जेन–जी आन्दोलनमा मारिएका ५१ जनाको परिवालाई धमाधम राहत

शहीदका बारेमा भने आन्तरिक छानबीन हुने


काठमाडौं ।

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४८ जना आन्दोलनकारी र ३ जना प्रहरीका ५१ परिवारलाई राहतस्वरुप १५ लाख रुपैया दशै अघि नै दिइने गरी गृहमन्त्रालयले आवश्यक निर्णय गरेको छ । सो अनुसार गृहले पिडित परिवारलाई धमाधम रकम दिन थालेको छ ।

सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई शहीद घोषणा गर्दै उनीहरुका परिवारलाई राहत स्वरुप १० लाख तथा काज किरिया खर्च वापत छुटै ५ लाख गरी १५ लाख रुपैया दिने निर्णय गरेको थियो तर सरकारले सो निर्णय गरेपनि मृतकका परिवारले सो रकम पाउन सकेका थिएनन् ।

गृहमन्त्रालयले दशै अघि नै सो रकम निकासा गर्ने र सम्वन्धित व्यक्तिको घरमा पु¥याउने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । प्रवक्ता काफ्लेका अनुसार शुक्रबार सबैको रकम निकासा भइसकेको र शनिबारसम्म १९ परिवारले राहत पाइसकेको बताउनुभयो ।

प्रवक्ता काफ्लेका अनुसार आइतबारसम्म धेरै परिवारले राहत पाउनेछन् भने २८ वटा जिल्ला प्रशासन कार्यालयमा राहत रकम पठाइसकिएको छ । मृतकका सबै परिवारहरु रकम लिनका लागि सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्कमा आइसकेको पनि उहाँले बताउनुभयो ।

सरकारले आन्दोलनमा मारिएकालाई शहिद घोषणा गर्ने निर्णय गरेपनि गृह मन्त्रालयले कसकसलाई शहीदको मान्यता दिने भन्ने सम्वन्धमा आवश्यक छानबीन र अनुसन्धान गरिरहेको छ । जसलाई पनि शहिद घोषणा गर्दा गलत सन्देश जान सक्ने भएकाले आन्दोलनका क्रममा गोली प्रहारबाट मारिएकाहरुलाई मात्रै शहिद घोषणा गर्ने गरी आवश्यक छानबीन भइरहेको गृह मन्त्रालयले जनाएको छ ।