श्रीलंका र बंगलादेश हुँदै अहिले १३ देखि २८ वर्ष उमेर समूह अर्थात जेन–जीको आक्रोश नेपालमा विस्फोट भएको छ । यद्यपि प्रारम्भमा यसले देशलाई गहिरो राजनीतिक संकटमा धकेलेको देखिए पनि परिस्थिति अहिले विस्तारै सामान्य बन्दै गएको छ । जेन जीको आन्दोलनले पछिल्ला तीन वर्षमा दक्षिण एसियाको राजनीतिक मानचित्र पूर्णतः परिवर्तन भएको छ ।
श्रीलंकाको २०२२ को आर्थिक संकटविरुद्धको जनविद्रोह, २०२४ मा बंगलादेशमा विद्यार्थी नेतृत्वको आन्दोलन र अहिले नेपालमा देखिएको जेन–जी विस्फोट, यी सबैमा युवाको आक्रोश, सडकमा चाँडो पोखिने प्रतिकार र सामान्य घटनाबाट सुरु भएर एकाएक भयावह रुप लिने आन्दोलनको विश्लेषण गर्दा यसको कारणको रुपमा एउटै साझा तत्व देखिन्छ । प्रदर्शनकारी र राज्य दुवैबाट देखिएको हिंसाको तीव्रता, आन्दोलनहरूलाई केवल स्वतन्त्र घटना होइन, दक्षिण एसियाको बदलिँदो सामाजिक–राजनीतिक संरचनाको संकेतको रुपमा पनि चित्रण गरिएको छ । यस्ता अस्थिरताले एक पुस्तासम्म असर पार्न सक्छ ।
निराशाबाट उत्पन्न क्रोध
यस्तो क्रोधको जरा गहिरो निराशामा लुकेको छ । जहाँ ‘युवा शक्ति’ का रूपमा आर्थिक सम्भावना देखिन्थ्यो, अहिले रोजगारी, अवसर र सहभागिताको अभावमा ‘सामाजिक विस्फोटक’ बन्न थालेको छ । भ्रष्टाचार, नातावाद र संस्थागत पतनप्रति वितृष्णा राखेका लाखौं युवाहरूलाई ‘अब गुमाउने केही छैन’ भन्ने जब लाग्छ, तब उनीहरूको निराशा एकाएक आक्रोशमा रूपान्तरण हुन्छ ।

