घाइते बचाउन जाँदा झन्डै मेरै ज्यान गएन

2.73k
Shares

काठमाडौं ।

गत भदौ २३ गते भएको जेन–जी आन्दोलनले देशैभरि असंख्य कथा र पीडा जन्मायो । आन्दोलनको पहिलो दिनमै १९ युवाले आफ्नो जीवन गुमाए, सयौँ घाइते भए । सो आन्दोलनले मलाई पनि चोट दियो, नमीठो सम्झना छोड्यो ।
आन्दोलनमा धेरै घाइते भएको र अस्पतालहरूमा रगत अभाव हुँदै गएको खबर राति मसमक्ष आयो । जसले मलाई झस्कायो ।

उपचारमा रगतको अभाव हुन नदिन भदौ २४ गते बिहानै ग्रीनसिटी अस्पतालमा आकस्मिक रक्तदान कार्यक्रम गर्ने निर्णय भयो । त्यसको तयारी गर्न मैले अस्पतालहरूलाई निर्देशन दिएँ । अर्को दिन बिहानै रक्तदान सुरु भयो । हामी रगत संकलन गरिरहेका थियौं । बाहिर आन्दोलन चर्किरहेको थियो । त्यस दिन २१८ पिन्ट रगत संकलन भयो । त्यो रगतले घाइते तथा बिरामीको जीवनलाई नयाँ आशा दियो ।

रक्तदान चलिरहेका बेला अर्को दुःखद् घटनाको खबर आयो । सामाखुसी क्षेत्रमा गोली चलेछ । त्यहाँ घाइते भएकामध्ये १७ जनालाई ग्रीनसिटी अस्पताल ल्याइयो । हामीले तत्कालै उपचार सुरु ग¥यौं । घाइतेमध्ये एकजना लक्ष्मण कँडेलको अवस्था गम्भीर थियो । उनको तत्काल अप्रेसन अर्थात् सीटीभीएस गर्नुपर्ने भयो । आन्दोलनका कारण हाम्रोमा तत्कालै उक्त अप्रेसन गर्न डाक्टर आउन सम्भव नभएपछि डा. रञ्जन सापकोटाको परामर्शमा घाइतेलाई मनमोहन कार्डियोलोजीमा पु¥याउने कुरा भयो । त्यसअनुरूप म आफैं एम्बुलेन्समा बसेर घाइते मनमोहन कार्डियोलोजीमा पु¥याई डाक्टरलाई ह्यान्ड ओभर गरेँ । चालक भाइले आएकै गल्लीको बाटो फर्किन खोज्दै थिए । तर, मैले मूल बाटो आऊ भनँे । त्यो नै मेरो अप्रिय निर्णय भयो । हामी चक्रपथ पुग्दा अप्रत्याशित आक्रमण भयो ।

त्यहाँ जम्मा भएको समूहले एम्बुलेन्स रोक्यो । रोकिनासाथ भीडले चालक गोविन्द बिडारी र मलाई एम्बुलेन्सबाट थुतेर निर्घात कुटपिट गर्न थाल्यो । हामीले बचाउ गर्न अनेकौं प्रयास ग¥यौं । परिचय पत्र देखायौं । तर, सकेनौं । हामीमाथि भीडबाट अन्धाधुन्ध लात्ती, मुक्का बर्सिन थाले, त्यहाँ केहीले रड र घरेलु हतियार पनि बोकेका थिए । सौभाग्यवश हामीमाथि त्यो प्रहार भएन । यदि, त्यसले हानेको भए हाम्रो मृत्यु निश्चित थियो । ‘म नेता होइन, सामाजिक अभियन्ता हुँ, घाइतेको उपचारमा संलग्न छु’ भनेर चिच्याइरहेँ तर, भीडले सुनेन । हाम्रो अनुनय विनय कसैले सुनेन । यद्यपि, भीडमा कसैले हामीलाई चिन्यो । वा हाम्रो पुकार सुन्यो । हामीमाथि भइरहेको निर्घात कुटपिटबाट बचाउने प्रयास भयो । उहाँहरूले हातले छेकेर थप आक्रमण हुनबाट जोगाउँदै कसैको घरभित्र पु¥याउनुभयो । भीडको आक्रमणबाट उहाँहरू पनि घाइते हुनुभयो । मेरो कपडामा लागेको रगत उहाँहरूकै हो ।

मलाई कसैले नेता भनेर कुटेको बताए, कसैले तत्कालीन अर्थमन्त्री विष्णु पौडेल सम्झेर प्रहार गरिएको बताए । मलाई आक्रमण गर्ने जेन–जी पुस्ता थिएन सबै ३५÷४० वर्षमाथिका थिए । १५ मिनेटसम्मको निर्घात कुटाइका क्रममा मृत्युको सम्मुख पुगेको अनुभव भयो । चालक पनि सख्त घाइते भए, एम्बुलेन्स तोडफोड गरी ध्वस्त भयो । अन्ततः ईश्वरको कृपा र असंख्य हातको सहयोगले म घाइते र शिथिल अवस्थामा भित्री गल्ली हुँदै जीवितै अस्पताल फर्किन सफल भएँ । भीडबाट आफूलाई बचाउन ढाल बनेर उभिने मेरा अपरिचित साहसी दाजुभाइप्रति कृतज्ञता प्रकट गर्दछ ।

अहिले मेरो बाहिरी चोट करिब निको भइसक्यो । टाउको धेरै मुक्का बर्सिएका कारण दुखाइ अझै छ । मुख चलाउन पनि गाह्रो हुन्छ । शारीरिक र मानिसक पीडा दुवै छ । यद्यपि, अहिले म खतरामुक्त छु । ममाथिको आक्रमण केवल व्यक्तिगत पीडामात्र होइन, हाम्रो समाजको विवेकलाई झकझक्याउने घटना हो । मलाई आक्रमण हुनुको कारण मैले शीरमा लगाएको ढाका टोपी र कोट कारण होला भन्ने लाग्छ । किनकि टाढाबाट नेताको जस्तो व्यक्तित्व देखिएँ होला ? मैले स्वाभिमानका साथ लगाउने टोपी झण्डै मृत्युको कारण बनेको थियो ।

गुल्मीको ग्रामीण क्षेत्रमा जन्मिएर काठमाडौंमा आई सामाजिक तथा व्यावसायिक क्रियाकलापमा संलग्न रहँदै आएको छु । हामीले विगत १३ वर्षदेखि यो अस्पताल सञ्चालन गर्दै आएका छौं । अस्पताल र अन्य संघसंस्थामार्फत् म सामाजिक कार्यमा संलग्न छु । भदौ २४ गतेको घटनाले मलाई शारीरिक पीडा दियो, सँगै परिवारमा मानसिक पीडा थपियो । जीवनभर समाजसेवामा समर्पित तपाईंलाई आज यस्तो उपहार प्राप्त भयो भनेर चिन्ता व्यक्त गर्छन् । तर, मैले उनीहरूलाई सम्झाइसकेको छु । अझै सामाजिक कार्यमा लाग्नेमा प्रतिबद्ध छु । ममाथि आक्रमण गर्नेविरुद्ध उजुरी पनि गर्दिनँ । तर, के यस किसिमको आन्दोलनले देश बन्छ, विकास हुन्छ भन्ने प्रश्न भने मेरो मनमा उब्जिरहेको छ ।

(ग्रीनसिटी अस्पतालका अध्यक्ष टण्डनसँग नेपाल समाचारपत्रका लागि दीपक रिजाल र राजु श्रेष्ठले गर्नुभएको कुराकानीमा आधारित)