काठमाडौं ।
अहिले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाहरूमा इन्द्रजात्राको रौनक छाएको छ ।वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी यो पर्व मनाइन्छ । भाद्र शुक्ल द्वादशीको दिनबाट शुरू हुने इन्द्रजात्रा पर्व काठमाडौं उपत्यका काभ्रे, नाला, पनौतीलगायत अन्य विभिन्न जिल्लाहरूमा पनि विधिवत् रूपमा मनाइन्छ ।



अक्सर इन्द्रजात्रा भन्नासाथ धेरैले काठमाडौंको वसन्तपुरमा मनाइने इन्द्रजात्रामात्र सम्झिने गर्छन् । तर, अरू जिल्लाहरूमा इन्द्रजात्रा नभनी येँयाः पुन्हि, समयबजी बाँड्ने दिन भनेर लाखे नाच, विभिन्न झाँकीसहित मनाउने गरिन्छ । तर टोल, छरछिमेकमा चिउरा, छोयला, तोरीको साग, भटमासहित समय बाँड्ने परम्परा भने सबै ठाउँमा समान रहेको छ ।
काठमाडौं उपत्यका मनाइने इन्द्रजात्रा येँयाः पर्वको एउटा अंश हो । हरेक वर्ष भाद्र शुल्क द्वादशीको दिन राजधानीको वसन्तपुरमा इन्द्रध्वोजोउत्थान यसिं ठ्डयाएसँगै इन्द्रजात्रा विधिवत रूपमा शुरू हुने गर्दछ । यस दिन साँझ वर्षभरीका दिवंगत व्यक्तिका आफन्तहरू पाल्चा (बत्ती) बाल्दै उपाकु मार्ग (पुरानो बस्ती नगरको बाहिरी मार्ग) भइ दिवंगत आत्माको स्वर्गमा बास होस भनी उपाकु जाने परम्परा रहेको छ ।
इन्दजात्रा पर्वको शुरुको दिन श्री लाखे आजु, श्री ऐरावत हात्ती–पुलु किसी, श्री देवी नाच गण, श्री महाकाली नाच गण, श्री हलचोक आकाश भैरव नाच गणलगायत विभिन्न देवीदेवताहरूको विधिवत पूजा गरी बाहिर निकाल्ने र जात्रा अवधिभर नगरको विभिन्न भागमा पूजा अर्चना गरी परम्परागत नृत्य प्रदर्शन गर्ने प्रचलन छ ।
त्यस्तै, इन्द्रजात्राको सुरुवाती दिनदेखि जात्रा अवधिभर नगरका विभिन्न क्षेत्रमा आकर्षित तथा आकृतिका भैरवका मूर्तिहरू – हनुमान ढोकाको श्वेत भैरव, इन्द्रचोकको श्री आकाश भैरव, श्री बाका देः भैरव, श्री स्वच्छन्द भैरव, मरु टोलमा श्री इन्द्र देवताको प्रदर्शनी तथा नीति पूजा गर्ने परम्परा रहिआएको छ ।
त्यसै गरी शुरूको दिनदेखि नै जात्रा अवधिभर साँझतिर कुमारी घरको प्राङ्गणमा रहेको श्री लक्ष्मीनारायण देवलमा मञ्ज बनाई श्री नारायणको दश अवतार प्रदर्शन गरिन्छ । साथै इन्द्रचोकको श्री आकाश भैरवको मूर्ति तथा बाका देः आजुको मूर्ति मन्दिर परिसरको बाहिरी भागमा प्रदर्शनी गराउने परम्परा रहेको छ ।
त्यसपछि आज शनिवार जीवित देवदेवीहरू श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ काठमाडौंको माथिल्लो र तल्लो भेगमा तान्ने, इन्द्रका आमाका रुपमा परिचित दागिं निकालिने गरिन्छ ।त्यसै गरी मरु टोलको बीचमा इन्द्रदेवलाई बाँधेर पूजा गर्ने, राति बौमत निकालिने, पुरानो काठमाडौंको सीमा क्षेत्र परिक्रमा गर्ने गरी उपाकू घुम्ने, हनुमानढोकामा अवस्थित स्वेत भैरव (हाथुद्यः) र इन्द्रचोकमा अवस्थित आकाश भैरव (आजुद्यः) को मुखबाट पितृका नाममा जाँडको तर्पण गर्ने जस्ता सांस्कृतिक कार्यहरू यो जात्रामा गरिन्छ ।
