दशैंअघि मुख्य राजमार्गहरू अवरुद्ध, यात्रु अलपत्र


काठमाडौँ ।

देशका विभिन्न प्रमुख राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् । कोशी राजमार्ग, सिद्धिचरण लोकमार्ग, गल्छि–त्रिशूली सडक, अरनिको राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड, कालीगण्डकी करिडोर, पूर्व–पश्चिम राजमार्ग, रत्न राजमार्ग र मध्यपहाडी लोकमार्गका विभिन्न क्षेत्रमा सडक अवरोध भएको हो ।

दशैंको पूर्वसन्ध्यामा राजमार्ग अवरुद्ध भएपछि यात्रामा रहेका सर्वसाधारण मर्कामा परेका छन् । सिंहदरबारमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका कुलमान घिसिङको नेतृत्वमा आकस्मिक बैठक बसेर सडक खुलाउनेबारे छलफल भइरहेको छ ।

सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ, मजदुर र सुरक्षा निकायका प्रतिनिधिहरूले अवस्थाबारे जानकारी गराएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार रातिदेखि अवरुद्ध रहँदा यात्रुहरू निरन्तर अलपत्र परेका छन् । पहिरो झर्ने क्रम नरोकिँदा सडक खुलाउन कठिनाइ भएको अधिकारीहरूले बताएका छन् ।