बागमतीमा मागियो प्रज्ञा प्रतिष्ठान र चलचित्र बोर्ड


हेटौंडा।

बागमती प्रदेशमा बागमती प्रज्ञा प्रतिष्ठान र बागमती चलचित्र विकास बोर्ड गठनको माग गरिएको छ। सांस्कृतिकर्मी, स्रष्टा र प्राज्ञिक समुदायले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई यसबारे सोमबार औपचारिक मागपत्र बुझाएका हुन्।

उनीहरूले संस्कृति, भाषा, साहित्य, कला, संगीत, नाट्य र फिल्म प्रवद्र्धन तथा संरक्षणका लागि भन्दै यस्तो माग गरेका हुन्। समुदायका अध्यक्ष तीर्थबहादुर थापाको नेतृत्वमा बुझाइएको मागपत्रमा संस्कृतिलाई समाजको आत्मा भनिएको छ। ‘गीत, संगीत, नृत्य, नाटक, फिल्म मात्र संस्कृति होइनन्। संस्कृति भनेको हाम्रो संस्कार, परम्परा, भाषा, धर्म, कला, भेषभूषा, साहित्य, दर्शन र सामाजिक जीवनपद्धतिको समष्टिगत स्वरूप हो’ मागपत्रमा भनिएको छ ‘यसको प्रवद्र्धन र सम्मानबिना राष्ट्रको समृद्धि सम्भव छैन।’

सांस्कृतिकर्मीहरूले राष्ट्रनिर्माणको आधारभूत खम्बा रहेको भन्दै संस्कृति तथा यस क्षेत्रमा समर्पित व्यक्तित्वहरूको संरक्षण र सशक्तीकरणको आवश्यकतामा जोड दिएका छन्। अन्य प्रदेशमा स्थापना भइसकेको तर बागमतीमा प्रक्रिया नै शुरू नभएकोमा उनीहरूको गुनासो छ। मागपत्रमा गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशले गण्डकी प्रज्ञाप्रतिष्ठान, मधेश प्रज्ञाप्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानजस्ता संस्था गठन गरिसकेको सन्दर्भ उल्लेख गर्दै बागमती प्रदेश सरकारले पनि भाषा–साहित्य, ललितकला, संगीत तथा नाट्य विधा समेट्ने गरी बागमती प्रज्ञाप्रतिष्ठान यथाशीघ्र गठन गर्नुपर्ने माग गरेका छन्। चलचित्र विकास बोर्डजस्तै बागमती प्रदेशमातहत बागमती चलचित्र विकास बोर्ड गठनको माग पनि गरिएको छ। मागपत्रमा फिल्मलाई संस्कृति, सम्पदा, पर्यटन र ऐतिहासिक पहिचान प्रवद्र्धन गर्ने सशक्त माध्यमका रूपमा चिनाउ“दै यस क्षेत्रका सिर्जनाकर्मीको सम्मान र भविष्य सुरक्षाको आवश्यकता औंल्याइएको छ।