भक्तपुरको येँया पुन्ही
भक्तपुरका परम्परागत २४ वटा टोलहरूमा यम द्यः इन्द्रध्वज ठड्याइएको छ । भक्तपुरमा यो पर्व आठ दिनसम्म मनाईन्छ । विगतमा भक्तपुरको पुरानो नगर क्षेत्रभित्र सयौंको संख्यामा उभ्याउने यम द्यः को गुठीको लागि छुट्याइएका स्रोत जग्गाहरू मासिदा धेरै यम द्यः हरू ठडिन छोडेको छ ।
स्थानीय जनसमुदायका अनुसार इन्द्रका छोराले इन्द्रका श्रीमतीको व्रतको लागि पृथ्वी लोकबाट खाइसी (सुन्तला जातको एक फल) लिन आउँदा बगैंचाको मालिकले चोरीको अभियोगमा समातेर बाटोमा बन्दी बनाई उभ्याइएको प्रतिकको रूपमा रहेको भनी जनविश्वास रहेको छ । त्यसैले उक्त यम द्यः चालाई इन्द्रजात्राको पूर्णिमाको दोस्रो दिनदेखि पृथ्वीलोकको राजाको प्रतिक मुपात्र र राजाका गण धिच्चाहरूसमेत भई नगरका सबै यम द्यःचाहरूको घुम्दै तरवारले हानेर दण्डित गरेको प्रतिकको रूपमा संस्कृति हालसम्म प्रलचन रहेको छ ।
सोही जात्राको अन्तिम दिन भक्तपुरमा इन्द्रको बहान ऐरावतको प्रतीक बाँसको चोयाबाट निर्मित मान्ड्रा पुलु किसीलाई पुरानो नगरभरी परिक्रमा गराईन्छ । उक्त यम द्यःलाई पृथ्वी लोकको राजा मुपात्रबाट मुक्ति गराएपछि भक्तपुरको येन्याँ पुन्ही (इन्द्रजात्रा) विधिवत रूपमा अन्त्य हुन्छ । सोही क्रममा मुपात्रसँगै सलाँ गणेश, छुमा गणेश र मान्ड्रोको भैरव (पुलु याम्हा भैल द्य) र या मताहरूसमेत नगर परिक्रमा गराउने प्रचलन रहेको पाइन्छ ।
ललितपुरमा हाथ्व भैलः आजु
इन्द्रजात्राको एक दिनअगावै ललितपुरका इखाछें, नागबहाल, बंगलामुखी, च्यासललगायत क्षेत्रमा यो पर्व मनाईन्छ । यस दिन स्थानीय आलुको हिटीमा बुद्धजीवनीसँग सम्बन्धित विभिन्न घटनाक्रममा आधारित पात्रहरू मूर्ति र तथा च्यासल झयालचा देखाउने गरिन्छ । दोस्रो दिन सुन्धारा क्षेत्र र तेस्रो दिन मंगलबजार र चौथो दिन गाबहाल, छाय्बहालतिर यो पर्व मनाइन्छ । चोथो दिन पूर्णचण्डी मन्दिर अगाडि १२ वटा भातको पुंचली भुजा राखेर पूजाआजा गर्ने परम्परा रहेको छ । हराउँदै गएको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदालाई पुनर्जीवित गर्दै, यसै वर्षदेखि लोल टोलमा आकाश भैरव (हाथो भैलः आजु) को प्रतिमा पुनःस्थापना गर्ने भएको छ ।
आज शनिवार र आइतबारका दिन विशेष पूजा–अर्चना तथा सुख–शान्तिको लागि जनकल्याणमूलक कार्यक्रमहरू गरी सम्पन्न गरिनेछ । सो कार्यक्रम लोल टोल सुधार समिति र लोल युवाद्वारा संयुक्त रूपमा र सम्पूर्ण समाजद्वारा आयोजना गर्ने छ । काठमाडौं उपत्यकाको करिब तीन हजार वर्ष पुरानो इतिहास बोकेको आकाश भैरव पूजा नेवा समाजको मौलिक परम्परा हो । यस धार्मिक कार्यको कुल अनुमानित लागत रु २५ लाख रहेको छ । यसको लागि लोल टोल सुधार समिति र लोंल युवालयले आह्वान गरेको कोष संकलन अभियानमा मुख्यतः स्थानीय टोलबासीहरूले नै स्वेच्छिक रूपमा आर्थिक योगदान गरेका छन् ।











प्रतिक्रिया