिता भयो । जसमा ६५ केजी समूहमा लेखक स्वयं प्रथम भई ‘प्रथम मि.नेपाल’ को उपाधि प्राप्त गरे । वि.सं.२०४२ मा तत्कालीन नेपाल व्यायाम मन्दिरका अध्यक्ष सरोजकुमार श्रेष्ठको नेतृत्वमा धर्मभक्तलाई समर्पित ‘धर्म श्री’ प्रतियोगिता सुरु गरिएको हो । नेपालको शारीरिक सुगठन खेलसम्बन्धी ऐतिहासिक तथ्य ओझेलमा पार्नु हुँदैन भनेर ‘धर्म श्री’ शारीरिक सुगठन प्रतियोगिताको नाम मैले नै न्वारन गरेको हो, जुन धर्मभक्तप्रति समर्पित नेपाली खेलकुदमा ऐतिहासिक नाम पनि बनेको छ । यो प्रतियोगिता आजको दिनसम्म आइपुग्दा व्यक्तिगत विधातर्फ नेपालकै सर्वाधिक नगद पुरस्कार राशि भएको प्रतियोगिताको रूपमा परिचित छ । जसले अन्तर्राष्ट्रिय जगतमा समेत चर्चा कमाएको छ । यो खेलको विकास यात्रामा चुनौती पनि बढ्दो छ । पछिल्ला वर्षहरूमा खेलकुद संघहरूमा दलगत हस्तक्षेप, योग्य व्यक्तिहरूको ठाउँमा कार्यकर्ताको नियुक्ति र २०७७ को खेलकुद ऐनले ल्याएको नीतिगत जटिलताले यस क्षेत्रलाई प्रभावित बनाएको छ ।
एउटै खेलमा एउटै संघ मात्र मान्यता पाउने कानुनी प्रावधानले अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थालाई समेत संकटमा पारेको छ । नेपालमा शारीरिक सुगठन केवल व्यक्तिगत स्वास्थ्य र सौन्दर्यको विषय मात्रै होइन, यो राष्ट्रनिर्माण, अनुशासन, आत्मबल र चेतनाको प्रतीक पनि हो । धर्मभक्त माथेमाले शारीरिक सुगठनको माध्यमबाट युवालाई केवल बलियो मात्र होइन, राजनीतिक रूपमा जागरुक पनि बनाए । उनको योगदान बिना नेपालको शारीरिक सुगठनको इतिहास अपुरो रहन्छ । आज ‘धर्म श्री’ जस्ता प्रतियोगिता, ‘नेपाल व्यायाम मन्दिर’ जस्ता संस्थाहरू र बडीबिल्डरहरूको अन्तर्राष्ट्रिय उपस्थिति धर्मभक्तले रोपेको बीजको फल हुन् । उनीप्रति श्रद्धाञ्जली स्वरूप, शारीरिक सुगठनलाई केवल खेलको रूपमा मात्र नभई राष्ट्रिय गौरवका रूपमा समेत लिइनु जरुरी छ ।











प्रतिक्रिया