फरक देश, एउटै आक्रोश: नेपाल र बंगलादेशको जेनजी आन्दोलन

1.13k
Shares

२१औँ शताब्दीका क्रान्तिहरू पहिलेका जस्ता रहेनन् । आजका विद्रोहहरूमा कुनै एक व्यक्तिको नेतृत्वभन्दा बढी सामूहिक चेतना, साझा पीडा र सामाजिक असन्तोषको समग्र ऊर्जा मिसिएको हुन्छ । इतिहासमा स्पार्टाकस वा चे ग्वेभाराजस्ता महानायकहरूको चर्चा भए पनि अहिलेका आन्दोलनहरू अनुहारभन्दा विचारमा र विचारभन्दा अझ गहिरो अनुभव र पीडामा आधारित हुन्छन् । विशेषगरी जेनजी पुस्ताले नेतृत्व गरेका आन्दोलनहरू कुनै पूर्वनियोजित योजनाका उपज होइनन्, ती त गहिरो असन्तोषका अव्यक्त तरंगहरू हुन्, जसले व्यवस्थालाई नै जरैदेखि हल्लाउने सामथ्र्य राख्छन् ।

नेपालमा हालै भएको जेनजी नेतृत्वको आन्दोलन त्यसकै पछिल्लो उदाहरण हो । यो आन्दोलन केवल सरकारको कमजोरीको प्रतिक्रिया थिएन, यो असमानता, दमन, भ्रष्टाचार र मौन बस्ने अन्यायविरुद्धको सामूहिक हुंकार थियो । यही कारणहरू सन् २०२४ मा बंगलादेशमा भएको जेनजी आन्दोलनमा पनि देखिएको थियो । फरक दुई देश भएपनि ती विद्रोहहरू एउटै असन्तोषको अभिव्यक्ति थिए । जसमा युवाहरूको सामूहिक चेतना र पीडा विस्फोट भएका थिए ।

दुई नेताहरूको समानता

नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीचको राजनीतिक यात्रा अचम्मको समानताले भरिएको छ । दुवै लामो समय सत्तामा बसे, दुवैले सत्ता गुमाउने डरमा सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजे, र अन्ततः दुवैले सेनाको सहयोगमा ‘सुरक्षित बाटो’ प्रयोग गर्नुपरे । तर, यी नेताहरूको राज्यसत्ता पतन केवल सामाजिक सञ्जाल बन्द गरेकाले मात्र भएको थिएन । यो त जनतामाथिको बेवास्ता, सत्ताको दुरुपयोग र चरम भ्रस्टाचारको परिणाम थियो । जनताले यिनीहरूको शासन शैलीलाई अस्वीकार गर्दै थिए भने युवाहरूले विद्रोह नै गरे ।

सामाजिक सञ्जाल विलासिता मात्रै होइन

नेपालमा इन्टरनेट र सामाजिक सञ्जाल केवल विलासिता मात्रै होइन । शिक्षादेखि रोजगारसम्म, स्वास्थ्यदेखि अभिव्यक्ति स्वतन्त्रतासम्मको आधारभूत आवश्यकता बनिसकेको छ । जब ओली नेतृत्वको सरकारले २६ वटा डिजिटल प्लेटफर्म बन्द ग¥यो, त्यो निर्णय केवल प्रविधिमाथिको नियन्त्रण प्रयास मात्र थिएन, त्यो एउटा पुस्तामाथिको जबरजस्ती नियन्त्रण थियो । सरकारले बुझ्न सकेन कि आजको पुस्ताको दैनिक जीवन डिजिटल प्लेटफर्ममा निर्माण हुन्छ भनेर । त्यसैबीच, राजनीतिक पहुँचवालाहरूले खुलेआम भ्रष्टाचार गर्दै गर्दा सरकारले आँखा चिम्लिएको दृश्य बारम्बार देखियो । यही मौनताले आक्रोशमा घिउ थप्यो, जसको अन्तिम नतिजा बन्यो जेनजी आन्दोलन । जब सरकारले स्कुले बालबालिकामाथि ताकी–ताकी कम्मरभन्दामाथि गोली चलायो, त्यो क्षणले आन्दोलनलाई अर्कै मोडमा पु¥यायो । स्थिति नियन्त्रणभन्दा बाहिर गयो, र अन्ततः सेनासमेत सडकमा उत्रनुप¥यो । तर, यस्तो दमनले विद्रोहको आगो निभाउने होइन, अझ भड्काउने काम ग¥यो । राज्य सत्ता नै ढल्यो ।

भ्रष्टाचार, पहुँच र अन्यायको संरचनामा मौन बस्न युवाहरू तयार थिएनन् । त्यस्तै, अवस्थामा चलिरहेको सरकारले सामाजिक सञ्जालमाथिको “नियमन” प्रयास युवाहरूका लागि दमन जस्तै बन्यो । बंगलादेशमा पनि यही देखिएको थियो । तर, इन्टरनेट बन्द गर्दैमा आन्दोलन रोकिएन, झन् विस्फोटक बन्यो । नेपालमा कम्तीमा ७४ जना आन्दोलनकारीको ज्यान गइसकेको छ । सन् २००६ पछि राज्यद्वारा गरिएको यो सबैभन्दा ठूलो हिंसा हो । १० वर्षे गृहयुद्धको प्रत्यक्ष सम्झना नभएका जेनजी पुस्ताका लागि यो पहिलो ठूलो घाउ बनेको छ । तर, यो घाउ नै उनीहरूको रूपान्तरणको बिन्दु बन्यो । आन्दोलन केवल विरोधको रूपमा मात्र सीमित रहेन, त्यो न्याय नपाएसम्म नथाक्ने पुस्ताको वाचा बन्यो ।

