नेकपा (एमाले) केन्द्रीय कमिटीमा नेतृत्व बहस: पोखरामा महाधिवेशन प्रस्ताव

विकल्पमा नेताहरूको मतभिन्नता


काठमाडौं।

नेकपा (एमाले) को आगामी ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नुभएको छ । ललितपुरको एक पार्टी प्यालेसमा जारी बैठकमा ओलीले महाधिवेशनको मिति, स्थान र एजेन्डा प्रस्ताव गर्दै संगठनात्मक पुनर्संरचना तथा नेतृत्व पुनर्गठनको तयारी थालिएको बताउनुभएको हो ।

ओलीले भन्नुभयो– ‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, यो कमिटीले भन्नुपर्छ ।’ उहाँको यस अभिव्यक्तिले बैठकमा चलिरहेको ‘नेतृत्व बहस’ एकछिन तातिएको थियो । ओलीले आफ्नो नेतृत्वमा पार्टी बलियो बनेको दाबी गर्दै भन्नुभएको थियो– ‘एमालेलाई संकटबाट पार लगाउने नेतृत्व यही हो, हामीले फेरि जनतामाझ जाने तयारी गर्नुपर्छ ।’

बैठकमा उपस्थित नेताहरूबीच ओलीको प्रस्ताव र सम्भावित नेतृत्व रूपान्तरणबारे फरक धारणा देखिएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, युवानेता गोकुल बाँस्कोटालगायतले आ–आफ्ना विचार राखेका थिए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– ‘महाधिवेशन नेतृत्व परिवर्तनको महत्वपूर्ण कुरा हो, नीतिगत नवीकरण र संगठन सुदृढीकरणको अवसर पनि हो । अहिले भावनामा होइन, प्रक्रियामा निर्णय गर्नुपर्छ ।’ उहाँले नेतृत्व विवादलाई व्यक्तिगत बनाइने प्रयासको प्रतिवाद गर्दै पार्टी एकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष विष्णु पौडेलले भन्नुभयो– ‘ओलीकै नेतृत्वमा पार्टी स्थायित्व पाएको छ, तर अब नयाँ पुस्तालाई जिम्मेवारी दिने सन्देश महाधिवेशनले दिन सक्नुपर्छ ।’ पौडेलको भनाइले पार्टीभित्र ‘साझा नेतृत्व’ को आवश्यकता औंल्याएको छ ।

त्यसै गरी गोकुल बाँस्कोटाले नेतृत्व निरन्तरताको प्रश्नभन्दा पनि पार्टीमा लोकतान्त्रिक संस्कारको पुनःस्थापना जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विचार र विधि दुवै सुदृढ हुनुपर्छ ।’ उहाँले ओलीको नेतृत्वमा ‘अति केन्द्रीकरण’ भएको भन्दै संस्थागत निर्णय प्रणालीलाई पुनःस्थापित गर्न माग गर्नुभयो ।
बैठकमा महासचिव शंकर पोखरेलले प्रारम्भिक एजेन्डा प्रस्तुत गर्नुभएको थियो । नीतिगत परिमार्जन र समाजवादप्रतिको दीर्घकालीन रणनीति, संगठनात्मक पुनर्संरचना, युवा पुस्ताको नेतृत्व भूमिकाबारे प्रस्ताव,. स्थानीय तहदेखि केन्द्रीय तहसम्मको संरचना पुनःनिर्धारण, अनुशासन र सदस्यता नवीकरण अभियानलगायतका विषय समेटिएका छन् ।

बैठकमा केही नेताहरूले महाधिवेशन मंसिरमा नभई चैत वा वैशाखमा सार्नुपर्ने सुझाव पनि दिएका छन् । उनीहरूको तर्क थियो, संगठनका धेरै तहमा तयारी अधुरो छ, तसर्थ पर्याप्त समयसहित महाधिवेशनको तयारी गर्नुपर्छ ।

तर, ओली पक्षका नेताहरूले भने पोखरामा मंसिरमै महाधिवेशन गरेर नयाँ नेतृत्व र नीति–दिशा तय गर्नुपर्छ भन्ने अडान राखेका छन् । बैठकको अन्त्यतिर ओलीले फेरि बोल्नुभएको थियो । नेतृत्वको विषय भावनात्मक होइन, राजनीतिक निर्णय हो । कसले नेतृत्व गर्छ भन्ने निर्णय महाधिवेशनले गर्नेछ ।’ उहाँले कमिटी सदस्यहरूलाई पार्टीभित्र एकतामूलक सन्देश दिन आग्रह गर्नुभएको थियो ।