सामाजिक सञ्जालले यो आक्रोशलाई फैलाउने र तीव्र बनाउने काम गरिरहेको छ । भाइरल भिडियो (कहिलेकाहीं नक्कली), गोप्य च्याट समूहहरू र व्यंग्यात्मक मिमिहरूले आन्दोलनलाई द्रुतगतिको, अप्रत्याशित र नियन्त्रणभन्दा बाहिरको रूप दिन्छन् । ढाका र काठमाडौं दुबैतिर देखिएको हिंसा यसैको परिणाम हो । जसले सरकारहरूलाई शक्ति प्रयोग गर्ने कि संवादको बाटो रोज्ने भन्ने अन्योलमा पारे ।
नेपालमा बलेको झिल्को
नेपालमा जेन जी आन्दोलनको सुरुवात सामाजिक सञ्जाल दर्ता नगर्ने कम्पनीहरूलाई बन्द गर्ने सरकारी आदेश जस्तो सामान्य निर्णयबाट सुरु भयो । भ्रष्टाचारले ग्रसित सरकारको यो कदम तत्कालै जनआक्रोशमा रूपान्तरण भयो । केही दिनमै निर्णय फिर्ता गरियो, तर त्यो समयसम्म आन्दोलनले उग्ररूप लिइसकेको थियो । प्रधानमन्त्रीले राजीनामा दिए, सेना सडकमा उत्रियो । राष्ट्रपतिको संयम र सेनापतिको सूझबूझले अहिले नयाँ प्रधानमन्त्री नियुक्त भइसकेको छ र आमनिर्वाचनको मिति पनि तय भएको छ । यो प्रक्रिया बंगलादेशको घटनाक्रमसँग धेरै हदसम्म मिल्दोजुल्दो छ ।
शार्पको सिद्धान्तभन्दा भिन्न
कतिपय विश्लेषकहरूले यस आन्दोलनलाई अमेरिकी विद्वान जीन शार्पको अहिंसात्मक प्रतिकार सिद्धान्तसँग तुलना गरेका छन् । शार्पले प्रस्ताव गरेका १९८ विधिहरू डिजिटल युगमा झन प्रभावकारी देखिएका छन् । तर, काठमाडौंको आन्दोलन शार्पको सीमाबाट टाढा गएको छ । यो संयमित र रणनीतिक विद्रोह मात्र थिएन, यो कडा र हिंसात्मक प्रतिक्रिया पनि थियो । प्रदर्शनकारीहरूले राष्ट्रिय सम्पत्तिमा क्षति पु¥याए, राज्यले प्रत्यक्ष गोली चलायो । त्यस्तो स्थितिमा परम्परागत “शान्तिपूर्ण आन्दोलन” को परिभाषा लागू गर्न सकिन्न ।
अबको बाटो
अबको प्रश्न हो, के यो आन्दोलन सहजै थामिन्छ वा यसले अझ गहिरो राजनीतिक रूप लिन्छ ? इतिहास साक्षी छ, यस्ता जनविद्रोहहरूलाई समयमै सम्बोधन नगरेमा दीर्घकालीन अस्थिरतामा बदलिन्छन् । इजिप्टको ‘ताहिर स्क्वायर’ जस्तै, नेपालको ‘सिंहदरबार’ पनि कुनै दिन शक्तिशाली राजनीतिक प्रतीक बन्न सक्छ, जहाँ मर्नेहरू ‘सहीद’ का रूपमा सम्झिन्छन् र आन्दोलन झन सशक्त हुँदै जान्छ ।

काठमाडौंमा प्रहरीको अत्यधिक बल प्रयोग, पानीका फोहरा, रबरको गोली, हवाई फायर र प्रत्यक्ष गोली प्रहारप्रति सार्वजनिक आलोचना चुलिएको छ । त्यस्ता उपायहरूले आन्दोलन दबाउँदैनन्, झन् नागरिकहरूलाई सरकारबाट टाढा बनाउँछन् । बल प्रयोगले क्रोध बढाउँछ, विश्वास घटाउँछ र एकपटक खल्बलिएको नागरिक विश्वास पुनः निर्माण गर्न निकै समय लाग्छ ।
सावधानी आवश्यक
आन्दोलनमा विदेशी हस्तक्षेपको आरोप पनि सुनिएको छ । नेताहरूले “घुसपैठ” र “विदेशी षड्यन्त्र” को आशंका पनि गरेका छन् । तर, अहिलेसम्म कुनै ठोस प्रमाण सार्वजनिक भएको छैन । धेरै कोणबाट हेर्दा यो आन्दोलन मुख्यतः आन्तरिक असन्तोष र युवाको निराशाबाट उत्पन्न भएको हो । त्यस्ता संवेदनशील विषयमा तथ्यविहीन टिप्पणीहरूले देशको वैदेशिक सम्बन्धमा पनि जोखिम ल्याउन सक्छ । त्यसैले, यस्ता विषयलाई अत्यन्त सावधानीपूर्वक हेर्नु आवश्यक छ ।

संवाद र समाधानको बाटो
दक्षिण एसियाका पछिल्ला आन्दोलनहरूले दुई गम्भीर सन्देश दिएका छन् । पहिलो, युवाको आवाजलाई बेवास्ता गर्दा वा दमन गर्दा सानो झिल्कोले पनि ठूलो विस्फोट गराउन सक्छ । दोस्रो, समस्याको सम्बोधन समयमा र संवादको बाटो रोज्नु दीर्घकालीन स्थायित्वका लागि अपरिहार्य छ । यदि इतिहासका गल्तीहरू दोहो¥याइए भने अर्को आन्दोलन केवल समाचारको शीर्षक मात्र होइन, एउटा नयाँ राजनीतिक युगको सुरुवात पनि हुन सक्छ ।











प्रतिक्रिया