बंगलादेशमा अबु सायेद र मीर मुघ्धोजस्ता विद्यार्थीहरूको मृत्युले विश्वविद्यालय कोटा प्रणालीविरुद्ध सुरु भएको आन्दोलनलाई चुनाव सुधार, लोकतन्त्रको पुनस्र्थापना र नातावाद अन्त्यको मागमा परिणत ग¥यो । नेपाल र बंगलादेश दुबै देशमा आन्दोलनको जरा एउटै थियो, सत्ताको दुरुपयोग, नातावाद र भ्रष्टाचार । नेपालमा पूर्वमन्त्रीहरूको भ्रस्टाचार काण्ड जस्ता घटनाहरू, “पोलिटिसियननेपोबेबीनेपाल” अभियान, नेताका छोराछोरीहरूको विलासी जीवनशैली र आम जनताको संघर्षबीचको दृश्यात्मक अन्तर, यी सबै युवाहरूको आक्रोशको इन्धन बने । बंगलादेशमा प्रधानमन्त्री हसिनाका छोरा सजीव वाजेदमाथि अवैध सम्पत्ति आर्जन, छोरी साइमा वाजेदमाथि पद दुरुपयोग, भान्जी ट्युलिप सिद्दीकीमाथि आवास योजनामा अनियमितताको आरोप लागे । यी सबै घटनाहरू कुनै साना विवाद थिएनन्, यी त युवाहरूका लागि व्यक्तिगत पीडाका कथाहरू थिए । जसले प्रणालीको पतनलाई झनै स्पष्ट बनायो ।

यो आन्दोलन अब नेतामाथिको मात्र विरोध होइन, यो एउटा पुस्ताको चेतनाको आन्दोलन हो । जसले पारदर्शिता, आत्मसम्मान र स्वतन्त्रताको खोजी गरिरहेको छ । बंगलादेशको आन्दोलनमा ट्यांक प्रयोग गरेर दबाउने प्रयास भयो, तर जनताको उदासीनता आक्रोश हुँदै क्रान्तिमा बदलिएपछि त्यो प्रयास विफल भयो । यदि आन्दोलनलाई दिशा दिइयो भने त्यो शक्ति केवल तत्कालीन सरकार परिवर्तनमा मात्र सीमित हुँदैन, दीर्घकालीन परिवर्तन ल्याउने सम्भावनाको स्रोत पनि बन्न सक्छ । नेपालमा पनि त्यो सम्भावना छ । तर, केवल आक्रोश होइन, योजना पनि चाहिन्छ ।

भिडसँग शक्ति हुन्छ, तर विवेक हुँदैन । भिडले सोच्दैन, उन्मादमा नाच्छ । जसले जस्तो ताल बजाउँछ, त्यसैमा नाच्ने गर्छ । भिडमा समाहित भएपछि मानिसको नाम हराउँछ, अनुहार हराउँछ, केवल चिच्याइरहेको आवाज बाँकी रहन्छ । यस्तो विवेकविहीन शक्ति सधैं विनाशतर्फ उन्मुख हुन्छ । जब मान्छे एक्लो हुन्छ, उसमा सोच्ने र विवेक प्रयोग गर्ने क्षमता हुन्छ । भिडमा गाभिएपछि त्यो क्षमता हराउँछ । भिडले असत्यलाई सत्यजस्तो बनाउँछ, न्यायलाई अन्यायमा बदल्न सक्छ । त्यसैले विवेकबिना भएको भिड खतरनाक हुन्छ । तर, यदि विवेकयुक्त नेतृत्व र मार्गदर्शन दिइयो भने त्यही भिड परिवर्तनको शक्तिमा परिणत हुन सक्छ । निर्माणको लागि विवेकसहितको विद्रोह आवश्यक छ, भीड होइन ।

अन्ततः प्रश्न उस्तै छन्, के यो आन्दोलन राज्य र सत्ताको सौदाबाजीमा गुम हुनेछ ? के फेरि युवाहरू निराशा र मौनतामा फर्किनेछन ? अथवा के उनीहरूले आक्रोशसँगै योजना पनि बनाउनेछन ? बंगलादेशको अनुभवले सिकाउँछ, केवल आक्रोशले क्रान्ति सम्भव हुँदैन, योजनाबद्ध रणनीति आवश्यक हुन्छ । नेपालका युवाहरूले यदि यो सिके भने उनीहरूले केवल सरकार मात्र परिवर्तन गर्ने होइनन्, २१औँ शताब्दीको क्रान्तिको परिभाषा नै फेरिदिने सामथ्र्य राख्छन् ।