काठमाडौँ
दूधकोशी हाइड्रोपावर नेपाल प्रा.लि.ले ७० मेगावाट क्षमताको दूधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजना सफलतापूर्वक वित्तीय बन्द (फाइनान्सियल क्लोज) गरेको छ । ललितपुरस्थित लक्ष्मी सनराइज बैंक लिमिटेडको नेतृत्वमा, एभरेष्ट बैंक लिमिटेड सह–नेतृत्व र सनिमा बैंक लिमिटेड सदस्य बैंक रहने गरी ऋण व्यवस्थापन गरिएको हो ।
समूहले कुल १,०५० करोड रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ, जसमा ऋण र इक्विटीको अनुपात ७०ः३० रहनेछ । कुल परियोजना लागत करिब १,५०० करोड रुपैयाँ हुने अनुमान गरिएको छ, जसमा ४५० करोड रुपैयाँ इक्विटी हुनेछ । आयोजना कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा निर्माण हुने र चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
वित्तीय बन्द सम्पन्न भएपछि आयोजना अब ठूला स्तरको निर्माणतर्फ अघि बढ्ने भएको छ, जसले कोशी प्रदेशको आर्थिक गतिविधिमा उल्लेख्य योगदान गर्ने अपेक्षा गरिएको छ । जटिल राजनीतिक परिस्थितिमा वित्तीय बन्द गर्न सफल हुनु आयोजना दिगोपन र रणनीतिक महत्त्वको प्रमाण भएको बताइएको छ ।
निर्माण कार्य २०८२ साल कात्तिक महिनादेखि सुरु हुने र आयोजना पूरा भएपछि मुलुकलाई भरपर्दो तथा स्वच्छ ऊर्जाको आपूर्ति गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीलाई लामो अनुभव भएका जलविद्युत व्यवसायी कदाम केसीले अध्यक्षको रूपमा नेतृत्व गरिरहेका छन् । सञ्चालकमा अभिग्या मल्ल, विक्रम गौतम, अरुण अग्रवाल, किरण मल्ल र डा. हिमाल भट्टराई रहेका छन् । संस्थागत लगानीकर्तामध्ये आयु मलुन हाइड्रोपावर, टिम भेन्चर, सारथी इक्विटी फण्डलगायत प्रमुख छन् ।
आयोजनाले दूधकोशी नदीमा आधारित भई ६ घण्टा पिकिङ स्किममार्फत ७० मेगावाट विद्युत उत्पादन गर्नेछ । परियोजनाबाट उत्पादित विद्युत १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको तिन्ला सबस्टेशनमा जोडिनेछ ।
परियोजना सम्पन्न भएपछि वर्षेनी झण्डै ४१७.४१ गीगावाट घण्टा विद्युत उत्पादन हुने र यसले राष्ट्रिय विद्युत आपूर्तिमा महत्वपूर्ण योगदान गर्ने अनुमान गरिएको छ ।











प्रतिक्रिया